Tuesday, January 27, 2026

चरा मार्नु पुरूषार्थ कि अपराध?

सुरेशकुमार सुवेदी
८ माघ, धादिङ।

धादिङको गजुरी गाउँपालिका–६ मा हालै देखिएको एउटा दृश्यले प्रकृतिप्रेमीहरूलाई स्तब्ध बनाउँछ । हातमा गुलेली बोकेर गौरवका साथ मरिएका चरा प्रदर्शन गरिरहेका युवाहरू देख्दा लाग्छ–उनीहरूका लागि यो केवल एउटा खेल हो । तर, वास्तवमा यो प्रकृतिको लय बिगार्ने गम्भीर भूल हो ।

चराः प्रकृतिका अभिन्न अंग
चराहरू केवल आकाशमा उड्ने प्राणी मात्र होइनन् । उनीहरू हाम्रा सच्चा साथी र प्रकृतिका कुचीकार हुन् ।
किसानका मित्रः चराहरूले बालीनाली नष्ट गर्ने कीराहरू खाएर प्राकृतिक रूपमा खेतीको रक्षा गर्छन् ।

वातावरणको सन्तुलनः परागसेचन र बीउ प्रसारणमा चराहरूको भूमिका अतुलनीय छ ।

विज्ञानका गुरूः आजको आधुनिक उड्डयन विज्ञान र आकाशको रहस्य बुझ्न मानिसले चराहरूबाटै प्रेरणा पाएको हो ।

किन रोक्नुपर्छ यस्ता कार्य ?

कौतुकता वा मनोरञ्जनका नाममा मारिने एउटा चरासँगै एउटा पारिस्थितिक चक्र नष्ट हुन्छ । सानै उमेरमा जीवजन्तुको हत्या गर्दा बालबालिकामा हिंसात्मक प्रवृत्ति बढ्न सक्छ । प्रकृतिको सुन्दरता र ऊर्जाका स्रोत मानिने पक्षीहरूको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

चरा थकाइ मेटाउन रूखको हाँगा वा बिजुलीको तारमा बस्छन् । तर, उनीहरूले सुइँको पाउँदैनन् कि नजिकै एउटा बालकले आफैँलाई ताकेर गुलेली तानिरहेको छ ।

बालकले एकाग्र भएर निशाना लगाउँछ । ‘झ्या्याइँ…’ ढुंगा छुट्छ र सिधै चराको मुटुमा लाग्छ । चरा एकैछिन छटपटाउँछ, सन्तुलन गुमाउँछ र जमिनमा पछारिन्छ । केही बेरमै उसका पखेटाहरू चल्न छोड्छन्– निर्दोष पक्षीले प्राण त्याग गर्छ ।

भोको पेटका लागि होइन

तस्बिरमा देखिएका यी बालकको दैनिकी अचेल यसैगरी बित्ने गरेको छ । अचम्मको कुरा त के छ भने यी चराहरू मारेर उनको भोक टर्दैन । उनलाई यी चराको मासु खानु पनि छैन । उनका लागि यो केवल एउटा ‘मनोरञ्जन’ हो । चरा मारेर भुइँमा झार्दा उनले एउटा ठूलो युद्ध जितेको जस्तो ‘पुरूषार्थ’ महसुस गर्छन् ।

यो एउटा बालकको मात्र कथा होइन, ग्रामीण भेगका धेरै बालबालिकाका लागि चरा मार्नु एउटा खेलजस्तै बनेको छ । स्कुल जाने उमेरका बालबालिकाहरू कापी–कलम बोक्नुपर्ने समयमा गुलेली बोकेर जंगल र खेतबारी चाहार्ने गर्छन् । यो विगतदेखिकै तितो यथार्थ हो ।

हराउँदै मानवीय संवेदना

एउटा सानो पक्षीको विभत्स हत्यामा खुसी खोज्नुले बालबालिकाको मनोविज्ञान कतातर्फ गइरहेको छ भन्ने स्वभाविक प्रश्न उब्जाउँछ । प्रकृतिको सुन्दरता मानिने चराहरूको विनाशले एकातिर पारिस्थितिक प्रणालीमा असर गरिरहेको छ भने अर्कोतिर बालबालिकाहरूमा क्रूरता बढ्दै गएको देखिन्छ ।

बालबालिकाले चरा मार्नुलाई वीरता ठान्नु दुःखद भएको बताउँदै स्थानीय बाबुराम कोइराला भन्छन्, ‘यसले उनीहरूमा जीवजन्तुप्रतिको दयाभाव घटाउँछ । यसमा अभिभावक र विद्यालयले विशेष ध्यान दिनु जरूरी छ ।

निष्कर्ष

प्रकृति र पक्षी बिनाको संसार कल्पना गर्न सकिँदैन । मनोरञ्जनका नाममा निर्दोष प्राणीको ज्यान लिनु अपराध हो भन्ने कुरा बालबालिकालाई बुझाउन ढिला भइसकेको छ । के हामी हाम्रा छोराछोरीलाई गुलेलीको सट्टा किताब र सिर्जनात्मक खेलतर्फ आकर्षित गर्न सक्छौँ ? गजुरीका यी बालकको हातमा रहेको गुलेली नछुटाएसम्म चराहरूको चिरबिर आवाज सुरक्षित रहने छैन ।

ताजा समाचार

सम्बन्धित समाचार