Tuesday, September 24, 2024

इ–बर्ड नेपाल राष्ट्रिय संयोजकमा घिमिरे

८ असोज, काठमाडौं
चरा अवलोकनकर्ता र नागरिक वैज्ञानिकहरूले आफूले देखेर, सुनेर वा तस्बिर खिचेर पहिचान गरेका चराहरूको तथ्यांक सार्वजनिक गर्ने अनलाइन सञ्जाल इ–बर्ड नेपालको राष्ट्रिय संयोजकमा मनशान्त घिमिरे चयन भएका छन् ।

पोखरा पक्षी समाजका अध्यक्ष समेत रहेका उनलाई हालै नेपालका क्षेत्रीय (प्रादेशिक) इ–बर्ड संयोजकहरूसहितको बैठकले सो भूमिकामा चयन गरेको हो । इ–बर्ड विश्वभरका पक्षीहरूको तथ्यांक अध्यावधिक तथा भण्डारण गर्दै सरोकारवालामाँझ सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म हो ।

रैथाने र बसाइँ सराइ गर्ने चराको अवस्था, लोपोन्मुख र दुर्लभ चराको वस्तुस्थिति पहिचान गर्दै संरक्षण तथा सचेतनाका लागि कार्यक्रम एवं परियोजना बनाउनु सुझाउँदै आएको छ ।

नेपालमा २ हजार ३ सय ९४ जना पक्षी अवलोकनकर्ताले ८ सय ३७ प्रजातिका पक्षीका ५५ हजार ३ सय ३७ वटा चेकलिष्ट विवरण इ–बर्ड नेपालमा समावेश गरेका छन् । इ–बर्ड एप प्रयोगकर्ताले संसारको जुनसुकै कुनाबाट पक्षीको संख्या, प्रजाति, विचरण क्षेत्र लगायतका विभिन्न विवरणबारे जानकारी लिन सक्छन् ।

इ–बर्ड संयोजक मनशान्त घिमिरे।

पक्षी अनुगमनकर्ताले वर्षभरीमा के कस्ता प्रजातिका पक्षी कुन अवस्थामा देखे/भेटेका छन् त्यस्तो विवरण र तस्बिरसमेत इ–बर्डमा अद्यावधिक हुन्छ । ‘विज्ञहरूका सुझावसहित तथ्य परीक्षण गर्दै आधिकारिक डेटालाई वैज्ञानिक ढंगले अपडेट गर्ने काम इ–बर्डबाट हुँदै आएको छ, यो विश्वसनीय प्लेटफर्म हो’, संयोजक घिमिरेले भने ।

उनी इ–बर्डका गण्डकी प्रदेश संयोजक समेत हुन् । उनी संयोजक चयन भएको जानकारी इ–बर्ड मुख्यालय (अमेरिका)लाई पठाइएको छ । यसअघि डज (नेदरल्याण्डका) नागरिक आरेन्ड भान रिजेन इ–बर्डका नेपाल संयोजक थिए । नेपालका पक्षीबारे सूक्ष्म अध्ययन अनुसन्धानसहित पुस्तक समेत लेखेका उनको गत २३ असारमा निधन भएपछि नेपाल संयोजक पद रिक्त थियो ।

रिजेनअघि ३ जना अमेरिकी नागरिक नेपालका संयोजक थिए । इबर्ड अनलाइनलाई अमेरिकामा रहेको ‘कर्नेल ल्याब अफ अरनिथोलोजी’ले व्यवस्थापन गर्दै आएको छ भने पछिलो समयमा चरा अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्ने संस्था बर्डलाइफ इन्टरनेसनल, ओरिएन्टल बर्ड क्लब जस्ता संस्थाहरूले पनि सहकार्य गरिरहेका छन् ।

इबर्डमा उपलब्ध चराहरूको तथ्यांकलाई लिएर विश्वभरबाट गत वर्ष मात्र ९ सय ३० वटा चराका वैज्ञानिक आलेख प्रकाशित गरिएका पक्षी अनुसन्धाता एवं इबर्ड लुम्बिनी प्रदेशका तथ्यांक प्रमाणिकरण संयोजक कृष्णप्रसाद भुसालले जानकारी दिए । ‘त्यसैले इबर्डमा राखिएका चराको तथ्यांक सत्य, तथ्य र प्रमाणित हुनुपर्छ’, उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार