पत्रपत्रिकामा आजः तराईमा सुक्न थाले चापाकल, आहाराका आधारमा बाघको सङ्ख्या

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा विकराल बन्दै विषादी भन्ने शीर्षकमा दिनेश गौतमको समाचार छापिएको छ। तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन्। तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ। विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्।

नागरिक
-आजको नागरिकमा तराईमा सुक्न थाले चापाकल भन्ने शीर्षकमा मोहम्मद हबिबको समाचार छापिएको छ। जमिनमा पानीको सतह घटेसँगै भैरहवालगायत तराई क्षेत्रमा पानीको त्रास बढेको छ। २४सै महिना पानी आउने धारा, चापाकल, बोरिङलगायतमा कहीँ पानी आएको छैन भने कहीँ मुस्किलले आइरहेको बताइएको छ। मापदण्डविपरीत मेसिन प्रयोग गरी पानी निकाल्ने गरेकाले चापाकलमा पानी सुक्दै गएको छ। अनधिकृत रूपमा सञ्चालनमा रहेका बोरिङलाई सरोकारवाला निकायले ध्यान दिई नियन्त्रण गर्नुपर्ने भए पनि सिद्धार्थनगरभित्र त्यस्तो केही प्रक्रिया अघि बढेको छैन।

-उत्पादन, किसान र खेती क्षेत्रफलमा काभ्रे अगाडि भन्ने शीर्षकमा मधुसुधन गुरागाईंको समाचार छापिएको छ। केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।

-भार बोकेका सयौं सवारी बाटैमा अलपत्र भन्ने शीर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ। पोखरा प्रवेशको मुख्य नाका विजयपुर खोलाको डाइभर्सन बाढीले बगाउँदा भार बोकेर भित्रिँदै गरेका सयौं ट्रक सडकमै अलपत्र परेका छन्। पक्की पुल कमजोर भएपछि केही महिनाअघि खोलामा डाइभर्सन बनाएर गह्रौ सवारीसाधनलाई वारपार गराइँदै आएको थियो। त्यही डाइभर्सन पनि खोलाले बगाएपछि गह्रौ सवारी लेखनाथ क्षेत्रमा रोकिएका छन्।

गोरखापत्र
-आजको गोरखापत्रमा आहाराका आधारमा बाघको सङ्ख्या भन्ने शीर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ। नेपालमा पहिलोपटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको हो। विश्वका अन्य क्षेत्रका घना जङ्गलमा संरक्षित वन्यजन्तुको सहायता गर्ने गरिन्छ।

-तीन दसकमा पनि फेला परेन कमलपोखरीको मिचिएको जग्गा भन्ने शीर्षकमा सरोज आचार्यको समाचार छापिएको छ। कमलपोखरीको मिचिएको जग्गालाई पोखरीमा कायम गराउने कार्य ३२ वर्षदेखि अल्झिएको छ । तत्कालीन राजा वीरेन्द्रबाट २०४३ असोज १६ गते प्रमुख सचिव रञ्जनराज खनाललाई कमलपोखरीको मिचिएको जग्गा तीन महिनसम्म पोखरीको कायम गर्न गराउन हुकुम भएको थिय । तीन महिना त के तीन दशकपछि पनि पोखरी अझै मिचिएकै अवस्थामा छ। यति नै बेला काठमाडौँमा हराएका अन्य चार पोखरी खोज्न पनि तत्कालीन राजा वीरेन्द्रले सचिव खनाललाई हुकुम गरेका थिए। यी पोखरी पनि पत्तो लागेको छैन।

ताजा समाचार

सम्बन्धित समाचार