Friday, September 20, 2024

बँदेल मारेको आरोपमा पूर्व डिआइजीसहित १० जना प्रहरी नियन्त्रणमा

१३ भदौ, काठमाडौं
जंगली बँदेल मारेको आरोपमा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी), बहालवाला प्रहरी नायब निरीक्षक (सई)लगायत अन्यलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन अघि बढाएको छ ।

पूर्व डिआइजी ज्ञानविक्रम शाहसहित १० जनामाथि प्रहरीले अनुसन्धान गरेको हो । शाह लगायतको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोप छ । बहालवाला सई विराटनगरका सञ्जय न्यौपाने हुन् ।उनीहरूलाई सप्तरी प्रहरीले आज विहान ३ बजे आसपासमा निन्त्रणमा लिएको हो ।

सप्तरी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले घटनाको छाविन भइरहेको बताए । प्रहरीले उनीहरूको साथबाट एउटा २२ क्यालीबरको राइफल २ म्यागजिन, १५ राउण्ड गोली, ३ वटा वाइनाकुलर, एउटा ट्राइपोर्ट, एउटा फलामको हथौडा र एउटा खुर्पा बरामद गरेको छ । साथै, मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियो समेत प्रहरी नियन्त्रणमा छ ।

सरकारले गत वर्षको ७ मङ्सिरमा बँदेललाई हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बँदेलले किसानको खेतबारीमा बालीनाली वा अन्य धनजनको हानि–नोक्सानी पु¥याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउने व्यवस्था छ ।

पुड्के बँदेल (सानो बँदेल) बाहेक अन्यको हकमा मार्न सकिने प्रावधान छ । तर, सोझै शिकार गर्ने नियतले मारेको पाइएमा प्रहरी र वन कार्यालयले अनुसन्धान अघि बढाउन सक्ने छन् ।

सप्तरीमा प्रहरी नियन्त्रण रहेकाहरूले खेतबारीमा बाली खान आएका बेला बँदेल मारेको प्रहरीलाई बताएका छन् । जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित वन कार्यालय, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार