काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा रोपोमै कुद्यो डोजर भन्ने शिर्षकमा वसन्तप्रताप सिंहको समाचार छापिएको छ। खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।
-जामको विकल्प किनारैकिनार भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। राजधानीका मुख्य सडकमा साँझ र बिहान सवारीसाधनको ताँती लाग्छ । सबैलाई बिनाजाम गन्तव्यमा पुग्ने हतारो हुन्छ । सवारी जामले वाक्क राजधानीवासीका लागि अहिले नदीकिनारका सडक उपयुक्त विकल्प बनेका छन् । वाग्मती, विष्णुमती, धोबीखोला र हनुमन्ते खोलाका दुवै किनारमा सडक निर्माणाधीन छन् ।
-पार्किङ न फुटपाथ भन्ने शिर्षकमा माया श्रेष्ठको समाचार छापिएको छ। अनामनगरदेखि हनुमानस्थान जाने सडक खण्डमा हिँडै थिइन् बच्चा बोकेर गुल्मीकी सुष्मा ढकाल । बबर महलमा काम गर्ने भएकाले दैनिक यही बाटो हिँड्ने गर्छिन उनी । ‘पैदलयात्रु हिँड्ने बाटो भरि पार्किङ गर्छन्’ उनी भन्छिन्, ‘हामी सडकछेउ डराइडराई हिँड्नुपर्छ ।’
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा खोइ विकास वातावरण ? भन्ने शिर्षकमा डा. गोविन्दबहादुर थापाको समाचार छापिएको छ। समृद्धि हासिल नगरी नछोड्ने संकल्प हो भने यतिखेर देशको माहोल अर्कै हुनुपर्ने थियो। राजनीतिक विषय गौण भएर विकास र त्यसका समस्याका बारेमा सघन चर्चापरिचर्चा, छलफल र बहसले बजार तात्नुपर्ने थियो। वर्षौंदेखि विकासको बाटो छेकिरहेका अनगिन्ती वाधक तत्व पन्छाउने उपायको खोजी, अर्थतन्त्रका समष्टिगत, क्षेत्रगत नीति तथा योजनाको एकपछि अर्को तर्जुमा र घोषणा भइरहेको हुने थियो। सर्वत्र निर्माण र विकासकै चर्चा हुनुपर्ने हो तर वातावरण त्यस्तो छैन।
-साँघुरो पुलले सास्ती भन्ने शिर्षकमा अनिल ढकालको समाचार छापिएको छ। नारायणगढ–मुग्लिन सडक स्तरोन्नति भए पनि पुल निर्माण भएको छैन। सडक पुनर्निर्माणलगत्तै बनाउने भनिएको १५ वटा पुल कहिले बन्ने भन्ने टुंगो लागेको छैन। पुल निर्माणका लागि अझै टेन्डर निकालिएको छैन। सुरुमा १४ वटा पुलको कुरा भए पनि पछि एउटा थपिएको हो। बाटो निर्माण एक वर्षअघि सम्पन्न भएको हो। तर, पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम बढेको छ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा खानेपानीको धारामा २२ घन्टा ताला भन्ने शिर्षकमा समाचार छापिएको छ। यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो । २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन् । गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ । बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ । प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ । स्थानीय चेतबहादुर श्रेष्ठका अनुसार यो अहिलेको होइन, १४ वर्षदेखिको नियति हो । कुनै घरमा विवाह हुँदा वा मृत्यु हुँदा मात्रै थप दुई घन्टा धारो खोलिन्छ ।
-प्रदेश १ मा १८ प्रतिशत मात्र रोपाइँ भन्ने शिर्षकमा उत्तम पोखरेलको समाचार छापिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारीका डिल्लीबहादुर खड्को खेतमा गत वर्ष यतिवेला धान लहलह भइसकेको थियो । पोहोर यतिवेला रोपिएको धान गाबो हालेर हरियो पलाएर राम्रो देखिन्थ्यो । तर, यसपटक भने उनको खेत अहिलेसम्म बाँझै छ । ब्याडमा राखेको बिउसमेत छिप्पिइसकेको छ । तर, अझै पनि धान रोप्न पाउने कुनै छाँटकाँट देखिएको छैन ।
नागरिक
आजको नागरिकमा पानी नपर्दा गर्मी असह्य भन्ने शिर्षकमा समाचार छापिएको छ। समयमै मनसुन सुरु नहुँदा गर्मी ह्वात्तै बढेको छ। गर्मीले तराई मधेसका साथै पहाडी क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ। असार सकिन लाग्दा पनि वर्षा सुरु नभएपछि विराटनगरलगायत पूर्व तराईका बासिन्दाले अत्यधिक गर्मीको सामना गर्नुपरेको छ।





