शक्तिशाली भूकम्पले सकसमा कोलम्बिया

२६ साउन, काठमाडौँ।

कोलम्बियाको पश्चिमी भू–भागमा शक्तिशाली भूकम्प जाँदा १ सय ३० भन्दा बढीको निधन भएको छ ।

स्थानीय समय अनुसार सोमबार विहान साढे ७ बजे गएको ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परेर ५ सय ७० भन्दा बढी घाइते भएका छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूको अनुमान छ ।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार भूकम्पको केन्द्रविन्दु चोको विभागको सान जोसे डेल पाल्मार नजिक ९६ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का इक्वेडर र कोलम्बियाको राजधानी बोगोटासम्म प्रष्ट महसुस गरिएको थियो ।

भूकम्पले साढे १ हजार ५ सय भन्दा बढी भवनमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति कोलम्बियाको पश्चिमी क्षेत्रका रिसाराल्दा र चोको विभागमा भएको छ । पेरेरा र काली लगायतका मुख्य सहर प्रभावित भएका छन् । कैयौँ आवासीय भवनहरू भत्किँदा सर्वसाधारण भग्नावशेषभित्र पुरिएका सरकारी अधिकारीहरूले बताएका छन् ।

भूकम्प लगत्तै सरकारले ‘राष्ट्रिय विपद्’ घोषणा गर्दै सेना, प्रहरी, विपद् व्यवस्थापन टोली र रेडक्रसका उद्धारकर्मीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ । अस्पताल भवनमा घाइतेहरूको चाप बढेपछि उपचार सेवा चुस्त हुन सकेको छैन ।

कोलोम्बिया सरकारले विपद्को यो अवस्थामा सहयोग गर्न संयुक्त राष्ट्रसंघ, रेडक्रस र अन्य अन्तर्राष्ट्रिय संघ/संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । सो अनुसार राष्ट्र संघ, रेडक्रस लगायतका संस्थाबाट खाद्यान्न र अन्य सहयोग भित्रिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

एजेन्सीहरूको सहयोगमा।

ताजा समाचार

सम्बन्धित समाचार