नेपालमा एल निनो प्रभाव

नवराज पोखरेल
३ असार, काठमाडौँ ।

नेपालको जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन अवधिको मौसमी विवरणमा यस वर्ष देखिने ‘एल निनो’ प्रभावलाई प्रस्ट रूपमा उल्लेख गरिएको छ । यसको प्रभावले यस वर्षको मनसुन र वर्षाको अवस्था अघिल्ला वर्षमा देखिनेभन्दा फरक हुने प्रक्षेपण छ ।

‘एल निनो’ भनेको एक प्राकृतिक जलवायु चक्र हो र यसले विश्वभरिको मौसम र तापक्रममा ठुलो फेरबदल ल्याउँछ । यो प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी बढ्दा उत्पन्न हुन्छ । प्राकृतिक रूपमा हुने गरेका अनौठा र फरक प्रकृतिका घटना जस्तै यो पनि एक विशिष्ट प्राकृतिक घटना हो ।

‘एल निनो’ दक्षिणी प्रशान्त महासागरमा हुने गरेको अस्वाभाविक चालका कारण सामुद्रिक तापक्रमको फरकपन हो । यसका कारण परिवर्तित तापक्रममा समुद्र र वायुमण्डलबिचको ऊर्जा तथा आद्र्रताको चक्रमा परिवर्तन आउँछ र विश्वका विभिन्न भागको मौसम र जलवायु प्रणालीलाई प्रभावित गर्छ ।

सामान्यतया यो प्रभाव हरेक वर्ष आउने खालको हुँदैन । २ वर्षदेखि ७ वर्षसम्मको फरकमा यो प्रभाव प्रशान्त महासागरमा देखिने गरेको छ । प्रशान्त महासागर नेपालसँग प्रत्यक्ष जोडिएको छैन र यसको प्रत्यक्ष प्रभाव नेपालमा हुँदैन । तर नेपालको मौसमी अवस्था दक्षिण एसियाली मौसमसँग जोडिएको र दक्षिण एसियाली मौसम ‘एल निनो’ प्रभावसँग जोडिएको छ । त्यही भएर नेपालमा पनि यसको प्रभाव प्रत्यक्ष नभए पनि दक्षिण एसियाली मनसुन प्रणालीमार्फत परोक्ष रूपमा प्रभाव पर्ने देखिन्छ ।

सामान्य अवस्थामा प्रशान्त महासागरमाथि पूर्वबाट पश्चिमतर्फ चल्ने नियमित हावाले तातो पानीलाई पश्चिमी प्रशान्त क्षेत्रमा थुपार्ने गर्छ । यसले इन्डोनेसिया र वरपरका क्षेत्रमा बादल र वर्षाको मात्रा बढाउँछ तर ‘एल निनो’ को प्रभावले हावाको शक्ति कमजोर बन्छन् वा दिशा परिवर्तन गर्छन् । हावा कमजोर बनेको वा दिशा परिवर्तन गरेको अवस्थामा तातो पानी पूर्वी प्रशान्ततर्फ सर्छ र वायुमण्डलीय चाल प्रणाली कमजोर हुन्छ ।

यसले मूलतः प्रशान्त क्षेत्र तथा सम्पूर्ण वायुमण्डलको वर्षा र तापक्रमको औसत अवस्थामा परिवर्तन ल्याउँछ । नेपालको जलवायु मुख्य रूपमा दक्षिण–पश्चिम मनसुनमा निर्भर छ । नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत भाग असारदेखि असोजसम्मको मनसुनबाट प्राप्त हुन्छ । ‘एल निनो’ सक्रिय हुँदा मनसुनको समयमा पर्ने वातावरणीय अवस्थामा फरकपन आउँछ । यतिबेला मनसुन कमजोर हुने, ढिलो प्रवेश गर्ने वा समयभन्दा चाँडो अन्त्य हुने सम्भावना बढ्छ । यसको परिणाम नेपालका धेरै भागमा औसतभन्दा कम वर्षा हुन सक्छ ।

‘एल निनो’ ले विभिन्न जलवायुगत सूचकमा प्रभाव पार्छ । पहिलो, वर्षामा कमी आउँछ र वर्षा आउने क्षेत्र पहिलेभन्दा फरक र औसतभन्दा पनि कम हुन्छ । कतिपय क्षेत्रमा लामो समयसम्म वर्षा नहुने र अचानक छोटो अवधिमा अत्यधिक वर्षा हुने अवस्था सिर्जना हुन सक्छ । दोस्रो, तापक्रममा वृद्धि हुन्छ । कम बादल र कम वर्षाका कारण पृथ्वीको सतहमा बढी सौर्य विकिरण पुग्ने भएकाले अधिकतम तथा औसत तापक्रम बढ्न सक्छ ।

अध्ययनले देखाएबमोजिम ‘एल निनो’ को समयमा वा वर्षामा वायुमण्डलमा रहेको आद्र्रता घट्ने देखिएको छ । तापक्रम बढ्दा र वर्षा कम हुँदा वातावरण अझ सुक्खा बन्छ । यसको परोक्ष प्रभावले जलस्रोत र नदी प्रवाहको डिस्चार्ज प्रभावित हुन्छन् । ‘एल निनो’ का कारण सुक्खा अवधि लम्बिने प्रवृत्ति पनि देखिन्छ ।

हालका अध्ययनले काठमाडौँ उपत्यकामा लगातार सुक्खा दिनको संख्या बढ्दो क्रममा रहेको देखाएका छन्, जसले खडेरीको जोखिम बढाउने सङ्केत गर्दछ । साथै वन डढेलो, पानीको अभाव, जैविक विविधतामा ह्रास तथा मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।

सन् २०२६ मा विश्वका प्रमुख मौसम तथा जलवायु संस्थाहरूले ‘एल निनो’ को प्रभाव देखिइसकेको र आगामी समयमा यसको प्रभाव अझै धेरै हुन सक्ने सङ्केत दिएका छन् । हालका पूर्वानुमान अनुसार २०२६ को मनसुनदेखि २०२७ को मध्यसम्म ‘एल निनो’ को प्रभाव रहने सम्भावना उच्च छ । केही पूर्वानुमानले यसका कारण सामान्यदेखि धेरै मात्रामा पनि मौसम प्रभावित हुन सक्ने र मध्यमदेखि निकै धेरै विनाशका कारण बन्न सक्ने औँल्याएका छन् ।

‘एल निनो’ सक्रिय हुँदा मनसुनको समयमा बंगालको खाडीबाट नेपालतर्फ आउने मनसुनी वायु कमजोर हुन सक्छ, जसका कारण वर्षा कम हुने, वर्षाको वितरण पहिलेको जस्तो नहुने तथा लामो समयसम्म खडेरी अवधि रहने सम्भावना बढ्छ । भारतमा समेत २०२६ को मनसुनमा मध्यमदेखि बलियो ‘एल निनो’ का कारण वर्षा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । यसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्छ ।

मनसुनी वर्षामा कमी आए पनि केही स्थानमा छोटो अवधिमा अत्यधिक वर्षा हुन सक्ने भएकाले जलवायुजन्य जोखिम झन् जटिल बन्न सक्छ । वर्षा कम हुँदा तापक्रम सामान्यभन्दा बढी हुने, तातो दिनको संख्या बढ्ने तथा लामो समयसम्म सुक्खा अवस्था रहने सम्भावना रहन्छ । यसले खडेरी तथा पानीको अभावको जोखिम बढाउनुका साथै वातावरणीय सन्तुलनमा समेत असर पु¥याउन सक्छ ।

अघिल्लो मनसुनको समयमा पनि तापक्रम वृद्धि र खडेरीले नेपालको तराईलाई पारेको प्रभाव जस्तै गरी यस वर्ष पनि खडेरीको समस्या रहन सक्ने देखिन्छ । उच्च तापक्रम र कम वर्षाका कारण माटोमा चिस्यानको मात्रा घट्ने, जलस्रोत सुक्ने तथा नदी खोलाको बहाब कम हुने अवस्था सिर्जना हुन सक्छ ।

‘एल निनो’ को असर कृषि, ऊर्जा र जनजीवनमा प्रत्यक्ष रूपमा देखिन सक्छ । नेपालमा धान, मकैलगायतका प्रमुख खाद्यान्न बाली मनसुनी वर्षामा निर्भर भएकाले वर्षा कमी हुँदा उत्पादन घट्ने जोखिम बढ्छ । सिँचाइका लागि आवश्यक पानीको अभाव हुँदा किसान थप समस्यामा पर्न सक्छन् । नदी तथा खोलाको बहाब घट्दा जलविद्युत् आयोजनाको उत्पादन क्षमता प्रभावित हुन सक्छ र ऊर्जा आपूर्तिमा चुनौती थपिन सक्छ ।

त्यसैगरी सुक्खापन बढ्दा वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना उच्च हुन्छ, जसले जैविक विविधता, वन सम्पदा तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । खानेपानीका स्रोतमा पानीको मात्रा घट्न सक्ने भएकाले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ । सम्भावित प्रभावलाई ध्यानमा राखी समयमै तयारी, जलस्रोत संरक्षण, जलवायु अनुकूल कृषि अभ्यास तथा प्रभावकारी विपत् व्यवस्थापन आवश्यक देखिन्छ ।

केही स्थानमा छोटो अवधिमा अत्यधिक वर्षा भएर बाढी, पहिरो र डुबानका घटना पनि हुन सक्छन् । त्यसैले यसको प्रभाव केवल सुक्खापनमा मात्र सीमित हुँदैन, यसले वर्षाको चरम असन्तुलन पनि निम्त्याउन सक्छ ।

नेपालका लागि यसको सबैभन्दा महत्वपूर्ण प्रभाव २०२६ को मनसुन, त्यसपछिको हिउँदे मौसम र २०२७ को वसन्त ऋतुसम्म देखिन सक्छ । त्यसैले कृषि, जलस्रोत, विपत् व्यवस्थापन तथा ऊर्जा क्षेत्रमा अग्रिम तयारी र जलवायु–अनुकूल योजना निर्माण अत्यन्त आवश्यक देखिन्छ ।

सन् २०२६ मा ‘एल निनो’ का कारण नेपालमा मनसुनी वर्षा औसतभन्दा कम हुने, तापक्रम बढ्ने, खडेरीको जोखिम बढ्ने तथा केही स्थानमा अत्यधिक वर्षाका कारण बाढीपहिरोको सम्भावना रहने पूर्वानुमान गरिएको छ । यस्तो अवस्थामा नेपालले ‘एल निनो’ सँग जुध्न तथा यसको प्रभाव न्यूनीकरण गर्न बहुआयामिक रणनीति अपनाउन आवश्यक छ ।

सबैभन्दा पहिले पूर्वसूचना तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्छ । जल तथा मौसम विज्ञान विभागद्वारा जारी गरिने मोबाइल सन्देश, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत जोखिम सूचना व्यापक रूपमा प्रवाह गर्न आवश्यक छ ।

जलवायु अनुकूल कृषि प्रणाली अपनाउन पनि उत्तिकै आवश्यक छ । यसका लागि कम पानी चाहिने बाली, खडेरी सहन सक्ने बिउबिजन तथा आधुनिक सिँचाइ प्रविधिको प्रयोग बढाउनु पर्छ । कृषि क्षेत्रका लागि मौसममा आधारित परामर्श सेवा प्रभावकारी बनाउँदै किसानलाई समयमै सूचना उपलब्ध गराउनुका साथै बाली बिमा कार्यक्रमलाई व्यापक बनाउनु पर्छ ।

विपत् जोखिम न्यूनीकरण तथा तयारीलाई सुदृढ बनाउनु अर्को महत्वपूर्ण कदम हो । उच्च जोखिम क्षेत्र पहिचान गरी उद्धार सामग्री, राहत सामग्री तथा जनशक्ति तयारी अवस्थामा राख्नु पर्छ । नदी किनार, पहिरो सम्भावित बस्ती तथा असुरक्षित क्षेत्रमा बसोबास गर्ने समुदायलाई विशेष निगरानीमा राख्नु पर्छ ।

अन्त्यमा, वैज्ञानिक जोखिम नक्सांकन र अनुसन्धानलाई प्राथमिकता दिनु पर्छ । कुन बस्ती, सडक, नदी तट वा पहाडी क्षेत्र बढी जोखिममा छन् भन्ने विस्तृत अध्ययन गरी स्थानीय तहलाई आवश्यक जानकारी उपलब्ध गराउनु पर्छ, जसले पूर्वतयारी तथा स्रोत परिचालनलाई प्रभावकारी बनाउँछ ।

गोरखापत्र दैनिकमा प्रकाशित। लेखक वातावरणविद् हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार