नदी तटीय क्षेत्रमा बाघको संख्या धेरै

१८ साउन, काठमाडौँ ।

नेपालमा तुलनात्मक रूपमा नदी तटीय क्षेत्रमा बाघको संख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको संख्या धेरै रहेको पाइएको हो ।

बाघको संख्या नदी तटीय क्षेत्रमा धेरै र मानव गतिविधि हुने वन क्षेत्रमा तुलनात्मक कम देखिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।

उनले भने, ‘चितवनको राप्ति नदी किनार क्षेत्रमा धेरै बाघ देखिएका छन् । लालझाडी क्षेत्रमा भने वन अतिक्रमण, मानिसको आवतजावतलगायत कारणले होला बाघको उपस्थिति निकै कम देखियो ।’

कृषि, वन तथा पर्यावरणले विश्व बाघ दिवसका अवसरमा गत बुधबार ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ को नतिजा सार्वजनिक गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३ सय ५५ बाट बढेर ४ सय २९ पुगेको छ । यस सर्वेक्षणमा विविध नयाँ र रोचक तथ्यहरू देखाएको छ ।

पछिल्लो सर्वेक्षणअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय ४५, बर्दिया राष्ट्रिय निकुञ्ज १ सय १२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ गणना गरिएका छन् । यस सर्वेक्षणमा बाघको आहारा प्रजातिको समेत सर्वेक्षण गरिएको छ । उक्त अध्ययनअनुसार सबैभन्दा बढी आहारा प्रजातिमा चित्तल देखिएको छ । त्यसपछि जरायो, बाह्रसिङ्गे, बँदेल, लगुना, रतुवा मृगलगायत देखिएका छन् ।

नेपालले २००९ देखि हरेक ४ वर्षमा बाघ गणना गर्दै आएको छ । सन् २०२२ को गणनाअनुसार चितवनमा १ सय २८, त्यसपछि बर्दियामा १ सय २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ बाघको संख्या रहेको थियो । यसअघि नेपालमा बाघको संख्या सन् २०१० मा १ सय २१, सन् २०१४ मा १ सय ९८ र २०१८ मा २ सय ३५ रहेको थियो ।

पछिल्लो सर्वेक्षणमा अर्काे नयाँ विषय भनेको आफ्नो क्षेत्रमा आहारा प्रजाति हुँदाहुँदै पनि बाघको चलायमान लामो दूरीसम्म भएको देखियो,’ आचार्यले भने, ‘बाघको चलायमान चितवनको कसरादेखि पर्साको अमलेखगञ्जसम्म एक महिना लामो भएको देखियो । यो चलायमान भाले बाघबीच क्षेत्रको प्रतिस्पर्धा वा पोथीको खोजी हुन सक्छ ।’ बाघलाई पारिस्थितिकीय प्रणालीको छाता प्रजातिका रूपमा लिइन्छ ।

नेपालमा बाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज एवं वरिपरिका वन क्षेत्रमा पाइन्छ । यस सर्वेक्षणमा अर्काे देखिएको नयाँ विषय भनेको भाले बाघको संख्या औसतमा ३४ प्रतिशत र पोथी बाघको संख्या ५३ प्रतिशत देखिएको छ । बाँकी छुट्टिन नसक्ने गरी केही तस्बिर कैद भएको विभागको भनाइ छ ।

मानव–बाघ द्वन्द्वको समाधान सह–अस्तित्व

जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले यस सर्वेक्षणबाट प्राप्त नतिजाले वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी–सिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण, जैविक मार्ग संरक्षण जस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गरेको बताए ।

सर्वेक्षणबाट प्राप्त तथ्यांकले बाघ तथा यसको बासस्थान संरक्षणसम्बन्धी आगामी नीति, योजना तथा कार्यक्रम निर्माणका लागि महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने उनको भनाइ छ ।

‘यो सरोकारवाला सबैको संयुक्त प्रयासको प्रतिफल हो, अब यस्तो प्रयास मानव–बाघ सह–अस्तित्वका लागि लगाउनु आवश्यक छ,’ उनले भने । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि समुदायको आयको वैकल्पिक व्यवस्था गर्नुपर्ने तथा बाघप्रतिको व्यवहार परिवर्तन गर्नुपर्ने दाहालले सुझाव दिए । यसका साथै प्रकृतिमा बाघको धान्ने क्षमताका बारेमा नयाँ अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

आगामी दिनमा नेपाल सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वय र स्थानीय समुदायको प्रत्यक्ष संलग्नता तथा संरक्षण साझेदार संस्थाको समेत सहयोगमा मानव बाघ सहअस्तित्व, बाघ संरक्षण तथा बाघको आनीबानी सम्बन्धी सचेतना कार्यक्रम, समस्याग्रस्त बाघको समयमा पहिचान गरी नियन्त्रण, बाघमा आधारित पर्यापर्यटन जस्ता कार्यक्रममा केन्द्रित भई शून्य मानवीय क्षतिको अवधारणामा काम गर्ने सोच रहेको निकुञ्ज विभागले जनाएको छ ।

वनमन्त्री गिता चौधरीले बाघको दिगो संरक्षणका लागि संघ, प्रदेश, स्थानीय तह, समुदाय र साझेदारबीचको बहुपक्षीय प्रयास आवश्यक रहेको बताइन् । उनले स्थानीय समुदायको सहभागिता र स्वामित्व नै संरक्षणको आधारशिला भएको उल्लेख गर्दै संरक्षणसँगै यसको उपयोगितालाई पनि सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

बाघ पर्यटनमार्फत रोजगारी सृजना, आयआर्जन र सामुदायिक अपनत्व अभिवृद्धि गरी स्थानीय जीविकोपार्जनलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले सरकारले बाघ संरक्षण कार्ययोजना कार्यान्वयन गर्दै विभिन्न साझेदार संस्थाहरूको सहयोगमा बाघको बासस्थान तथा आहारा संरक्षणका लागि निरन्तर प्रयासहरू जारी राखेको बताइन् ।

बाघ नेपाललगायत भारत, चीन, बंगलादेश, भूटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रूस, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । विश्वमा सन् २०१० मा करिब ३ हजार २ सय को संख्यामा रहेको बाघको संख्या सन् २०२५ को तथ्यांकअनुसार बढेर ५ हजार ३ सय ५७ पुगेको छ ।

भीष्मराज ओझा/रासस

ताजा समाचार

सम्बन्धित समाचार