Thursday, September 19, 2024

देशलाई बाँसमा आत्मनिर्भर बनाइनेछः वनमन्त्री

२ असोज, काठमाडौं
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय बाँस दिवसका अवसरमा पारिवारिक निजी वन संघ र ग्रीन फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । बाँसमा आन्तनिर्भर बनाउँदै निर्यात प्रवद्र्धन गरिने, तीनै तहका सरकारले विशेष ध्यान दिएर बाँस उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘पहिरो नियन्त्रण गर्न, भूक्षय रोक्न, आर्थिक सुधारका लागि बाँसको महत्व छ, बाँसलाई महत्त्वपूर्ण पार्टका रूपमा विकास गर्नेछौँ, यसका लागि अन्तरसरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्नेछौ ।’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले विश्वमा १५ सय प्रजातिका बाँस पाइने जानकारी दिए । नेपालमा भने ५२ प्रजातिका बाँस पाउने उल्लेख गर्दै उनले विश्वमा नपाइने ७ प्रजातिको बाँस नेपालमा मात्रै पाउने अवगत गराए । ‘बाँसको अनेक तरिकाले प्रयोग गर्ने भएकाले यसको निर्यातको सम्भावना छ’, उनले भने, ‘बाँसको उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्न सकेमा मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ, चुरेमा पहिरो नियन्त्रणका लागि बाँस उत्पादन बढाउन जरूरी छ ।’

पूर्व सचिव एवं बाँसविज्ञ डा.अन्नपूर्णनन्द दासले नेपाली बजारमा तामाको सम्भावना रहेको र विदेशी बजारमा भने बाँस निर्यात गर्न सकिने बताए । सामुदायिक वन अभियन्ता धनश्याम पाण्डेले बाँसको उत्पादनले आर्थिक विकास तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने धारणा राखे ।पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीले बाँसको महत्वबारे उजागर गर्न सरकारले बाँसखेती प्रवद्र्धनको नीति लिनुपर्नेमा जोड दिए ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार