पत्रपत्रिकामा आजः पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर, एउटै सडकमा तीन सरकारको बजेट

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
आजको कान्तिपुरमा बेनीवासीलाई सधैं बाढीको पीर भन्ने शिर्षकमा घनश्याम खड्काको समाचार छापिएको छ । बर्खामा म्याग्दी र कालीगण्डकी नदीमा उर्लने भेलले बेनीवासीको भोक र निद्रा खोस्ने गरेको छ । यी नदीबाट बजार क्षेत्र कटानमा पर्ने सधैंको समस्या हो। नदी नियन्त्रण गर्न बर्सेनि तटबन्ध लगाइन्छ । कुनै वर्ष ग्याभिन जालीमात्र भरिन्छ भने कहिले पक्की कंक्रिट ढलानसहितका पर्खाल बनाइन्छ । त्यस्ता तटबन्ध म्याग्दी र कालीगण्डकीको भेलले भत्काएर बगाउने गरेको छ ।

करोडौं सकियो, गाडी गुडेनन् भन्ने शिर्षकमा अगन्धर तिवारी, प्रकाश बरालको समाचार छापिएको छ । दुई दशकयता पर्वतमा करिब ३ हजार किलोमिटर ग्रामीण सडक खनियो । त्यसमध्ये १० प्रतिशत अझै पूर्ण सञ्चालनमा आउन सकेको छैन । गाउँमा सडक पुर्‍याउन स्थानीय तहले विकास बजेटको ५० देखि ८० प्रतिशतसम्म लगानी गर्दै आएका छन् ।

एउटै सडकमा तीन सरकारको बजेट भन्ने शिर्षकमा प्रताप रानामगरको समाचार छापिएको छ । एउटै सडकमा तीन तहका सरकारले बजेट विनियोजन गरी निर्माण अघि बढाएका छन् । तनहुँको धार्मिक स्थल छाब्दीबाराही मन्दिर जाने मुख्य सडक कालोपत्रेका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालु आर्थिक वर्षमा बजेट दिएका हुन् ।

वातावरणीय अध्ययनपछि मात्रै पुल भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा नयाँ पुल निर्माण हुन ढिलाइ हुने भएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार वातावरणीय मूल्यांकनसमेत गर्नुपर्ने भएपछि निर्माणमा ढिलाइ हुने देखिएको हो । यही खण्डमा रहेका चारवटा पुलको निर्माण भने अन्तिम चरणमा पुगेको छ । निर्माण हुन बाँकी अन्य पुलमा भौगोलिक बनावटले समयमै निर्माण सुरु गर्न समस्या भएको थियो । जसले गर्दा अध्ययन गर्न लामो समय लागेको थियो । सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार चिनियाँ विज्ञ टोली आएर पुलको स्थलगत अवलोकन गरेको छ ।

किसान भन्छन्– मल खोइ ? भन्ने शिर्षकमा देवनारायण साह, अमृता अनमोलको समाचार छापिएको छ । मोरङको जहदाका कृषक रजनीश सिंहले आकासे–वर्षा कम भएपछि बोरिङबाट धान रोप्न सुरु गरेका छन् । तर डीएपी मल नपाउदा उनी हैरान छन् । ‘मल नै नहाली खेत रोप्न बाध्य भएँ,’ उनले भने, ‘भारतबाट ल्याउन सुरक्षाकर्मीले अवरोध गर्छन् ।’ उनी १५ बिघा खेतमा धान खेती गर्छन् ।

गोरखापत्र
आजको गोरखापत्रमा धान उत्पादन दोब्बर बनाइँदै भन्ने शिर्षकमा सुरेशकुमार यादवको समाचार छापिएको छ । सरकार ले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ । चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो ।

देशभर पाँच करोड रूख रोप्ने अभियान भन्ने शिर्षकमा समाचार छापिएको छ । हरेक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियान थालिएको छ । सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउन सुरु गरेको छ । सोही अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले रूख रोप्ने अभियानको उद्घाटन गरे ।

रुपन्देहीमा १० प्रतिशत रोपाई भन्ने शिर्षकमा लक्ष्मण पौडेलको समाचार छापिएको छ । मध्य असार लागिसक्दा समेत रुपन्देहीमा १० प्रतिशत पनि रोपाईं हुन सकेको छैन । प्रयाप्त मात्रामा वर्षा नहुँदा र मलको अभावले किसानले रोपाईं गर्न नपाएका हुन् । जिल्लाका अधिकांश किसानको खेतमा धानको ब्याड सुक्न लागेको छ ।

राजधानी
आजको राजधानीमा अवरोधले उठेन फोहोर, संक्रमणको खतरा भन्ने शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ । सिस्डोलमा स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकामा फोहोर थुप्रिएको छ । पाँच दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आउँदा संक्रमणको खतरा बढेको छ । संक्रमणका कारण उपत्यकामा गम्भीर खालका रोग फैलन सक्ने भय बढेको चिकित्सकले बताएका छन् । उपत्यकामा फोहोर थुपिँ्रदा दुर्गन्ध फैलिएको छ । उपत्यकावासीहरु सडकमा नाक छोपेर हिँड्न बाध्य छन् ।

धान उत्पादनको लक्ष्य भेट्न मुस्किल भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । १५ असारमा देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा कृषिप्रधान देश, कृषिमै परनिर्भरता बढ्दो भन्ने शिर्षकमा कृष्ण रिजालको समाचार छापिएको छ । ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको नेपालको कृषि वस्तुमा परानिर्भरता बढ्दो देखिएको छ । खाद्यन्नदेखि तरकारी, फलफूल र काठका वस्तुको आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको ११ महिनामा कृषि तथा वनमा आधारित वस्तुमै नेपालले १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिभन्दा २२ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आव ०७५र७६को ११ महिनामा नेपालमा कृषि र वनमा आधारित वस्तुको आयात १ खर्ब ३८ अर्ब रुपैयाँबराबरको भएको थियो ।

पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर भन्ने शिर्षकमा तीर्थराज बस्नेतको समाचार छापिएको छ। पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

नेपाल समाचारपत्र
आजको नेपाल समाचारपत्र ‘हरियाली बढाउनेभन्दा नोट फलाउने वृक्ष रोपौं’ भन्ने शिर्षकमा टीका बन्धनको समाचार छापिएको छ । सामुदायिक वनको सफलताले अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम राखिरहेका बेला विज्ञहरुले सुझाव दिए, ‘नोट फलाउने वृक्ष रोपौं, हरियाली आफै बढ्छ ।’विज्ञहरुले वृक्षरोपण अभियानलाई सफल बनाउन सशक्त प्राधिकरण गठन गर्न पनि सुझाव दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार