Wednesday, September 25, 2024

विरुवा रोप्न आठ वर्षमा डेढ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौं–सरकारले वर्षेनि विरूवा खरिद, संरक्षण र वृक्षरोपणमा करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ। तर, वन क्षेत्र विस्तार गर्न एवं हरियाली प्रवद्र्धन कार्यक्रमको खासै प्रगति देखिदैन।

वन विभागको योजना तथा अनूगमन महाशाखाका अनुसार ८ वर्षको अवधिमा ११ करोड ४६ लाख १३ हजार विरुवा खरिद र रोप्न १ अर्ब ५४ करोड ६० लाख ९ हजार रुपैयाँ खर्च भएको छ। जसमध्ये विरुवा खरिदका लागि ८६ करोड ८३ लाख ९६ हजार रुपैयाँ र वृक्षरोपण बापतको मात्र १८ करोड ८२ लाख १३ हजार रुपैयाँ हो।

विभागले सो अवधि अर्थात् आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्म मुलुकभर ५ हजार ६ सय ६१ हेक्टर सरकारी र ९७ हेक्टर निजी जमिनमा वृक्षरोपण गरेको दाबी गरेको छ। तर, जसरी प्रत्येक वर्ष लाखौंको संख्यामा विरुवा रोपेर करोडौं खर्च गरिन्छ, त्यसरी नै संरक्षणको अभावमा बोटविरुवा मर्ने गरेका छन् । यो ८ वर्षमा विभागले १ हजार ७ सय १४ हेक्टर जमिनमा पुनः वृक्षरोपण गरेको थियो।

विभागले आर्थिक वर्ष २०६६/०६७ मा ९३ लाख १३ हजार विरुवा खरिद गरेको थियो । जसका लागि ४ करोड ६१ लाख ३८ हजार खर्च भएको छ । यो वर्ष २ सय ६९ हेक्टर जमिनमा वृक्षरोण गर्दा ६ लाख ३४ हजार खर्च भएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा १ करोड ९ लाख १७ हजार विरुवा खरिद गरिएको थियो । जसका लागि विभागले ५ करोड ६२ लाख १९ हजार खर्च गरिएको छ । यो वर्ष ४ सय ४९ हेक्टर सरकारी र ९७ निजी जमिनमा वृक्षरोपण गर्दा १ करोड ९० लाख दुई हजार खर्च भएको छ ।

२०६८\०६९ मा १ करोड २८ लाख ४ हजार विरुवा खरिद गर्न १० करोड ३६ लाख ७६ हजार रकम खर्च भएको छ । यो वर्ष ४ सय ७४ हेक्टर जमिनमा वृक्षरोपण गरिएको थियो । जसका लागि ७६ लाख लाख ६ हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०६९/०७० मा ९९ लाख २३ हजार हजार विरुवा खरिद गर्न ७ करोड ३८ लाख ७६ हजार खर्च गरिएको छ । यो वर्ष १ हजार ७९ हेक्टर जमिनमा वृक्षरोपण गरिएको थियो ।जसका लागि १ करोड ५६ लाख ७६ हजार खर्च भएको छ ।
त्यसैगरी, २०७०/०७१ मा १ करोड ६५ लाख ३५ हजार विरुवा खरिद गर्न १३ करोड २६ लाख ७६ हजार रकम खर्च गरिएको छ । त्यसैगरी सो वर्ष ५ सय ४९ हेक्टर जमिनमा वृक्षरोण गर्दा १ करोड १२ लाख २६ हजार रकम खर्च भएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा १ करोड ४९ लाख ३२ हजार विरुवा खरिद गरिएको छ । जसका लागि १२ करोड ५८ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष १ हजार १ सय ५ हेक्टर जमिनमा वृक्षरोपण गर्न ६ करोड ८९ लाख १७ हजार खर्च भएको थियो।

२०७२/०७३ मा २ करोड ९ लाख ५८ हजार विरुवा खरिद गर्न १७ करोड ५० लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष १ हजार ३ सय २४ हेक्टर जमिनमा वृक्षरोपण गर्दा ७ करोड ३० लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७३/०७४ मा १ करोड ९२ लाख ३१ हजार विरुवा खरिद तथा वृक्षरोपणमा विभागले १५ करोड ४८ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । यो वर्ष ४ सय १२ हेक्टर जमिनमा वृक्षरोपण गरिएको थियो।
वन विभाग राष्ट्रिय वन महाशाखाका उपमहानिर्देशक राजेन्द्र के.सी.ले प्रत्येक वर्ष गरिएको वृक्षरोपणमा ७० प्रतिशत विरुवा जीवित रहेको दाबी गरे ।

‘प्रत्येक वर्ष वृक्षरोपण गछौं,हामीले देशभर गरेको वृक्षरोपणमा ६० देखि ७० प्रतिशत विरुवा जीवित छन्,’उनले भने ।
वृक्षरोपण मात्र नगरे त्यसको संरक्षणमा विभागले जोड दिएको उनले बताए । उपमहानिर्देशक केसीले प्रत्येक वर्ष वृक्षरोपण गरेपछि त्यसको संरक्षण जिल्ला वन कार्यालय,सामुदायिक वन र निजी क्षेत्र आफैले गर्न गरेको बताउँछन् ।
हाल देशले तीव्र्ररुपमा विकास निर्माणको गतिमा दौडिरहेको छ । बाटो, विमानस्थल लगायत विभिन्न विकासका गतिविधि गर्दा लाखौं रुखविरुवाहरु कटान भैरहेका छन्। यता सरकारले प्रत्येक वर्ष वृक्षरोपण गरी वन विस्तार गर्न भन्दै करोडौं खर्च गरिरहेको छ ।

सरकारले निजी तथा सरकारको स्वामित्वमा रहेको खाली जमिनको पहिचान गरि करोडौं रुपैयाँ खर्चमा वृक्षरोपण गरी वन विस्तार गरेको छ । तर, वन अनुसन्धान तथा सर्वेक्षण विभागले सन् २०१० देखि २०१४ को वन सर्वेक्षणलाई आधार बनाएर मूल्यांकन गर्दा प्रदेश नम्बर १ का १३, प्रदेश २ का ८४ र प्रदेश ५ का ९ गरी १ सय ६ स्थानीय तह वनविहीन छन् ।

प्रगति न्यून
सरकारले करोड खर्च गरे जसरी बोटविरुवा खरिद, संरक्षण र वृृक्षरोपण गरिरहेको त्यसको आधारमा वनजंगल बढ्नुपर्ने हो । तर, सरकारले खर्च गरेको करोडौं रुपैयाँ बालुवामा पानी हाले सरह भएको स्पष्ट हुन्छ ।

विश्व बैंकले विस २०३५/३६ मा गरेको एक अध्ययन अनुसार २५ वर्षभित्र नेपालका पहाडी, उच्च हिमाली भेग र १५ वर्षभित्र तराई भूभागका जंगल सखाप हुने औंल्याएको थियोे ।

सर्वेक्षण विभागले २०६७ देखि २०७१ सम्म गरेको अध्ययनमा नेपालको कुल क्षेत्रफलको ४४ दशमलव ७४ प्रतिशत भु–भाग ओगटेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार