काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा एक अर्ब घोटाला भन्ने शिर्षकमा विकास थापाको समाचार छापिएको छ। मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको पाइएको छ। आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको हो।
राजधानी
-आजको राजधानीमा मल अभावको प्रभाव उत्पादनमा पर्ने भन्ने शिर्षकमा कौशिला कुँवर को समाचार छापिएको छ। सरकारले बजारमा रासायनिक मल अभाव नभएको दाबी गर्दै आएको भए पनि रोपाइँको समयमा नै किसानले रासायनिक मलको अभाव भोगिरहेका छन् । जसको प्रभाव उत्पादनमा पर्ने भएको छ ।विज्ञहरूले समयमा रसायनिक मल उपलब्ध नहुँदा धान उत्पादनमा कमी हुने विश्लेषण गरेका छन् । वर्षौंदेखि एउटै समस्या भोग्नुपर्दा पनि सरकारको ध्यान जान नसकेको भन्दै किसान आकर्षित बन्न पुगेका छन् ।
-हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न दुई वर्ष कुर्नुपर्ने भन्ने शिर्षकमा पूजा चँदाराको समाचार छापिएको छ। हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न दुई वर्ष कुर्नुपर्ने भएको छ । विद्युत् नियमन आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिका, २०७६ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।ऊर्जा तथा जलविद्युत् आयोजना निर्माण गरिरहेका कम्पनीले प्राथमिक सेयर आईपीओ जारी गरेको दुई वर्षपछि मात्रै हकप्रद तथा थप सार्वजनिक सेयर निष्कासन गर्न पाउने भएका छन् । विद्युत् विकास आयोगले जारी गरेको सेयरको सार्वजनिक निष्कासनसम्बन्धी निर्देशिकामा हाइड्रोपावर कम्पनीलाई अनुगमन तथा नियमन गर्न विशेषखालको निर्देशिका जारी भएको आयोगले जनाएको छ ।
गोरखापत्र
-आजको गोरखापत्रमा पूर्वपश्चिम राजमार्ग पथलैया–कमला खण्ड चार लेनको बन्ने भन्ने शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ। पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्मको खण्ड चार लेनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधन र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्ग अहिले दुई लेनको मात्र छ ।
-गौतम बुद्ध विमानस्थल सौर्य ऊर्जा प्रयोगको तयारी भन्ने शिर्षकमा समाचार छापिएको छ। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋण उपलब्ध गराएको एसियाली विकास बैङ्क ९एडीबी० ले छलफल अगाडि बढाएको छ ।
कान्तिपुर
-आजको कान्तिपुरमा काट्नुपर्ने टुप्पो, फेदैदेखि डोजर भन्ने शिर्षकमा दीपक परियारको समाचार छापिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिञय विमानस्थलको उडान प्रक्रिया डिजाइनले भन्यो, ‘पूर्वपट्टिको डाँडा २५ मिटर काट्नुपर्छ ।’ विमान अवतरण गर्ने क्रममा रिठ्ठेपानी डाँडाले अवरोध पुर्याउने भएकाले काट्नुपर्ने डिजाइनमा उल्लेख थियो । टुप्पोबाट काटेर २५ मिटर उचाइ घटाउनुपर्ने भनिए पनि जग्गाधनीले फेदैबाट डोजर लगाउन सुरु गरेका छन् । अत्यधिक माटो उत्खनन र प्लटिङ गर्ने उद्देश्यले फेदैदेखि डोजर लगाइएको स्थानीयको आरोप छ ।
-सबै निकुञ्जभित्र रिसोर्ट भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। शिवपुरी–नागार्जुन निकुञ्जमा सफारी र केबलकार सञ्चालन खुलाउने तयारीको सबैतिरबाट विरोध भइरहेका बेला सरकारले देशैभरका राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र केबलकार र रिसोर्टसहितको पर्यटकीय सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिने गरी कानुनी बाटो खोल्न लागेको छ ।
-पाटन दरबार क्षेत्रमा डोजर भन्ने शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ। ललितपुरका जनप्रतिनिधिले विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा डोजर चलाएर अर्न्डरग्राउन्ड पानी ट्यांकी निर्माण गरिरहेका छन् । महानगरले पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले पठाएको रोक्का पत्रको समेत बेवास्ता गरी काम अगाडि बढाइरहेको हो ।





