परिवर्तित मानवीय स्वरूप, केही अङ्ग हराउने, दिमाग बढ्दै जाने

धर्तीमा विविध काल खण्डमा कुनै अरु विविध जीवहरूको बाहुल्यता र श्रेष्ठता थियो। तर, १० हजार वर्षयता यो धर्तीको मूल शासक वा श्रेष्ठ प्राणी मानिस ठहरिएको छ। मानिस जैविक संसारमा एक सफल र सुखी जीव मानिन्छ।

मानिस हुनुको खास विशेषता तीक्ष्ण र फराकिलो दिमाग मात्र होइन, अन्य विशेषता पनि छन्– हातको बुढी औँलो अरुभन्दा अलग्गै हुनु। यो औँलो अलग भएकै कारणले कुनै सामग्री समाउन र हतियार चलाउन सकेको हो, जसले मासिलाई सफलता उन्मुख बाटोमा लगायो। दुई खुट्टाले हिँड्ने, फराकिलो अनुहार, सीधा ठाडो शरीर, मनको भावलाई अभिव्यक्त गर्ने अनुहारमा विशेष मांशापेसी हुनु र शब्द तथा भाषा हुनु पनि मानिसका गुण हुन्।

लेखक : रामचन्द्र अधिकारी

आजभन्दा चार करोड वर्षअघि मानिस हो कि जस्तो भन्नु मात्रको जनावर देखा परेको अवशेषहरूको अध्ययनले पत्ता लगाएका थिए जसको नाम थियो एन्थ्रोपाइड्स। वास्तवमा यो जनावर मान्छे, वनमान्छे र बाँदरको साझा पूर्खा थियो। आजभन्दा एक करोड ३० लाख वर्षपहिले चाहिँ मानिसकै रूपको जनावर देखिएको थियो जसलाई अवशेषको अध्ययनबाट वैज्ञानिकहरूले रामापिथेकस नाम दिए। यही किसिमले यसैका सन्तानहरूको निरन्तरता हुँदै आउँदा ३५ लाख वर्षपहिले हतियार बनाउन र प्रयोग गर्न सक्ने हामो ह्याबिलिस वैज्ञानिक नामधारी मानिस देखिए। आजभन्दा १७ लाख वर्षपहिलेको होमो इरेक्टस भनिने मानवले आगो कसरी बल्दो रहेछ भनेर ज्ञान प्राप्त गरे र आगोको प्रयोग गर्न थाले। अब मानिसको जीवनशैली अन्य जनावरको भन्दा पृथक हुन थाल्यो । सबै खाने चिज काँचा र कडा मात्रै थिए भने अब कडा भागलाई हटाउने, नरम गुदी छानी खाने र मासुलगायतका खानेकुरा आगोमा पोलेर वा पकाएर खान जान्न थाले। हो, मान्छे यसकारण अरु जनावरभन्दा भिन्न भयो र सफल पनि।

दिमागी क्षमता होमो ह्याबिलिसको सात सय, होमो इरक्टसको नौ सय र आधुनिक मानिसको एक हजार चार सय ५० घनसेन्टिमिटर(सीसी) रहेको छ । एन्थ्रोपोइड्सदेखि आधुनिक मानव होमो सेपिन्स सेपिन्ससम्म आइपुग्दा थुप्रै फरक प्रजातिका मानिसहरू देखिँदै नयाँ सन्तान नयाँ प्रजातिका रूपमा विकास हुँदै आएका हुन् । आज जो मानिस छ पृथ्वी भरिको एउटै प्रजाति हो । एउटै प्रजाति हो भन्ने आधार हो– संसारका जुनसुकै कुनाका पुरुष र स्त्रीबीचमा यौनसम्पर्क हुन सक्छ र उत्पादनशील सन्तान उत्पादन हुन्छ।

पृथ्वीको जुन ठाउँमा सुरुमा देखा परे त्यहाँबाट मानिस तीनतिर लागे। पश्चिम जा गए उतैको हावापानीमा अनुकूलित हँुदै जाँदा गोरा र अग्ला मानिसहरू बने जो आज युरोप, अमेरिका र दक्षिण पश्चिमी एशियामा छन् । जो मानिस उत्तर पूर्वतिर लागे उनीहरू मंगोल भए आज चीन, साइबेरिया, जापानमा छन् । त्यसै गरी दक्षिणतिर जाने काला नेग्रो भए जो आज मलेशिया, अफ्रिकातिर छन् । मानिसको सफलता के भने जहाँ जहाँ गए त्यहीँको प्रकृतिसँग मिले । दार्शनिक चाल्र्स डार्विनको सिद्धान्तले भने झैँ प्रकृतिले मानिसलाई छान्यो।

विज्ञान प्रविधिको विकास गरी प्रकृतिमाथि नै हमला गर्न खोजिरहेको छ मानवले । तथापि यो प्रकृतिअनुकूलित पनि बन्दै आइरहेको छ । जस्तैः चिसो ठाउँमा बस्ने मानिसहरूको शरीर होचो, बाटुलो, हातगोडा छोटा, फराकिलो मुखाकृति, बाक्लो छाला र छालामुनिको बोसो अनि नाक सानो र साँघुरो भएको हुन्छ। यस्ता परिमार्जित बनोटले शरीरबाट हुने तापको क्षयीकरणलाई न्यूनीकरण गर्छ र फोक्सो र दिमागलाई जोगाउँछ। गर्मी ठाउँमा बस्नेहरू त्यहाँको प्रकृतिसँग मिल्नका लागि उही किसिमले परिमार्जित भएका पाइन्छन्। उनीहरूको छाला कालो(धेरै मेलानिन कण हुने ),फराकिलो नाक, पालतो र होचो शरीर हुन्छ। सहारा मरुभूमि आसपासका मानिसहरूको यस्तो स्वरूप पाइएको भनेर डार्विनले सन् १८५९ मै व्याख्या गरेका थिए।

चिसो हावापानीमा भएका मान्छेको छाला हल्का पहेँलो हुन्छ किनभने घामको किरण लिएर शरीरमा भिटामिन डी बनाउनका लागि । समग्रमा के भने आज मानिसको रुप, रंग र आनीबानीमा जुन विविधता छ त्यो उनीहरूको प्रकृतिसँग मिल्ने प्रयासको परिणाम हो । तत्स्थानको प्रकृतिले छनौट गरेको हो।

यी त बाहिरी कुराहरू भए भित्री बनावट र जैविक प्रक्रियामा पनि निकै भिन्नता पाइन्छ ठाउँ ठाउँका मानिसमा। जस्तै : मध्य अफ्रिकनहरूमा सिकल सेल एनिमिया र औलो रोग लाग्न छोडेको छ। विभिन्न रोग बिरामहरूसँग लड्ने क्षमता पनि मानिसहरूमा बढ्दै आएको छ । जस्तै : फैलिएका महामारीहरू दादुरा, रुबेला, मम्पस, डेन्गूलगायतका रोगहरू फैलिँदै जाँदा ती रोगका विरुद्धको प्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ। विभिन्न कीराहरूबाट हुने एलर्जी क्रमशः कम हुँदै आएको छ।

दिमागी क्षमताले गरेका आविष्कार तथा अरु अप्राकृतिक उपायबाट जीवनलाई गुणस्तरीय बनाउँदै लैजाने कुरा एकातिर निरन्तर अघि बढिरहेकै छ। प्राकृतिक अनुकूलनले पनि मानिसलाई सबल र निरन्तर सफलताको बाटोमा हिँडाइरहेको छ। त्यसैले त मानिसको औसत आयु आज ७१ वर्ष नाघिसकेको छ।

नेपालीकै मात्र कुरा गर्दा उच्च पहाडी क्षेत्रमा बस्ने मानिसको बाक्लो र अररो कपाल, ठूला दुला भएको छोटो नाक, फराकिलो छाती, बढी बोसो, छरितो जीउ र रातो अनुहार हुन्छ। थोरै वायुमण्डलीय चाप र अक्सिजन अनि चिसो स्थानमा जीउन ती अनुकूलताका लक्षणहरू आएका हुन्। त्यसैगरी तराई मधेशमा बस्नेहरूको छाला कालो, कम बोसो, पातलो (राता रक्तकोष कम भएको) रगत हुने गर्छ । गर्मी, पानी र प्रदूषणबाट हुने रोगहरूसँग लड्ने क्षमता बढी हुन्छ।

क्रमविकाससम्बन्धी अध्ययन गर्ने वैज्ञानिकहरूले ठहराएको कुरा के छ भने बिगतदेखि वर्तमानसम्म आउँदा परिवर्तित वातावरणमा अनुकूलित हुँदा नाक साँघुरो र डाँडी अग्लो हुँदैछ, चिउँडो बढ्दै छ, अनुहार चेप्टो र फराकिलो हुँदैछ,जीउमा रौँको कमी, झन् सीधा जीउ, आरीजस्तो कम्मरमुनिको हाड (पेल्भिक गर्डल) र आँखीभौँ मसिना बन्दै आएका छन्। वैज्ञानिकहरूले यो पनि अनुमान लगाएका छन् कि काम कम भएका वा नभएका अङ्गहरू क्रमशः हराउँदै जानेछन् । यो कुरा क्रमविकासविद् लेमार्क(१८०९)को सिद्धान्तमा आधारित छ । केही सय वर्षपछिका मानिसका छातीमा राैँ हुने छैनन्, कानमा मासु नहुने, बुद्धिबङ्गारा नपलाउने, पुरुषका छातीमा निप्पल नहुने, एपेन्डिक्स हराउने, खुट्टाका औँला खिइँदै जाने र बुढीआँैला हराउने, ढाडको पुच्छरमा हुने कोक्सिस हाड हराउने भनेर वैज्ञानिकहरूले अनुमान लगाएका छन् । त्यसैगरी घाँटीको फेदको करङ(नेकरिब) जुन अहिले एक प्रतिशत जनसंख्यामा मात्र पाइन्छ, यो पनि हराउने तरखरमा पाइयो । खुट्टामा हुने मांशापेसी(पालमारिज) जसले रुख चढ्न र असमतल सतहमा टेक्न सहयोग गर्छ त्यो पनि काम नभएका कारण हराउँदै जानेछ । मानिसको शरीरमा खासमा १२ जोर मात्र करङ हुन्छ भनिन्छ तर आठ प्रतिशत जनसंख्यामा तह्र जोर करङ पनि छँदै छन् यो अब हराएर जाँदैछ । जीउमा एरेक्टर पिल मसल भनिने एकप्रकारको मांशापेसी पुर्खाहरूमा थियो जसले शत्रुसँग लड्न जीउलाई दह्रो पार्छ त्यो पनि अब हराउने क्रममा छ । आँखामा हुने निक्टिटेटिङ मेम्ब्रेन(जाली वा तेस्रो ढकनी) र कानमा कसै कसैको मात्र हुने डार्विन पोइन्ट(कानको बाहिरपट्टी पलाएको सानो टुसो)लगायत १५ प्रकारका अङ्गहरू भविष्यका मानिसमा नपाइने विभिन्न अध्ययनहरूका आधारमा वैज्ञानिकहरूले अनुमान लगाएका छन्।

बीबीसीको एक प्रतिवेदनमा भनिएको छ कि १० हजार वर्ष पहिले जब मानिसले खेतीपाती गर्न सिक्यो तब प्रसस्त खान पाएर मानिस मोटो र अग्लो हुन थाल्यो । वासिङ्टन विश्वविद्यालय अमेरिकाका वैज्ञानिक डा.अलान क्वानले आफ्नो वैज्ञानिक अनुसन्धानपछि भनेका छन् औद्योगिक देशहरूमा औशतमा मानिसको उचाइ गएको १५० वर्षमा चार इन्च बढेको छ। डेनमार्कको आरहस विश्वविद्यालयका बायो इन्फरम्याटिक्सका प्राध्यापक थोमस माइलुन्डले आफ्नो अनुसन्धानको प्रतिवेदनमा उल्लेख गरेका छन् कि अबका वर्षहरूमा गाउँमा भन्दा शहरमा र अविकसितभन्दा विकसित मुलुकमा आनुवांशिक विविधता हुनेछ किनकि मानिसहरू गाउँ छोडेर शहर र विकसित देशतिर हानिने क्रम तीव्र गतिमा भइरहेको छ । सोही विश्वविद्यालयका अर्का प्राध्यापक डा. जासोना हड्सनले अनुमान लगाएका छन् – अबको विश्वमा छालाको रंग कालो हुनेहरूको संख्या उच्च हुने किनकि सन्तान उत्पादन दर विश्वभरका मान्छेहरूको केलाउँदा यस्तो पाइयो।

डा. अलान क्वानले नै भनेका छन् –२० हजार वर्षपछिको मान्छेको निधार फराकिलो हुने, दिमाग ठूलो हुने, आँखा ठूला हुने र छाला कालो हुने हालका मानिसको जिनको विश्लेषणबाट अनुमान गर्न सकिन्छ। युनिभर्सिटी कलेज लण्डनका क्रमविकास जेनेटिक्सका प्राध्यापक मार्क थोमसले पनि यो कुरामा विश्वास लिएको देखिन्छ।

मानिस अब मंगल ग्रहमा बसाइँ जान लाग्दैछ । यदि त्यहाँ मानिस स्थापित भयो भने कम गुरुत्व बलका कारण मानिस धेरै अग्लो (पूर्खा निन्डरथल जस्तै) हुने अनुमान लगाइएको छ । त्यहाँको गुरुत्व बल पृथ्वीको गुरुत्वबलको ३८ प्रतिशत मात्र छ । उनै प्राध्यापक थोमस माइलुण्डले भनेका छन् –‘अबको जमाना प्रत्यारोपणको हुनेछ र जिनलाई परिष्कृत गरेर आफूले चाहेजस्तो शारीरिक स्वरूप पनि बनाउन सकिन्छ।

प्राकृतिक तरिकाले नै पनि मानिसले पृथ्वीका जीव र अजीवलाई नियन्त्रणमा लिन करिब सफल भइसकेको स्थिति छ उसैमाथि दिमागी क्षमताले गरेको आणविक तथा जैविक आविष्कारले भविष्यको मानिस कुन किसिमले अगाडि बढ्ला औँल्याउन मुस्किल छ ।

ताजा समाचार

सम्बन्धित समाचार