२४ जेठ, चितवन।
पछिल्लो समय संरक्षित क्षेत्रभन्दा बाहिरी स्थानमा रहेका साना वनमा बाघ भेटिन थालेका छन् ।
कहिल्यै बाघ नभेटिएका ठाउँमा बाघ भेटिन थालेपछि विज्ञले यसलाई बाघले आफ्नो वासस्थान विस्तार खोजेकोे अर्थमा बुझेका छन् ।
वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछाने पछिल्लो समय तराईमा रौतहटदेखि सर्लाहीसम्म, पूर्वमा इलाम, पश्चिममा रूपन्देहीको सैनामैना, बुटवल पश्चिमको चुरे क्षेत्र, कपिलवस्तु, सुदूरपश्चिमको डडेलधुराको महाभारत पर्वतसम्म बाघ भेटिएको बताउँछन् ।
‘विभिन्न अध्ययनले बाघ आफ्नो प्रमुख वासस्थान क्षेत्रभन्दा बाहिर नयाँ स्थानमा पुगेको देखिन्छ,’ उनले थपे, ‘यो भनेको बाघले आफ्नो सन्तान ‘डिस्परसल’ (फैलाउने) क्रमको अवस्था हो ।’ बाघ आफैँमा पनि ‘डिस्परसल’ जनावर हो । माउबाट छुट्टिएपछि बाघले आफ्नो नयाँ वासस्थान खोज्छ । विज्ञहरूका अनुसार यसरी नयाँ वासस्थान खोज्ने क्रममा पोथी आमाको नजिकै बस्छ भने भाले टाढासम्म पुग्छन् ।
सन् २०२० मा डडेलधुरामा भेटिएको बाघ सन् २०२२ को बाघ गणनामा पनि सूचीकृत भएको थियो । यो बाघका लागि नयाँ क्षेत्र हो । चुरे सर्वेक्षणका क्रममा बुटवल पश्चिमको चुरे क्षेत्रमा पनि बाघ भेटियो ।
इलाममा भेटिएको बाघ भारतको दार्जलिङबाट आएको हुन सक्ने अनुमान डा. लामिछानेको छ । दार्जलिङ क्षेत्रमा सिंहलीला वन्यजन्तु संरक्षण केन्द्र छ । हालै सर्लाहीमा भेटिएको बाघको पन्जाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डा. लामिछानेले बताए ।
सन् २०२२ को गणनामा नेपालमा बाघको संख्या ३ सय ५५ रहेको छ । जस अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् । यस वर्ष बाघको गणना भइरहे पनि विवरण सार्वजनिक भएको छैन ।
सन् २०१० मा रूसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । बाघ सम्मेलनअघि नेपालमा १ सय २१ बाघ रहेकामा अहिले सो संख्या दोब्बरले वृद्धि भएको छ । प्रतिबद्धता अनुसार बाघको वृद्धि भए पनि संरक्षण र वासस्थानमा उल्लेखनीय सुधार नहुँदा बाघ नयाँ क्षेत्रको खोजी गर्न बाध्य भएको छ ।
बाघकै विषयमा विद्यावारिधि गरिरहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बाघको ‘डिस्परसल’ लाई स्वाभाविक मान्छन् । ‘जब बाघ हुर्किएर आमालाई छाड्ने अवस्था हुन्छ उसले नयाँ स्थान खोज्नैपर्ने हुन्छ । यसरी नयाँ ठाउँको खोजीमा बाघ संरक्षित क्षेत्रभन्दा बाहिर आउने गरेका हुन्,’ उनले थपे, ‘यसरी बाहिर गएका बाघ आहारा पाए उतै बस्छन् नपाए पुरानै वासस्थानमा फर्कने उदाहरण प्रशस्त भेटिएका छन् ।’
नेपाल प्रकृति संरक्षण कोष सौराहाको एक तथ्यांक अनुसार पछिल्लो २ वर्षको अवधिमा निकुञ्जबाट बाहिरिने ८ वटा बाघलाई नियन्त्रणमा लिएर निकुञ्जमै फर्काइएको छ ।
कतिपय अवस्थामा निकुञ्जभित्रका बाघ एकआपसमा जुधेर घाइते अवस्थामा पनि नयाँ क्षेत्रमा पुग्ने गरेका भेटिन्छन् । सामान्य अवस्थामा भाले बाघ ४० देखि ४५ वर्ग किलोमिटर र पोथी २५ देखि ३० वर्ग किलोमिटर क्षेत्रफलवरिपरि आहाराको खोजीमा घुम्छ । संरक्षित क्षेत्रमा बढ्दो अतिक्रमण, मानवीय चापका कारण संरक्षित क्षेत्रभन्दा बाहिर बाघ आएको हुन सक्ने विज्ञ औँल्याउँछन् ।
बाघको आहार प्रजातिलाई जोगाउन घाँसे मैदान प्रशस्त आवश्यक पर्छ तर पछिल्लो समय निकुञ्जभित्र घाँसे मैदान मासिँदै गएको छ । बाघका प्रमुख आहार प्रजातिमा जरायो, चित्तल, लगुना र रतुवा गरी चार प्रकारका मृग पर्छन् ।
यसबाहेक गौरीगाई, बँदेल, निलगाई तथा बाँदर पनि बाघका आहार प्रजातिका रूपमा रहेका छन् । निकुञ्जको क्षयीकरणले घाँसे मैदान मासिँदै जाँदा बाघको आहाराजन्य जनावर घट्दा बाघ नयाँ क्षेत्रमा विस्तार हुन बाध्य भएको विज्ञ बताउँछन् ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ । जेठ १ गतेदेखि सुरू गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो । चितवन निकुञ्जका अनुसार सर्वेक्षणका लागि ९ वटा समूह गठन गरी २० दिनसम्म २ वटा हात्ती प्रयोग गरिएको थियो । प्रत्येक हात्तीमा ३ जनाका दरले प्राविधिक जनशक्ति परिचालन गरिएको थियो ।
वसन्त पराजुली/गोरखापत्र दैनिक





