काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा सूर्योदयका ५२ चिया उद्योग बन्द भन्ने शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ। हरियो पत्तीको खरिद मूल्य र लागत बढी भए पनि बिक्री मूल्य नपाएको भन्दै उद्योगीले सूर्योदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग बन्द गरेका छन्। भारतीय बजारमा तयारी चियाको मूल्य नपाए पनि उद्योगलाई नगरपालिकाले हरियो पत्तीको मूल्य बढी तिर्न बाध्य बनाएको उद्योगीको गुनासो छ।
-५० प्रतिशत भन्सार छल्न खोज्दा विटुमनका ट्रक भन्सारमा भन्ने शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ।बिटुमिन आयातकर्ताले ५० प्रतिशत भन्सार छली गर्ने नियतले इरानको विटुमिनलाई दक्षिण एसियाली स्वतन्त्र व्यापार संगठन ९साफ्टा० अन्तर्गतका मुलुकको भन्दै आयात गर्न खोजेको फेला परेको छ।
गोरखापत्र
-आजको गोरखापत्रमा प्राकृतिक प्रकोपबाट जोगिन पूर्वतयारी भन्ने शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ। मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मनसुन सक्रिय भएसँगै बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट बच्ने पूर्वतयारी तथा प्रकोपबाट पीडितको यथाशीघ्र उद्धार र राहतका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिनुभयो ।
-भक्तपुर नपाको प्राथमिकता सम्पदा संरक्षण भन्ने शिर्षकमा नगेन्द्र सापकोटाको समाचार छापिएको छ। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि दुई अर्ब १३ करोड १० लाख रुपियाँ बजेट नगरसभासमक्ष पेस गरेको छ। नगरपालिकाको पाँचौंँ नगरसभाले आगामी वर्षका लागि दुई अर्ब १३ करोड १० लाख रुपियाँ विनियोजनका लागि नगरसभामा पेस गरिएको हो । चालू खर्चतर्फ ९९ करोड ८० लाख र पुँजीगतर्फ एक अर्ब १३ करोड ३० लाख रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्षका लागि बाह्य स्रोतअन्तर्गतबाट नगरपालिकाले कुल एक अर्ब २२ करोड ४० लाख आम्दानी हुने अनुमान गरिएको छ।
राजधानी
-आजको राजधानीमा अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ भन्ने शिर्षकमा केशवप्रसाद पाण्डेको समाचार छापिएको छ। उच्चस्तरीय भूमि आयोगमा देशभरका अतिक्रमित जग्गाबारे उजुरी पर्ने क्रम बढ्दै गएको छ । औपचारिक रूपमा काम सुरु गरेको छोटो समयमा नै मुलुकभरका ६० भन्दा बढी ठाउँका महत्तवपूर्ण सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणको उजुरी परेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराईका अनुसार आयोगमा परेका अधिकांश उजुरीमा सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख छ । आयोगले जग्गाका सम्बन्धमा उजुरी माग गर्दै असार मसान्तसम्मको समय छुट्याएको छ । उजुरीबारे जाँचबुझ गरी विश्लेषण गर्ने तथा आवश्यक प्रमाण संकलन गरी छानबिनलाई अगााडि बढाउने आयोगले स्पष्ट पारेको छ ।
-साइकल वितरणमा व्यापक अनियमितता भन्ने शिर्षकमा सुजीतकुमार झाको समाचार छापिएको छ। प्रदेश २ मा मुख्यमन्त्रीद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या उच्च माध्यमिक विद्यालयमा वितरण गरिएको साइकलमा व्यापक अनियमितता भएको पाइएको छ । छोरीलाई शिक्षातर्फ आकर्षिक गर्ने उद्देश्यले कक्षा ८ मा अध्ययनरत छात्रालाई गरिएको साइकल वितरणमा सो विद्यालयले वास्तविक विद्यार्थी संख्याभन्दा बढी साइकल भिœयाएको पाइएको हो ।





