पत्रपत्रिकामा आजः विद्युत् आयोजनाको पाइप गाड्दा एक किमि खोला पुरियो, मूल सडकसँगै डम्पिङ-साइड

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा धानबालीलाई मनसुन प्रतिकूल भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ। धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने भएको छ। यस वर्ष आवश्यकभन्दा कम वर्षा हुने देखिएको छ। रासायनिक मल पनि पर्याप्त उपलब्ध नभएको अवस्थामा मनसुनी वर्षा पनि अनुकूल नहुँदा कृषि उत्पादनमा असर पर्ने देखिएको छ।

-सडकको डिजाइनको त्रुटि सच्याइने भन्ने शिर्षकमा निर्दोष घोरसाइनेको समाचार छापिएको छ। सरकारले कलंकी–काटेश्वर सडक निर्माण गर्दा डिजाइनमा भएको त्रुटि सच्याउने भएको छ। साढे ९ किलोमिटरको यो सडक निर्माण गर्दा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको थिएन। चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ। आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार विस्तारित चक्रपथमा डिभाइडर निर्माण नगरिएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेको बताए।

-अनुदानको चामल बाटोमै बिक्री भन्ने शिर्षकमाजीवन सेजुवालको समाचार छापिएको छ। नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै बिक्री केन्द्र मुगुका लागि आउने अनुदानको चामल बीचबाटोमै बिक्री हुने गरेको छ। डिपोबाट बिक्री हुनुपर्ने अनुदानको चामल डिपो नै नपुर्‍याई बीचैमा बेचिन थालेपछि मुगुवासीले चामल नपाएको गुनासो गरेका छन्। मुगुका लागि आएको चामल सोरु गाउँपालीका–८ बाट हुम्ला अदानचुली गाँउपालिकाका बासिन्दालाई बेच्ने गरिएको हो।

-गैंडा अध्ययन गर्न विदेशी विज्ञ भन्ने शिर्षकमा काजी श्रेष्ठको समाचार छापिएको छ। गैंडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले भार क्षमता ९क्यारिङ क्यापासिटी० अध्ययन गर्ने भएको छ। यसका लागि अफ्रिकाबाट दुई विशेषज्ञ आइतबार आउँदै छन्। अफ्रिकाका डा। रिचर्ड र डा। केरिनले एक साता नेपाल बसेर अध्ययन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए।

नागरिक
-आजको नागरिकमा मूल सडकसँगै डम्पिङ–साइड भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छपिएको छ। ‘नीलकण्ठ नगरपालिकामा हार्दिक स्वागत छ,’ धादिङ सदरमुकाम नीलकण्ठ नगरपालिकाको प्रवेशद्वारसँगै यस्तै शब्दसहितको होर्डिङ बोर्डका राखिएको छ। तर त्यसैको एक घुम्ती पर छ नगरपालिकाको डम्पिङ–साइट (फोहोर फाल्ने ठाउँ), जहाँ पुग्नासाथ यत्रतत्र छरिएको फोहोरका डंगुर, भुनभुनाइरहेका कीरा–फट्याङग्रा र दुर्गन्घले आगन्तुकलाई राम्रै स्वागत गर्छन्।

-नहर पुरेर सडक भन्ने शिर्षकमा मदन ठाकुरको समाचार छपिएको छ।  सरकारले कृषिलाई प्राथमिकता दिए पनि सांसदले नहर पुरेर सडक बनाएको पाइएको छ । रौतहट–४ प्रदेश ‘ख’ का सांसद सेख फुलबाबु भनिने अब्दुल कलाम आजादले आफ्नै गाउँछेउको नहर उपभोक्ता समितिमार्फत पुरेर सडक बनाएका हुन् । गढीमाई नगरपालिका–३ र ४ जोड्ने बाग्मती सिँचाइ आयोजनाको ३२ फिट चौडा नहर पुरेर रामरहिम जल उपभोक्ता समितिमार्फत सडक बनाइएको हो । करिब १२ सय मिटर नहरलाई पुरेर सडक बनाइएको छ ।

कान्तिपुर
-आजको कान्तिपुरमा सडक बनाउने बहानामा ढुंगा बिक्री भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छपिएको छ। थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।

-रेलको टिप्पणीप्रति चीन असन्तुष्ट भन्ने शिर्षकमा लक्ष्मी लम्सालको समाचार छपिएको छ। केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरूप्रति चीनले असन्तुष्टि जनाएको छ । केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन् ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा विद्युत् आयोजनाको पाइप गाड्दा एक किमि खोला पुरियो भन्ने शिर्षकमा विष्णु शर्माको समाचार छपिएको छ। दैलेखको नौमूले गाउँपालिकामा निर्माणाधीन पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला पुरिएको छ । नौमूलेदेखि भुरुंगेसम्मको सडकको भित्ता साइडबाट पाइप बिछ्याउँदा जंगलमाथिको सबै भाग पहिरोको रूपमा खसेको छ । पहिरो पन्छाउननजिकै रहेको खोला प्रयोग गरेर सबै ढुंगामाटो फालेपछि खोला पूर्ण रूपमा पुरिएको हो । दोल्ती पावर कम्पनीले ७२ करोड रुपैयाँ लागतमा चार दशमलव पाँच मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजना निर्माण गर्दै छ ।

-हुरीले उडाएको दुई सातासम्म विपन्नको घरले पाएन छानो भन्ने शिर्षकमा तेजराज भट्टको समाचार छपिएको छ। धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘सी’ गाउँ शान्तिटोलका नरबहादुर विकको घर दुई सातादेखि छानोविहीन छ । २३ जेठमा हावाहुरीले उडाएको छानो छाउन उनीसँगै पैसा छैन । राज्यले सहयोग गरेन । नरबहादुरको चारजनाको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको छ ।

नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा बढ्यो बाढी र डुबानको खतरा भन्ने शिर्षकमा टीका बन्धनको समाचार छपिएको छ। गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

-प्रमको जिल्लामै छैन पानी भन्ने शिर्षकमा उत्तम नेपालको समाचार छपिएको छ। गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।

-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम अर्को साता सकिने भन्ने शिर्षकमा दीपेन्द्र थापाको समाचार छपिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतीको काम एक साताभित्रै सकिने भएको छ । आगामी असार १५ गतेभित्र धावनमार्गको कालोपत्र सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार