बाल्यकालमै जलवायु संकट

१२ असार, काठमाडौँ ।

जलवायु संकटले सबैलाई असर गरिरहेको छ । तर सबैभन्दा ठुलो अन्याय त्यो पुस्तामाथि भइरहेको छ, जसले यसको सिर्जनामा कुनै योगदान गरेका छैनन् । यो संकटको प्रतिकूल प्रभाव धेरै समयसम्म भोग्ने पुस्ता पनि यही हो । विश्वका करोडौँ बालबालिका अहिले बाढी, खडेरी, डढेलो, तापलहर र प्रदूषणको मारमा परेका छन् ।

हालै सार्वजनिक संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को ‘चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट–२०२६’ अनुसार करिब १.१ अर्ब बालबालिका कम्तीमा तीनवटा जलवायुजन्य जोखिमको सामना गरिरहेका छन् । अझै ४० लाखभन्दा बढी बालबालिका त एकैसाथ ६ वटासम्म जलवायुजन्य जोखिममा छन् । यसले देखाउँछ, जलवायु परिवर्तन केवल वातावरणीय समस्या होइन, मानव अधिकार, सामाजिक न्याय र भविष्यको पुस्तामाथिको अन्यायको प्रश्न पनि हो ।

हुन पनि, बालबालिकाको शरीर, प्रतिरक्षा प्रणाली र मानसिक विकास पूर्ण रूपमा परिपक्व भइसकेको हुँदैन । त्यसैले अत्यधिक गर्मी, वायु प्रदूषण, कुपोषण, दूषित पानी र संक्रामक रोगको प्रभाव उनीहरूमा वयस्कको तुलनामा धेरै गम्भीर हुन्छ । जलवायु परिवर्तनले सिर्जना गर्ने बाढी, खडेरी, डढेलो, तापलहर, आँधी र समुद्री सतहको वृद्धिले उनीहरूको स्वास्थ्य मात्र होइन, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र समग्र विकासमा प्रत्यक्ष आघात पुर्‍याइरहेको छ ।

युनिसेफको प्रतिवेदनले जलवायु संकटलाई कुनै एकल घटना नभई एकआपसमा जोडिएका बहुआयामिक जोखिमहरूको शृंखलाका रूपमा व्याख्या गरेको छ । उदाहरणका लागि, लामो खडेरीले कृषि उत्पादन घटाउँछ, त्यसबाट खाद्य संकट उत्पन्न हुन्छ, सुक्खा वनस्पतिले डढेलो बढाउँछ, डढेलोले वायु प्रदूषण फैलाउँछ, त्यसपछि आउने बाढीले घर, विद्यालय तथा स्वास्थ्य संस्था ध्वस्त पार्छ । यसरी एउटा विपत्तिले अर्को विपत्तिलाई जन्म दिने दुष्चक्रमा सबैभन्दा बढी बालबालिका नै पर्छन् ।

नेपाल पनि यसबाट अछुतो छैन । हिमनदी पग्लिने गति बढ्नु, अनियमित मनसुन, बाढी, पहिरो, खडेरी र बढ्दो तापक्रमले नेपाली बालबालिकाको जीवनमा प्रत्यक्ष असर गरिरहेको छ । बाढी र पहिरोका कारण विद्यालय बन्द हुने, खानेपानीको अभाव हुने, कुपोषण बढ्ने, रोग फैलिने र परिवार विस्थापित हुँदा हजारौं बालबालिकाको शिक्षा तथा सुरक्षित बाल्यकाल प्रभावित हुने जोखिम बढ्दो छ । हिमालदेखि तराईसम्म जलवायु परिवर्तनका असर फरक–फरक रूपमा देखिए पनि त्यसको पीडा भने बालबालिकाले समान रूपमा भोगिरहेका छन् ।

यसैबिच विश्व स्वास्थ्य संगठनले विकसित भइरहेको एल निनोका कारण यस वर्ष र अर्काे वर्ष अत्यधिक गर्मी र अन्य चरम मौसमी घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ । अत्यधिक गर्मीलाई उसले विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटका रूपमा व्याख्या गर्दै विशेष गरी शिशु, बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको सुरक्षाका लागि पूर्वचेतावनी प्रणाली, स्वास्थ्य सेवा सुदृढीकरण र समुदायको तयारीमा जोड दिएको छ । यसले जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, वर्तमानको सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्था बनिसकेको पुष्टि गर्छ ।

यही सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सरचना महासन्धिले पनि बालबालिकालाई जलवायु नीतिको केन्द्रमा राख्नुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आएको छ । पेरिस सम्झौताको मूल उद्देश्य तापक्रम वृद्धिलाई सीमित गर्नु मात्र होइन, जलवायु परिवर्तनका असरबाट वर्तमान र भावी पुस्ताको सुरक्षा गर्नु पनि हो । पछिल्ला अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूले पनि अनुकूलन, हानि–नोक्सानी, जलवायु वित्त र जलवायु शिक्षामा विशेष जोड दिँदै बालबालिका र युवाको सार्थक सहभागिता सुनिश्चित गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । जलवायु संकटबाट सबैभन्दा कम जिम्मेवार पुस्ता नै सबैभन्दा बढी प्रभावित भएकाले उनीहरूको अधिकार, सुरक्षा र भविष्यलाई जलवायु नीतिको केन्द्रमा राखिनुपर्ने युएनएफसिसिसीको स्पष्ट धारणा छ ।

यस सन्दर्भमा हरेक देशले राष्ट्रिय जलवायु अनुकूलन योजना बनाउँदा बालबालिकाको आवश्यकता छुट्टै प्राथमिकतामा राख्नुपर्छ । विद्यालय, स्वास्थ्य संस्था, खानेपानी तथा सरसफाइका पूर्वाधारलाई जलवायु सहनशील बनाउन लगानी बढाउन उत्तिकै आवश्यक छ । यसैगरी, विपद् पूर्वचेतावनी प्रणालीलाई स्थानीय तहसम्म प्रभावकारी बनाउँदै विद्यालय र समुदायमा जलवायु जोखिम व्यवस्थापनको अभ्यास नियमित गर्नुपर्छ । जलवायु शिक्षा विद्यालयको पाठ्यक्रममा व्यवहारिक रूपमा समावेश गरी बालबालिकालाई समस्या बुझ्ने मात्र होइन, समाधानको साझेदार बनाउने वातावरण तयार गर्न पनि उत्तिकै आवश्यक छ ।

जलवायु परिवर्तनको बहसमा कार्बन, तापक्रम र अर्थतन्त्रका सूचकहरू धेरै उठाइन्छन् । तर हरेक तथ्यांकपछाडि एउटा बालकको स्वास्थ्य, एउटी बालिकाको शिक्षा र एउटा परिवारको भविष्य जोडिएको हुन्छ भन्ने कुरा सधैँ बिर्सन्छौँ । आजका बालबालिकालाई सुरक्षित वातावरण दिन असफल हुने हो भने भोलिको समृद्धि, विकास र न्यायका सबै प्रतिबद्धता खोक्रा साबित हुनेछन् । त्यसैले जलवायु परिवर्तनविरूद्धको लडाइँ वातावरण जोगाउने अभियान मात्र होइन, विश्वका करोडौँ बालबालिकाको जीवन, अधिकार र भविष्य जोगाउने साझा जिम्मेवारी पनि हो ।

नागरिक दैनिक

ताजा समाचार

सम्बन्धित समाचार