पत्रपत्रिकामा आजः पशुसँगै सुत्छन् बाढीपीडित, सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्

कान्तिपुर
-आजको कान्तिपुरमा डुबान क्षेत्रमा अझै जोखिम भन्ने शीर्षकमा रवीन्द्र उप्रेतीको समाचार छापिएको छ। बाढीबाट महोत्तरीमा थप २ बालकको मृत्यु भएको छ । सोनमा गाउँपालिका–१ बजार टोलका ५ वर्षीय इनताज नदाफ र उनका ६ वर्षीय साथी अजरुद्दीन नदाफको सोमबार मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर किशोर आचार्यका अनुसार दुवैको शव अपराह्न तीन बजेतिर मडाहा खोलाको बाढीले बनाएको करिब ७ मिटर गहिरो दहमा फेला परेको हो । दुवै बालक खेल्दै जाँदा नजिकै रहेको कलभर्टबाट चिप्लिएर दहमा खसेको अनुमान छ ।

-पशुसँगै सुत्छन् बाढीपीडित भन्ने शीर्षकमा शिव पुरीको समाचार छापिएको छ। रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् ।

-गैंडा जोगाउने जुक्ति- हरुवालाई पोखरी भन्ने शीर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ। धमाधम गैंडा मर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले तिनलाई जोगाउने नयाँ उपाय अपनाएको छ– पोखरी बनाउने । गैंडालाई आहाल असाध्यै मन पर्छ । त्यसका लागि एउटै आहालमा धेरै गैंडा जम्मा हुन्छन् । त्यहाँ जुध्ने खतरा बढी हुन्छ । कतिपय अवस्थामा जुध्दाजुध्दै गैंडाको मृत्युसमेत हुन्छ ।

-बाढीबाट प्रदेश १ मा मात्रै साढे ८१ करोडको क्षति भन्ने शीर्षकमा राजु चौधरीको समाचार छापिएको छ। वर्षाका कारण प्रदेश १ मा कृषि तथा पशुपन्छीतर्फ साढे ८१ करोड रुपैयाँको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशुपन्छी तर्फ २५ लाख ८० हजार र बालीतर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँको क्षति भएको हो ।

-रोपो रोपिन्छ, जोगिए पो भन्ने शीर्षकमा मोहन बुढाऐरको समाचार छापिएको छ। रोपाइँ गर्दैगर्दा रामकिसन चौधरी घरीघरी मोहना नदीतर्फ हेर्दै थिए । आकाशे पानीको भरमा बस्दा उनको रोपाइँ ढिलो सुरु भयो । पानी नपर्दा रोपाइँ सुरु नहुने र धेरै पानी परे रोपो नरहने उनले बताए । अधिक वर्षा भएपछि मोहना नदीको बाढी उनको खेततर्फ सोझिने गरेको छ । बाढीले खेत कटानी गर्ने गरेकामा उनी दुःखी छन् ।

-पुलमा क्षति भएपछि आयात–निर्यात प्रभावित भन्ने शीर्षकमा विनोद भण्डारीेको समाचार छापिएको छ। विराटनगर भन्सारदेखि पाँच किलोमिटर दक्षिण भारतको मीरगन्जस्थित पुलमा बाढीले क्षति पुर्‍याएपछि आइतबारदेखि जोगबनी नाकाबाट आयात निर्यात ठप्प भएको छ । भारतीय प्रशासनले बाढीले पुलमा क्षति पुगेको भन्दै ढुवानीका साधन गुड्न नदिएको हो ।

-आधा खेत बाँझै भन्ने शीर्षकमा अगन्धर तिवारीको समाचार छापिएको छ। निरन्तरको वर्षाले देशभरका विभिन्न जिल्लामा बाढीपहिरो र डुबानको समस्या देखिएको छ । पर्वतमा भने असार सकिँदा पनि पानीको अभावमा धेरैजसो खेतमा धान रोपाइँ हुन पाएको छैन । जिल्लामा बढी धान फल्ने मुख्य फाँट बाँझै छन् । कटुवाचौपारी, मुडीकुवा, कमलेबजार, राहाले, खानीगाउँ, देवीस्थान, कुर्घालगायत फाँटका किसानले रोपाइँ गर्न नपाएका हुन् ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा बाढीले आजित, सर्पदंशले त्रसित भन्ने शीर्षकमा मनोहर पोखरेलको समाचार छापिएको छ। बाढीले प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेपछि सप्तरीवासी थप त्रसित बनेका छन्। घरमा पानी पसेर बस्न, सुत्न र खान समस्या भइरहेको बेला सर्पदंशको शिकार हुनुपरेपछि पीडितहरु झन् समस्यामा परेका छन्।

-सात सय घर पहिरोको जोखिममा भन्ने शीर्षकमा मीना बुढाथोकीको समाचार छापिएको छ। लगातारको वर्षासँगै जिल्लामा पहिरोको जोखिम बढेको छ। पहिरोकै कारण यहाँका सात सय घर उच्च जोखिममा छन्। कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला, कोटबारा, बनगाडकुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदालेलगायतका दर्जनौं बस्तीका सात सय घर पहिरोको जोखिममा रहेको भूसंरक्षण कार्यालयले जनाएको छ।

नागरिक
-आजको नागरिकमा सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति भन्ने शीर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ। अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ। सडक विभागको प्रारम्भिक तथ्यांक अनुसार देशभर तीन दर्जनभन्दा धेरै सडक र चारवटा पुलमा सडक र पुलपुगेको छ।

-बाढीले निर्माणाधीन सिमेन्ट उद्योगमा ठूलो क्षति भन्ने शीर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। मध्यरातमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा करोडौंको क्षति पुगेको छ। आइतबार रातभरको वर्षासँगै मलेखु खोलाको बहाव बढेपछि सिमेन्ट उद्योगमा क्षति पुगेको हो। खोलाले उद्योगमा रहेको एउटा स्काभेटर, दुइटा जिप, र दुइटा टिप्पर बगाएको छ भने निर्माणका क्रममा प्रयोग हुने सबैजसो मेसिनरी सामान बगाएको छ।

-पहाडी गाउँमा पनि भारतीय तरकारी र फलफूलको बिगबिगी भन्ने शीर्षकमा गिरिराज बाँस्कोटाको समाचार छापिएको छ। ताप्लेजुङको फुरुम्बोगढी बजारमा बिहानको खाजा खाने क्रममा कसैले थप खुर्सानी र प्याज माग्यो। तिनैमध्येका धर्म पौडेलले टिप्पणी गरे, ‘यो सब भारतकै त होला नि ?’ होटल साहुनीले जवाफ फर्काउँदै भनिन्, ‘गाउँमा त कसले रोप्छ र रु काम गर्ने मान्छे हुनुप(यो नि १ गाडीले ल्याउँछ, सस्तो पनि पर्छ।’

-बाढीले बेहाल भन्ने शीर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ। तीन महिनाअघि रोजगारीका लागि परदेश ९पञ्जाब० पुगेका कल्याणपुर नगरपालिका–३ इटारीपर्साहीका रामभरोस कापडी सबै ठिकठाक भइदिएको भए कात्तिक महिनामा घर फर्किन्थे। तर उनी चार महिना पहिला सोमबार नै घर फर्किएका छन्। उनी यसरी अपर्झट घर फर्किनुको काण हो, कमला नदीमा आएको बाढीले मच्चाएको विनाश, जसको चपेटमा उनको छाप्रो पनि परेको छ।

-भारतीय मिचाइले बिचल्ली भन्ने शीर्षकमा जितेन्द्रकुमार झाको समाचार छापिएको छ। भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।

ताजा समाचार

सम्बन्धित समाचार