१३ साउन, काठमाडौँ ।
मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जाँदा नेपालमा बाघको संख्या वृद्धि भएको छ । विगत ४ वर्षको अन्तरमा नेपालमा ७४ वटा वयस्क बाघ थपिएका छन् ।
४ वर्षअघि नेपालका प्राकृतिक बासस्थानमा ३ सय ५५ रहेको बाघको संख्या बढेर अहिले ४ सय २९ पुगेको छ । राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका भेगमा गरिएको गणनाको नतिजा बुधबार (१३ साउनमा) कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको हो ।
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक भएको नतिजा अनुसार सबैभन्दा धेरै बाघ चितवनमा छन् । चितवनमा १ सय ४५ बाघ अभिलेख भएका छन् । त्यसपछि क्रमशः बर्दिया निकुञ्जमा १ सय १२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा निकुञ्जमा ५० वटा वयस्क बाघ छन् ।
नेपालमा औसतमा ४ वर्षको अन्तरमा बाघको गणना हुँदै आएको छ । ४ वर्षअघि चितवनमा १ सय २८ वटा बाघ अभिलेख भएका थिए । त्यसबेला बर्दियामा १ सय २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ थिए । यसपटकको गणना अनुसार बाँकेमा बाघको संख्या दोब्बर वृद्धि भएको छ ।
प्राकृतिक विपत्तिबाट खासै असर नभएको, रोगव्याधि तथा चोरीशिकार अन्य मानवीय कारणले बाघ मर्ने/मारिने क्रम घटेकाले संख्यामा क्रमशः सुधार आइरहेको विज्ञहरूको विश्लेषण छ ।
त्यसअघि सन् २०१८को गणनामा २ सय ३५ बाघ फेला परेका थिए । सो वर्ष चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ भेटिएका थिए । सन् २०१३ को गणनामा नेपालका निकुञ्ज र संरक्षित क्षेत्रमा वयस्क बाघको संख्या १ सय ९८ थियो ।
नेपालसहित विश्वका १३ देशका प्राकृतिक बासस्थानमा बाघ अभिलेख भएको छ । दक्षिण एसियामा नेपालका अतिरिक्त भारत, बंगलादेश र भुटानमा मात्र यो जीव पाइन्छ । त्यसैगरि चीन, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रूस, थाइल्यान्ड र भियतनाममा मात्र बाघको उपस्थिति पाइएको छ ।
सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने १३ देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख संलग्न पहिलो विश्व बाघ सम्मेलन पश्चात यो जन्तु विश्वको चासोमा पर्न थालेको हो । सो सम्मेलनले सन् २०२२ भित्र संख्या दोब्बर गर्ने प्रतिवद्धता गरको थियो ।
सेन्ट पिटर्सवर्ग सम्मेलनताका १३ देशमा बाघको संख्या ३ हजार २ सय हाराहारी थियो । सो सम्मेलनले संख्या बढाएर सन् २०२२ मा ६ हजार हाराहारी पु¥याउने प्रतिवद्धता जनाएको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा जनाएको प्रतिवद्धता अनुसार नेपालमा ४ वर्ष अगावै बाघको संख्या झन्डै ३ गुणा बढी वृद्धि भएको थियो ।
सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि नेपालमा बाघबारे अध्ययन अनुसन्धान हुँदै आएको छ । पिटर्सवर्ग सम्मेलनमा सहभागी भएपछि सरकारले यो दुर्लभ जन्तुका लागि विशेष कार्यक्रम र संरक्षणका अभ्यास थालेको हो ।
विश्व बाघ सम्मेलनमा सहभागी भएपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा राष्ट्रिय बाघ समिति गठन भएको थियो । २०६७ मा गठन भएको समितिमा अर्थ, गृह, रक्षा, वन, कानून मन्त्रीहरूसहित मुख्यसचिव सदस्य र वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य–सचिव रहने प्रावधान छ ।
समिति गठन भएपछि तत्कालीन सरकारले बाघ, हात्ती, गैँडा जस्ता ठूला र लापोन्मुख जन्तुको संख्या सुधारका लागि बाँके राष्ट्रिय निकुञ्जको स्थापना र वन्यजन्तु आरक्षको क्षेत्र बढाएर पर्सालाई निकुञ्ज बनाएको थियो ।
नेपालमा गणनाका क्रममा बाघको संख्या, यसको आहारा प्रजाति साथै विचरण क्षेत्र लगायतका वस्तुस्थितिको समेत अध्ययन गरिन्छ । संरक्षण साझेदार संघ/संस्थासँगको सहकार्यमा गत १ पुसदेखि चितवन निकुञ्जबाट बाघ सर्वेक्षण आरम्भ भएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा बाघको बासस्थान रहेका निकुञ्ज र आसपासका क्षेत्र समेटेर चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा अध्ययन भएको थियो । करिब ३ महिना लामो सर्वेक्षण पश्चात गणनासँग जोडिएका तथ्य/तथ्यांकहरू विश्लेषण गर्दै बाघको पछिल्लो संख्या तय भएको निकुञ्जका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।
पछिल्ला वर्षहरू मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जाँदा नेपालका प्राकृतिक बासस्थानमा बाघ स्थानान्तरण गर्नुपर्ने, विचरण क्षेत्रको अध्ययनलाई फराकिलो बनाउँदै आहरा प्रजातिको संख्या सुधार्नुपर्ने बहस आरम्भ भएको छ । बाघको संख्या सुधार हुँदै गर्दा मानवीय क्षति समुदायले भोग्दै आएको समस्या घटाउनतर्फ राज्यको प्राथमिकता केन्द्रित हुनुपर्ने संरक्षणकर्मीहरू बताउँछन् ।
चितवन, बर्दिया र आसपासका भेगमा बाघबाट हुने मानवीय क्षतिका घटना दोहोरिँदै आएका छन् । निकुञ्ज र आसपासका भेगमा बाघको स्वभाविक र सहज विचरण क्षेत्र र संख्यालाई विश्लेषण गरिए पनि सो अनुसार संख्या हेरफेर नहुँदा मानवीय क्षतिका घटना शून्यमा झर्न नसकेको विज्ञहरूको ठहर छ ।
बाघको संख्याको वृद्धि भएसँगै प्राकृतिक बासस्थानमा यसको आवश्यक संख्याका बारेमा बहस हुन थालेको छ । प्राकृतिक बासस्थान र विचरण क्षेत्रको विश्लेषणका आधारमा नेपालमा बाघको संख्या ४ सय हाराहारी सीमित गर्नु उत्तम हुने अध्ययनले देखाएको छ ।विज्ञहरूको अध्ययनले चितवन र पर्सा निकुञ्जमा १ सय ७७ हाराहारी बाघ रहनु उपयुक्त हुने देखाएको छ ।
यी निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका भेगमा बाघको नियमित विचरण हुने भएकाले अझै धेरै संख्यामा बाघ रहन सक्ने उनीहरूको विश्लेषण छ । अध्ययनमा संलग्न एक विज्ञ भन्छन्, ‘संख्या बढ्यो भन्दैमा खुसी हुने मात्रै होइन, मानव र समुदायसँगको द्वन्द्व घटाउन बाघको आहरा प्रजातिको संख्या सुधार गर्नुपर्छ ।’





