२७ भदौ, बर्दिया
सडक र अन्य भौतिक पूर्वाधारले वन्यजन्तु जोखिममा परिरहँदा बर्दियामा भने वन्यजन्तुलाई राहत मिलेको छ । बबई सिँचाइ आयोजनामा वन्यजन्तुमैत्री पुल/संरचना निर्माण गरिएपछि वन्यजन्तु मृत्युदर घटेको छ ।
नहरमा पुल निर्माण हुनुपूर्व हरेक वर्ष औसतमा ४/५ वटा वन्यजन्तुको मृत्यु हुने गरेकोमा एक वर्षयता त्यस्तो अप्रिय घटना भएको छैन । कूल ४१ किलोमिटर लामो नहरको दुई खण्डमा वन्यजन्तुमैत्री पुल/संरचना निर्माण गरिएको छ । आयोजनाको पश्चिमतर्फको मुख्य नहरमा वन्यजन्तु लक्षित दुईवटा पुल निर्माण भएका छन् । बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र बबई नदी किनार नजिकै एउटा र अर्को पुल वसन्ता करिडोर क्षेत्रमा निर्माण गरिएको छ ।
पुल निर्माण भएपछि नहरमा डुबेर मृत्यु हुने जनावरको संख्या धेरै घटेको डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत द्रोणराज शर्माले जानकारी दिए । उनका अनुसार बबई नहरमा आर्थिक वर्ष २०७८/०७९मा १५ वटा जनावर डुबेका थिए । तीमध्ये १२ वटाको उद्धार गरिएकोमा ३ वटा चित्तलको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०७९/०८०मा १४ वटा जनावरको उद्धार गरिएको थियो । डुबेका मध्ये एउटा चित्तल र एउटा रतुवा मृग मृत फेला परेका थिए ।
नहरमा वन्यजन्तु वारपार गर्न पुल र पानी खान -याम्प निर्माण भएपछि गत आर्थिक वर्षमा ३ वटा जनावर मात्रै नहरमा डुवेकामा सकुसल उद्धार गरिएको शर्माले जानकारी दिए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको आर्थिक सहयोगमा वसन्ता करिडोर क्षेत्रको श्रीकृष्ण सामुदायिक वन र शान्ति महिला सामुदायिक वनको सीमाको बबई सिँचाइको मुख्य नहरमा वन्यजन्तु लक्षित संरचना निर्माण गरिएको छ । ३२ लाख ७३ हजार १ सय ७४ रूपैयाँको लागतमा पुल निर्माण भएका आयोजनाका इन्जिनियर विजय अधिकारीले जानकारी दिए ।
निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविक मार्गमा राष्ट्रिय गौरवका आयोजनाका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने सरकारी नीति कार्यान्वयन भएसँगै वन्यजन्तुको विचरण क्षेत्र सहज गराउने संरचना निर्माण हुन थालेका छन् । यसले वन्यजन्तुलाई सजिलो भएको श्रीकृष्ण सामुदायिक वन समितिका अध्यक्ष ईश्वरबहादुर खत्रीले बताए । ‘पहिला यो पुल नबन्दा धेरै वन्यजन्तु डेबेर मरेको पाइन्थ्यो । अहिले पुल बनेको एक वर्ष भयो त्यस्तो मृत्युको घटना हामीले भेटाएका छैनौं,’ उनले भने, ‘यो पुल निर्माण भएपछि यहाँ क्यामेरा राखेर अध्ययन अवलोकन गर्दा पुलबाट वन्यजन्तुहरू वारपार गरेको पाइएको छ ।’
क्यामेराको अनुगमनमा नील गाई, बँदेल, बाघ, स्याल, रतुवा मृगलगायतका जिवजन्तु वारपार गरेको पाइएको छ । पुल निर्माणपछि दुवै सामुदायिक वनमा निर्वाधरूपमा वन्यजन्तु आवतजावत गर्न थालेका शान्ति महिला सामुदायिक वन समितिकी अध्यक्ष अमृता चौधरी बताइन् ।पुल निर्माणपछि पानी खान नहरमा आउने जनावरलाई सहज भएको उनको अनुभव छ । ‘जनावरको लागि पानी खान -याम्प निर्माण गरिएकाले यसको प्रयोग राम्रोसँग भएको छ,’ उनले भनिन्, ‘वन्यजन्तुलाई वारपार गर्न सहज नहुँदा मानिसलाई आक्रमण गर्ने, वालीनालीमा नोक्सानी पु-याउने गरेका थिए । अहिले त्यो घटेर शून्य नै भएको छ ।’
पुल निर्माण भएका क्षेत्रमा वन्यजन्तु हेर्न जाने मानिसहरूको संख्या बढ्न थालेपछि ती ठाउँमा मचान निर्माणको आवश्यकता दुवै वन समितिले औल्याएका छन् । वन समूहले डिभिजन वन कार्यालयमा समेत यसको प्रस्ताव पेश गरेका छन् । वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने वैकल्पिक उपायहरूको सुनिश्चितता हुने गरी संरचना निर्माण भइरहेका वन अधिकृत शर्माले बताए । अन्य स्थानमा पनि वन्जन्तु लक्षित पुल/संरचना पुल निर्माण गर्न सके नहरमा डुबेर मृत्यु हुने जनावरको संख्या शून्यमा झर्ने बताउँदै उनले भने, ‘निर्माण हुने र भइरहेका भौतिक संरचनालाई वन्यजन्तुमैत्री बनाउन हामी जोड दिँदै आएका छौं ।’
सडक दुर्घटना घटाउन सरोकारबालाबीच सहकार्य
वर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा सडक दुर्घटनामा परेर आर्थिक वर्ष २०८०/०८१मा ३७ जनावरको मृत्यु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार नहर तथा दलदलमा डुबेर २९ जनावरको मृत्यु भएको थियो । बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्यमा वन्यजन्तु मृत्युदर घटाउने काम अगाडि बढाइएको निकुञ्ज प्रमुख रामले जानकारी दिए ।
भेरी बबई डाईभर्सन, बबई सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, सडक विभाग, रानीजमरा कुलरिया सिँचाई आयोजना, कर्णाली नदी नियन्त्रण आयोजना, डिभिजन सिँचाइ आयोजना, नेपाल टेलिकम, भूमिगत जलउत्पन्न प्रकोप नियन्त्रण आयोजना र डब्लुडब्लुएफ लगायतका निकायले वन्यजन्तुमैत्री संरचाना निर्माणलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्ज अन्तर्गतको पूर्व–पश्चिम राजमार्गमा प्रतिघण्टा ४० किमी भन्दा बढी गतिमा सवारीसाधन चलाउन नमिल्ने गरी ठाउँठाउँमा स्पीड ब्रेकर राखिएको छ । बबई सिँचाइ नहर र दुवैतर्फको स्लोपमा पक्की ढलान गरिएकाले वन्यजन्तु ओहोरदोहोर गर्दा तथा पानी खान नहरमा पस्दा भिरालो पक्की ढलानले बाहिर निस्कन नसक्ने समस्या देखिएपछि उक्त नहरको ठाउँठाउँमा आहाल बस्ने र पानी खान मिल्ने गरी कम भिरालो पोखरी आकारका संरचना निर्माणको काम सुरू गरिएको निकुञ्ज प्रमुख रामले बताए ।
नहरले वन्यजन्तुको बासस्थान विभाजित भई आवागमन र ओहोरदोहोर गर्न बाधा पर्ने विभिन्न ठाउँमा सबै खाले वन्यजन्तु सहज हिड्न सक्ने खालका संरचना (पुल) निर्माण गरी माथिबाट माटोले पुरेर प्राकृतिक स्वरूप दिने व्यवस्था मिलाइएको छ ।
यसरी बन्छन् वन्यजन्तुमैत्री पूर्वाधार
वन्यजन्तुको वासस्थान तथा जैविक मार्गमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउन सरकारले निर्देशिका लागू गरेको छ । लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड निर्देशिका–२०७७’ कार्यान्वयनमा आएपछि निर्माणाधिन र निर्माण योजनामा रहेका संरचना वन्यजन्तुमैत्री बनाउने काम थालनी गरिएको छ ।
मापदण्डसहितको यो निर्देशिका जारी भएसँगै अब राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविक मार्ग, रामसारमा सूचीकृत सिमसार क्षेत्र, वातावरण संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र, मध्यवर्ती, विभिन्न प्रकारका वासस्थानको संगम क्षेत्र (इकोटोन) र प्रचलित कानुन बमोजिम संवेदनशील घोषणा भएका क्षेत्रमा वन्यजन्तु लक्षित संरचना निर्माण गर्नुपर्छ ।
निर्देशिकाले राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविक मार्ग, रामसारमा सूचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील क्षेत्र भनेको छ । अन्य ६ क्षेत्रलाई संवेदनशील क्षेत्र मानेको छ । यी क्षेत्रमा रेखात्मक प्रकृतिका सडक, रेलमार्ग, सिँचाइ, नहर तथा नदी नियन्त्रण सम्बन्धी संरचना, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् प्रशारण लाइन, जलविद्युत् आयोजनाको हेडरेस नहर, हेडरेस पाइप तथा पेनस्टक पाइप र यस्तै प्रकृतिका अन्य पूर्वाधार निर्माणका क्रममा वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने व्यवस्था छ ।
निर्देशिकाले भनेको छ, ‘वन्यजन्तुमैत्री संरचना भन्नाले भायडक्ट, पूल, फ्लाइओभर, कल्भर्ट वा यस्तै प्रकृतिका पूर्वाधारको मुनिबाट वन्यजन्तु ओहोरदोहोर गर्न सक्ने अण्डरपास संरचना र भिलेज रोड ब्रीज, इको ब्रीज, क्यानोपी ब्रीज वा यस्तै प्रकृतिका पूर्वाधारको माथिबाट वन्यजन्तु ओहोरदोहोर गर्ने ओभरपास संरचनालाई बझ्नुपर्छ ।’ क्षेत्रअनुसार -याम्प, गाइडिङ फेन्स, गाइडिङ वाल, एभियन डिफ्लेक्टर वा यस्तै प्रकृतिका वन्यजन्तु ओहोरदोहोर सहजिकरणका लागि प्रयोग हुने संरचना बन्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाले पूर्वाधार निर्माणका लागि योजना तर्जुमा, विस्तृत आयोजना प्रतिवेदन र वन क्षेत्रको प्रयोग सम्बन्धी काम गर्दा अति संवेदनशील क्षेत्रको प्रयोग गर्नुबाहेक अन्य कुनै विकल्प नभएमा वन्यजन्तुको वासस्थान, जैविक मार्ग र पारिस्थितिकीय प्रणालीमा उल्लेखनीय प्रभाव नपर्नेगरी अध्ययन गर्नुपर्ने भनेको छ । त्यस्तो क्षेत्रमा पूर्वाधार निर्माणको प्रस्ताव गर्दा भौतिक, जैविक तथा सामाजिक–आर्थिक पक्षलाई मध्यनजरगरी दिगो विकल्पको प्रस्ताव गर्नुपर्ने र सम्भाव्यता अध्ययनका लागि वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।
अती संवेदशील र संवेदनशील क्षेत्रसमेत प्रयोग हुनेगरी पूर्वाधार निर्माणको प्रस्ताव गर्दा सुरूआतदेखिनै पूर्वाधारको विषयसँग सम्बन्धित सरोकारवालासँग छलफल र समन्वय गर्नुपर्नेछ । यस्ता क्षेत्रमा पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना निर्माणको योजना तर्जुमा गर्दा सम्बन्धित निकाय वा प्रवद्र्धकले वन, वन्यजन्तु र वातावरण विज्ञसमेत रहेको बहुपक्षीय टोलीबाट अध्ययन गराई प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिकाले वन्यजन्तुलाई ५ वर्गमा विभाजन गरेको छ ।
साना वन्यजन्तु, मझौला प्रजाति, ठुला प्रजाति, धेरै ठूला वन्यजन्तु र चरा प्रजाति भनेर वर्गिकरण गरिएको छ । वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा त्यस स्थानमा पाइने वन्यजन्तु प्रजातिमध्ये हात्ती लगायत सबैभन्दा ठुला आकारका वन्यजन्तुलाई लक्षितगरी योजना तर्जुमा गर्नु पर्नेछ ।नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका लागू हुनुलाई संरक्षणकर्मीहरू महत्वपूर्ण उपलब्धी ठान्छन् ।
डब्लूडब्लूएफ नेपालका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङ निर्देशिका कार्यान्यनमा आउँदा वन्यजन्तुमात्रै नभएर मान्छेलाई पनि फाइदा पुग्ने बताउँछन् । ‘निर्देशिकाले व्यवस्था गरेअनुसारका संरचना बने भने वन्यजन्तुलाई पूर्वाधारले कुनै असर गर्दैन् । उनीहरूले ढुक्क भएर जीवन निर्वाह गर्न पाए भने मानवसँगको द्वन्द्व घट्छ,’ गुरुङ भन्छन्, ‘यसको फाइदा सबैतिर छ ।’ सबै निकायले निर्देशिकामा अपनत्व लिएकाले वन्यजन्तुमैत्री पूर्वाधारको निर्माण हुन थालेको उनको भनाइ छ ।
पूर्वाधारहरू वन्यजन्तुमैत्री नहुँदा दुर्घटना बढिरहेको समयमा आएको निर्देशिका वन्यजन्तु संरक्षणमा महत्वपूर्ण भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकृत द्रोणराज शर्माले बताए । वन्यजन्तुमैत्री संरचना निर्माणपछि बबई सिँचाइ आयोजना क्षेत्रमा नहरमा डुबेर वन्यजन्तुको मृत्युदर घटेको उनले बताए । वन्यजन्तुमैत्री संरचना निर्माण हुन थालेपछि मानव–वन्यजन्तु द्वन्द्वका घटनासमेत कमी भएको उनको अनुभव छ ।
नेपालमा सडक दुर्घटनामा वन्यजन्तुको मृत्यु हुने दर बर्सेनि बढ्दो छ । राष्ट्रिय निकुञ्ज र वनजंगल हुँदै तीव्र गतिमा गुड्ने सवारीसाधनको ठक्करले कैयौं वन्यजन्तु अकालमै मृत्युको मुखमा परिरहेका छन् । त्यसैले, पूर्वाधार निर्माण गर्दा स्थान विशेषलाई ध्यान दिँदै डिजाइन एवं निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रकृति र इन्जिनियरिङ क्षेत्रको तालमेलको कमीले गर्दा यस्ता घटनालाई प्रोत्साहन मिलेको छ ।
वन्यजन्तुलाई सुरक्षित तवरले सडक वारपार गराउन बनाइने संरचनामध्येको एक हो, वन्यजन्तु क्रसिंग पुल । जसअन्तर्गत अन्डरपास टनेल, ओभरपास हरित पुल आदि पर्छन् । विशेषगरी अन्डरपास टनेलबाट घस्रने जनावर र ओभरपासबाट ठुला स्तनधारी जनावरहरू वारपार गर्ने पाइएको छ । तसर्थ सरकारले राष्ट्रिय निकुञ्जहुँदै जाने राजमार्ग, नहर, विद्युतीय प्रसारण लाइनहरू निश्चित दूरीमा बनाई वन्यजन्तुलाई सुरक्षित रूपमा वारपार गराउन सक्छ । जसले गर्दा एकातर्फ वन्यजन्तुको संरक्षण हुन्छ भने अर्कोतर्फ उनीहरूको आक्रमणबाट हुने मानवीय क्षति रोकिन्छ ।