काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
राजधानी
-आजको राजधानीमा यार्सा संकलक लेकतिर गाउँ नै सुनसान भन्ने शिर्षकमा डीबी विष्टकने समाचार छापिएको छ। बझाङ जिल्लाका सुर्मा र साईपाल गाँउपालिकाका सबै गाँउ बस्तिहरु सुनसान बनेका छन् । यहाँका सबै स्थानीय यार्सा संकलन गर्न लेक तर्फ लागेपछि गाँउ बस्तिहरु सुनसान बनेका हुन्। घरमा ताला लगाएर यार्सा संकलन गर्न लेक तर्फ लागेपछि गाँउ सुनसान बनेको स्थानिय बासिन्दाले बताएका छन् । ५ बर्षका बालबालिकादेखि ६०/६५ बर्षका बृद्ध बृद्धाहरु समेत यार्सा संकलन गर्न लेक तर्फ जाने गरेका छन्। गर्भवति महिला, स साना बालबालिका र हिडडुल गर्न नसक्ने बृद्ध बृद्धा बाहेक सबै यार्सा संकलन गर्न लेक तर्फ जाने गरेका हुन्। सुर्मा गाँउपालिका–१ का प्रेम बहादुर बोहराको घरमा ११ सदस्य परिवार छ।
नागरिक
-आजको नागरिकमा ५२ चिया उद्योग बन्द गर्ने घोषणा भन्ने शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ। किसानलाई हरियोपत्तीको मूल्य दिन नसकेको भन्दै सूर्योदय नगरपालिकाका उद्योगीले चिया प्रशोधन उद्योग बन्द गर्ने घोषणा गरेका छन्। स्थानीय सरकारले तोकेको हरियोपत्तीको न्यूनतम् मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएको भन्दै उनीहरूले बिहीबारदेखि सबै उद्योग बन्द गर्ने निर्णयसमेत गरेका हुन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा माथिल्लो तामाकोसीको ठाडो सुरुङमा पेनस्टक जडान सक्न अझै ८ महिना भन्ने शिर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङ ९भर्टिकल साफ्ट०मा पेनस्टक पाइप जडान कार्य सुरु भएको छ । सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप राख्ने काम भएसँगै आयोजना थपिएको समयसीमाभित्रै सम्पन्न हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
कान्तिपुर
-आजको कान्तिपुरमा सामुदायिक वनको अधिकार खोसिँदै भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। विश्वमै ख्याति कमाएको मुलुकको सामुदायिक वनका अधिकार कुण्ठित हुने गरी सरकारले वनसम्बन्धी नयाँ ऐन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारले गत महिना संघीय संसद्समक्ष पेस गरी समितिमा छलफलका क्रममा रहेको ‘वनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा सामुदायिक वनका अधिकार र अभ्यासलाई संकुचन गर्ने प्रस्ताव छ ।
-७ सम्पदालाई खतरा सूचीमा राख्ने युनेस्कोको प्रस्ताव भन्ने शिर्षकमा समाचार छापिएको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौं उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ । प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औं सेसनमा छलफल हुने भएको छ ।
-भूकम्पपीडितका घरमा चौपाया भन्ने शिर्षकमा नगेन्द्र अधिकारीको समाचार छापिएको छ। चौरीदेउराली ९ का तेजबहादुर तामाङले भूकम्पमा क्षति भयो भन्दै आवास अनुदान लिएको घर स्थानीय अनिल गौतमलाई भाडामा दिएका छन् । गाउँपालिकाको केन्द्र ढाडखर्क नजिकै होटल चलाउन अनिल तेजबहादुरको घरमा डेरा लिएर बसे । पुरानो कच्ची घरको तल्लो तला भाडामा लगाएका तेजबहादुर माथिल्लो तलामा बस्छन् ।
-कीर्तिपुरमा ‘एक घर दुई बिरुवा’ भन्ने शिर्षकमा समाचार छापिएको छ। कीर्तिपुर नगरपालिकाले नक्सापास गराउँदा घरमा कम्तीमा दुईवटा बिरुवा रोप्नुपर्ने नीति ल्याउने भएको छ । मंगलबार पाँचौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा यसबारे उल्लेख छ । वन वातावरण तथा विपद् र पुनर्निर्माण कार्यक्रमअन्तर्गत वृक्षरोपण पनि रहेको र निजी आवास निर्माणका क्रममा पनि यसलाई अनिवार्य गरिने उपमेयर तथा नगरकी प्रवक्ता सरस्वतीखड्काले जानकारी दिइन् ।
गोरखापत्र
-आजको गोरखापत्रमा पदमार्गले जोडिँदै दुई ऐतिहासिक गढी भन्ने शिर्षकमा दीपक श्रेष्ठको समाचार छपिएको छ। नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुर गढी र सिन्धुलीगढी अब पदयात्रीका लागि जोडिने भएका छन् । दुई गढीलाई पदमार्गले जोड्दै पर्यटक तान्ने योजना बनेपछि ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएपछि स्थानीयमा उत्साह छाएको छ ।





