भोटेकोशी बाढी प्रभावः भासियो पृथ्वी राजमार्ग

१४ भदौ, काठमाडौँ ।

भोटेकोशी बाढीले त्रिशूली नदी किनारा क्षेत्रको कटान तीव्र भइरहेका बेला पृथ्वी राजमार्ग क्षेत्रको कृष्णभीर खडक खण्ड भासिएको छ ।

आज विहान (१४ भदौमा) धादिङको बेनीघाट रोराङ गाउँपलिका–७ मा करिब १ सय मिटर लम्बाइ र ९ मिटर चौडाइ राजमार्ग भासिएको हो । आसपासका अन्य भेगमा पनि सडक भासिने क्रम जारी रहेको पृथ्वी राजमार्ग अन्र्तगत मुग्लिङ–मलेखु खण्ड निर्माण योजनाले जनाएको छ ।

सो आयोजनाका इञ्जिनियर धीरज ढकालका अनुसार गेग्य्रानसहितको तीव्र बहावले त्रिशूली नदीको दायाँ–बायाँको क्षेत्र कटान भइरहेको छ । सडक किनाराको नाली समेत भासिएकाले क्षति झनै बढ्न सक्ने उनले बताए ।

पृथ्वी राजमार्गको यो क्षेत्रमा २०५७ सालमा ठूलो पहिरो झरेपछि कृष्णभीर खण्डलाई निकै जोखिम मानिन्थ्यो । पहिरो रोकथामका लागि वायोइञ्जिनियरिङसहित विभिन्न उपाय खोजी गर्दा दिगो हुन नसक्ने विज्ञहरूको ठहरपछि त्रिशूली किनाराबाटै पर्खाल उठाएर पहिरो रोकथाम गरिएको थियो ।

यससँगै राजमार्गको माथिल्लो भेगका विभिन्न खण्डमा समेत पर्खाल बनाएर वायोइञ्जिनियरिङ र भू–प्राविधिक प्रविधि प्रयोग गरिएपछि पहिरो रोकथाम भएको थियो । पहिरो रोक्न यो विधि प्रभावकारी भएपछि अन्यत्र समेत उदाहरणका रूपमा स्मरण गर्ने गरिएको विज्ञहरू स्मरण गर्छन् ।

पानीका स्रोतको निकास, भीरलाई खस्न नदिन सतह संरक्षण, घाँस र अन्य वनस्पतिको प्रयोग गरिएको थियो । विगतका वर्षहरूमा त्रिशूलीको जलप्रभाह कृष्णभीरको पहिरोको फेदमा नपरेकाले राजमार्गमा कुनै समस्या नदेखिएको विज्ञहरूको ठहर छ ।

यसैबीच पृथ्वी राजमार्गको यो खण्ड भासिएपछि सवारी आवागन प्रभावित भएको छ । कृष्णभीर क्षेत्रको सडक पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन असम्भव भएपछि सवारी साधन वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ जान थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालय काठमाडौँबाट बाहिरिने ठूला सवारीलाई काठमाडौँ–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जाने व्यवस्था गरिएको छ । माइक्रोबस र साना सवारीलाई दक्षिणकाली फर्पिङको बाटो प्रयोग गर्ने विकल्प दिइएको सुरक्षा निकायले जनाएको छ ।

लक्ष्मण काकी/प्रशिक्षार्थी

ताजा समाचार

सम्बन्धित समाचार