११ भदौ, काठमाडौँ ।
भोटकोशी बाढीको जोखिम पुनः दोहोरिनसक्ने विश्लेषणहरू सार्वजनिक भइरहँदा नेपाल–चीन सीमा क्षेत्र ठूलो हिमताल बनेको तथ्य सार्वजनिक भएको छ ।
तिब्बतको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम स्थल नजिक ठूलो ताल बनेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ । सो क्षेत्रमा करिब २० लाख घनमिटर ताल बनेर सो तालबाट पानी बाहिरिन थालेको चिनियाँ पक्षले जनाएको हो ।
चिनियाँ अनलाइन ग्लोबल टाइम्सले जलस्रोत मन्त्रालयलको भनाइ उद्धृत गर्दै यस्तो बताएको हो । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालतर्फ प्रवेश गरेपछि भोटेकोशीमा मिसिन्छन् ।
आकस्मिक रूपमा बनेको तालमा पानी जम्ने क्रम जारी रहेकाले फुट्न सक्ने र नेपालतर्फ पुनः ठूलो बाढी आउन सक्ने चिनियाँ समाचार संस्थाहरूले उल्लेख गरेका छन् । उक्त तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ ।
केही दिनभित्रैमा सो ताल पुट्नसक्ने विश्लेषणहरू सार्वजनिक हुन थालेका छन् ।
तालले निम्त्याउने सम्भावित जोखिम र बाढीले पु-याएको मानवीय र भौतिक क्षतिको अवस्था बुझ्न चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको केरूङ आइपुगेका छन् ।





