गोविन्द पोखरेल
२२ असार, काठमाडौँ ।
हालै पोखरा विश्वविद्यालयका उपप्राध्यापक नारायण कोजुले आफ्नो सामजिक सञ्जालमा एउटा पोस्ट सेयर गरे । आनुवंशिक विषयसँग सम्बन्धित एउटा लेख सेयर गरेका रहेछन् । आनुवंशिक विषय उसै पनि रोचक र नयाँ हुने नै भयो । लेख पढ्दै गएपछि मेरो ध्यान तानियो ।
नहोस् पनि किन, प्रसिद्ध नेचर जर्नलको कम्युनिकेसन बायोलोजीमा प्रकाशित भएको वैज्ञानिक आलेख थियो । उक्त अनुसन्धानको मुख्य लेखक कोजु आफैं थिए । आनुवंशिक क्षेत्रका धेरै अनुसन्धानकर्ताहरू यसमा सह–लेखकका रूपमा संलग्न थिए ।
अनुसन्धानको निष्कर्ष नेपालका लागि महत्वपूर्ण छ । नेपालमा कालो सालक भनेर चिनिने चाइनिज प्यांगोलिन अब सो नाममा रहने छैन । कोजुसहितका अनुसन्धानकर्ताहरूको अध्ययनले उक्त जीव फरक प्रजाति भएको प्रमाणित ग-यो । अर्थात्, नेपालमा चिनियाँ सालक भनेर चिनिँदै आएको प्रजातिले ‘हिमाली सालक’ नाम पाएको छ । यसको वैज्ञानिक नाम चाहिँ ‘मनिस अरिता’ हो ।
नेपालमा सालकको अवस्था
नेपालमा कालो सालक र तामे सालक गरी २ प्रजातिका सालक पाइन्छन् । कालो सालक आईयूसीएनको रेड लिस्टमा अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड ) सूचीमा छ । हालै प्रकाशित अनुसन्धानले यही सालकलाई हिमाली सालक प्रमाणित गरेको हो । तामे सालक भनेर चिनिने इन्डिनय प्यांगोलिन भने संकटापन्न सूचीमा सूचीकृत छ ।
अनुसन्धानकर्ताहरूले धेरै समयदेखि नै चाइनिज प्यांगोलिनभित्र २ फरक आनुवंशिक समूह रहेको पत्ता लगाएका थिए । तर तीनको आनुवंशिक रूपमा पुष्टि हुन भने समय लागेको थियो । नेपाल, भुटान, उत्तरपूर्वी भारत र दक्षिण तिब्बत क्षेत्रमा पाइने सालक अलग प्रजाति बनेको छ । चीन र दक्षिणपूर्वी एसियामा पाइने सालक मात्र वास्तविक ‘चाइनिज प्यांगोलिन’ हो ।
सालक खबटा (कत्ला) भएको स्तनधारी जीव हो । निशाचर प्रजातिसमेत मानिने यो जीव विशेष गरे कमिला र धमिरा खाने गर्छ । यसको लामो जिब्रोले धमिरा र कमिलालाई खाइदिएर प्रकृतिमा सन्तुलन मिलाउन भूमिका खेल्छ । विशेष गरेर चोरी शिकारी र यसका खबटाका लागि मानिसहरूले मार्ने गर्छन् ।
यो सालकलाई पहिला मनिस अरिता नै भनिएको थियो । तर पछि यसलाई बिर्सियो । प्रसिद्ध बेलायती अनुसन्धानकर्ती एवं कूटनीतिज्ञ ब्रायन हड्सनले सबैभन्दा पहिला यसको नमुना संकलन गरेका थिए । नेपालका प्रकृति, वनस्पति तथा वन्यजन्तुको अध्ययन गर्ने क्रममा करिब ९ हजारभन्दा बढी नुमनाहरू हड्सनले आजभन्दा करिब २ सय वर्षअघि संकलन गरेर बेलायत पठाएका थिए ।
उनले संकलन गरेका ती नमुनाहरू लन्डनको नेचरल हिस्ट्री म्युजियममा आज पनि सुरक्षित छन् । हड्सन काठमाडौँमा बेलायती आवासीय प्रतिनिधिका रूपमा बस्दा यो सालकको नमुना संकलन गरेका थिए । उक्त सालकलाई उनले सुरूमा मनिस अरिता नै नाम दिएका थिए । तर पछि अनुसन्धानकर्मीहरूले यो नाम बिर्सिए । यसलाई चाइनिज प्यांगोलिन एउटा उप–प्रजाति मात्रै मानिययो ।
हडसनले सन् १८३६ तिर संकलन गरेको सालकको नमुना लन्डनकै संग्रहालयमा रह्यो । करिब २ सय वर्षदेखि यो नमुना संकेत नम्बर हो BNHM 43.1.12.85
वैज्ञानिक अन्योल र निरूपण
करिब २ सय वर्षपछि अर्थात सन् २०२५ मा एउटा अनुसन्धान छापियो । हिमाली क्षेत्रमा पाइने सालकलाई पूर्ण रूपमा नयाँ प्राजति ठानियो । यसलाई ‘मनिस इन्डो–बर्मानिका’ नाम दिइयो । सालक अनुसन्धानकर्मीहरूबीच यसले ठूलो बहस र भ्रम निम्त्यायो । के नेपाल र म्यानमारमा पाइने सालकहरू साँच्चै नयाँ प्रजाति थिए ? वा यिनीहरू पहिल्यै हड्सनले सन् १८३६ मा नाम दिएकै प्रजाति थिए त ?
त्यसको एक वर्षपछि अर्थात् सन् २०२६ मा नेचर जर्नलमा प्रकाशित अनुसन्धानले उत्तर दियो । नयाँ अध्ययनले सबै भ्रमहरूलाई निवारण गरिदिएको छ । हड्सनले संकलन गरेकै पुरानो नमुनाबाट आनुवंशिक जानकारी निकालियो । उक्त नमूनाको डिएनए अहिलेको हिमाली सालकसँग हुबुह मिल्यो ।
र, यसमा इन्टरनेसनल कोड अफ जुलोजिकल नोमेनक्लेचर (आईसीजेडएन) को नियम लागू भयो । यो संस्थाले संसारभरका जीवजन्तुहरूको वैज्ञानिक नामकरण गर्दा पालना गर्नुपर्ने नियम बनाउँछ । यसले नाममा भएको अन्योलतालाई पनि कानूनी रूपमा हटाइदिन्छ । यसैको नियम बमोजिम ‘ल अफ प्रायोरिटी’ लागू भयो । यो नियमअनुसार २ नाम एउटै प्रजातिको भएमा पुरानो नाम मान्य हुन्छ । त्यसैले हडसनले सन् १८३६मा दिएको नाम मनिस अरिता आधिकारिक भयो ।
२ शताब्दी पुरानो डीएनएको राज
अनुसन्धानमा वैज्ञानिकहरू निष्कर्षमा पुग्न आधुनिक प्रविधिको प्रयोग गरेका छन् । हड्सनले संकलन गरेको १ सय ९० वर्ष पुरानो सालकको पुरानो नमुनाबाट हड्डी र दाँतबाट डीएनए निकालियो । यो काम निकै नै गाह्रो थियो । पुराना नमुनाहरूमा डीएनए प्रायः बिग्रिएका हुन्छन् ।
अनुसन्धानकर्मीहरूले टुक्रिएको डीएनएलाई जोडेर जनवारको आनुवंशिक नक्सा बनाउने नेक्स्ट जेनेरेस सिक्वेन्सिङ (एनजीएस) प्रविधिको प्रयोग गरे । र, जिनोमिक्स गरियो । अर्कोतर्फ नेपाल र भारतका जीवित सालकबाट रगत, तन्तु तथा कोषिकालगायत अन्य नमुना संकलन गरियो ।
हालसालै संकलन गरिएका नमुना र पुरानो हड्सनले संकलन गरेका नमुनासँग तुलाना गरियो । र नतिजामा दुवै नमुना आनुवंशिक एउटै समूहका निस्किए । करिब २ शताब्दी पुरानो एउटा संग्रहालयको नुमनाले आधुनिक वैज्ञानिक निर्णयको आधार बनाइदियो ।
हिमाली सालक र कालो सालकलाई छुट्याउन भने केही गाह्रो हुन सक्छ । यी दुवै प्रजाति सामान्य रूपमा उस्तै देखिन्छन् । तर यसको शरीरको नाम, पुच्छरको लम्बाइ, कानको आकार, खोपडी, कत्लाको रंग र आकारमा भिन्नता पाइएका छन् । यी भिन्नता प्रयोगशालामा मात्र पत्ता लगाउन सकिने अनुसन्धानमा उल्लेख छ । कसैले फिल्डमा काम गर्दा यी २ प्रजातिलाई छुट्याउन निकै नै गाह्रो हुने अनुसन्धानमा उल्लेख छ । नयाँ अध्ययनमा यी दुईवटा समूह उद्विकास (इभोलुसन) का क्रममा झन्डै १८ वर्षअघि अलग भएका थिए ।
सम्भावना र चुनौती दुवै
नेपालमा पाइने धेरैजसो सालक प्रजाति सामुदायिक वनहरूमा अभिलेख गरिएका छन् । संरक्षित क्षेत्रबाहिर मुख्य गरी सामुदायिक वनहरूमा यिनीहरूको उपस्थिति बढी छ । मुलुकमा अहिले १८ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह क्रियाशील छन् । केही समूहले सालक संरक्षणमा उदाहरणीय काम पनि गरेका छन् । जसअन्तर्गत सालकको उपस्थिति अभिलेख गर्ने, गस्ती गर्ने, पासो हटाउने जस्ता समुदायमा आधरिक चोरीशिकारी नियन्त्रण इकाई पनि गठन भएका छन् ।
सालकको यो नयाँ प्रजातिबारे हामरो लिखितहरूमा पुरानै चाइनिज प्यांगोगोलिन लेखिएको छ । वनका कार्ययोजना र नीतिहरू समयक्रम अनुसार परिमार्जन हुँदै जान्छ । नयाँ प्रजाति हो भन्ने प्रमाणित भएपछि समुदायका सदस्यहरूलाई यसबारे जानकारी दिइनुपर्छ ।
हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा तामे सालक र कालो सालक मात्रै उल्लेख छ । यो ऐन विशेष प्रजातिको वैज्ञानिक नाममा आधारित छ । यदि नेपालमा भेटिने सालक हिमाली सालक मात्रै हुन् चाइनिज सालक होइनन् भन्ने पुष्टि भयो भने कानुनी जटिलता आउन सक्छ । ऐनको अनुसूचीमा उल्लेख नभएको प्रजातिमाथि अदालतमा मुद्दा चलाउँदा प्राविधिक रूपमा तस्कर तथा अपराधीहरू उम्किन सक्छन् ।
यसको समाधानका लागि ऐनको अनुसूची १ लाई संशोधन गरी मनिस अरिता लाई स्पष्ट रूपमा समावेश गर्न जरुरी देखिन्छ । दीर्घकालीन समाधानका लागि ऐनले सम्पूर्ण सालक वंश नै संरक्षित घोषणा गर्नु उपयुक्त हुन्छ । यसो गरे भविष्यमा कुनै नयाँ प्रजाति भेटिए पनि कानुनमा खेल्ने ठाउँ रहँदैन । साइटिस कानूनमा भने राहत छ । सबै सालक प्रजाति पहिल्यै अनुसूची १ मा सूचीकृत छन् । साथै, Manis spp. भन्ने साझा सूचीले पनि यस वंशका सबै प्रजाति समेट्छ ।
यो अध्ययनसँगै फोरेन्सिक विज्ञानको महत्त्व नेपालमा बढाएको छ । नेपालको फरेन्सिक विज्ञानले पनि अद्यावधिक खोजेको छ । हाम्रो देशका प्रयोगशालाहरूको हालको आनुवंशिक तथ्यांक भण्डार पुरानो वर्गीकरणमा आधारित छ ।
जफत गरिएको सालकको खबटा वा मासु कुन प्रजातिबाट आयो भनी छुट्याउन अब नयाँ आनुवंशिक रिफरेन्स डेटा आवश्यक पर्छ । त्यो उपलब्ध भयो भने मात्र अदालतमा प्रमाण बलियो हुन्छ र चोरी शिकारी नियन्णत्रमा पनि सहयोग पुग्छ ।
नयाँ अनुसन्धानको खाँचो
यो अध्ययनले मुख्यतः मध्य नेपालको नमुनामा आधारित रही निष्कर्ष निकालेको छ । यसले साल पाइने नेपालका अन्य भूगोल, चीन सीमानजिकका जिल्लाहरूको अवस्था स्पष्ट पार्दैन । ताप्लेजुङ, संखुवासभा, इलाम र पाँचथर जस्ता जिल्लाहरू भौगोलिक रूपमा चीनसँग नजिक छन् । यी क्षेत्रमा साँचो चिनियाँ प्यांगोलिनको सानो जनसंख्या अझै बाँकी रहन सक्छ । यी जिल्लाहरू पहिलेदेखि नै वन्यजन्तु तस्करीको मार्गका रूपमा चिनिन्छन् । त्यसैले थप आनुवंशिक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
अध्ययनले नेपाललाई सालकको उपस्थिति मात्रै नभएर तिनको आनुवंशिक पहिचान पनि परीक्षण गर्नुपर्ने बाटो देखाएको छ । हाम्रो सीमावर्ती जिल्लाहरूबाट सालकका खबटा वा अन्य नमुना संकलन गरेर अध्ययन गर्नुपर्ने देखिन्छ ।
यदि पूर्वी नेपालमा साँचो चिनियाँ प्यांगोलिन भेटियो भने नेपालले दुवै प्रजाति छुट्याएर संरक्षण गर्नुपर्ने हुन्छ । भेटिएन भने हाम्रो नीति र कानून एउटै प्रजातिमा केन्द्रित गर्न सकिन्छ । यद्यपि यी विषयमा अनुसन्धान नगरी अनुसूची संशोधन र राष्ट्रिय कार्ययोजनालाई अन्तिम रूप दिनु हतारो हुनेछ । यो प्रजातिको पुनः पहिचानले हाम्रो मुलुकमा अध्ययन तथा अनुसन्धानको नयाँ सम्भावना खोलेको छ ।
कान्तिपुर दैनिकबाट।





