काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा कलंकी–महाराजगन्ज सडक विस्तारको डिपिआर दशैँअघि सकिने भन्ने शिर्षकमा विजय कार्कीको समाचार छापिएको छ। आठ दशमलव दुई किलोमिटर कलंकी–महाराजगन्ज चक्रपथ विस्तार परियोजनाको डिपिआर आगामी दसैँअघि नै सकिने भएको छ । काठमाडौं चक्रपथ सुधार योजनाले डिपिआरको काम जारी रहेको जनाउँदै सडकको मध्यभागबाट दायाँबकायाँ ३१ मिटरभित्रका भौतिक संरचना हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । गत मंगलबार सूचना निकालेर १५ दिनभित्र संरचना हटाउन आग्रह गरेको बताउँदै आयोजनाका प्रमुख अमृतमणि रिमालले सूचनाअनुरूप संरचना नभत्काए स्थानीय निकायसँग समन्वय गरेर भत्काइने जानकारी दिए ।
-पाँच वर्षभित्र जुम्लाका सबै सडक पक्की बनाइने भन्ने शिर्षकमा मानदत्त रावलको समाचार छापिएको छ। जुम्लाको सिञ्जा गाउँपालिकाले पाँच वर्षभित्र गाउँपालिकाभित्रका सबै भित्री सडकसमेत कालोपत्रे गर्ने योजना बनाएको छ । गत वर्ष गाउँपालिकाका अधिकांश गाउँ जोड्ने गरी सडक ट्र्याक खोलिएको थियो भने यो वर्ष ती अधिकांश सडक ग्राभेल गरिएका छन् । केही सडक भने कालोपत्रे गर्ने काम पनि सुरु भएको छ । अहिले १४ लाख २४ हजार रुपैयाँको लागतमा वडा नम्बर २ देखि गाउँपालिका कार्यालय जोड्ने सडक धमाधम पक्की गर्ने काम भइरहेको छ । यो वर्ष १ सय ८० मिटर सडक पक्की गरिनेछ । बाँकी काम भने अर्को वर्ष हुनेछ । गाउँपालिकाका प्रवक्ता नवीन शर्माका अनुसार सबै बस्ती सडकले जोडिएका छन् । पाँच वर्षभित्र सबै गाउँ–बस्ती जोड्ने सडक पक्की बनाइसक्ने योजना छ ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा खानेपानी संकट टार्न डिप बोरिङ भन्ने शिर्षकमा प्रदीपचन्द्र राईको समाचार छापिएको छ। भोजपुुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाले खानेपानीको संकट टार्न डिप बोरिङमार्फत समस्या समाधान गरेको छ। वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेका थिए। गाउँ खाली हुने भएपछि नागरिकका लागि गाउँपालिकाले बोरिङ गरेर खानेपानी निकालेको हो।
-चिलिमे भवन निर्माण विवादमा भन्ने शिर्षकमा राजु बास्कोटाको समाचार छापिएको छ। वर्षको सय मेगावाट बराबरको विद्युत् आयोजना निर्माण गर्न सक्ने आर्थिक हैसियत भएको चिलिमे जलविद्युत् कम्पनीले काठमाडौंस्थित आफ्नो मुख्यालय बनाउन गरेको प्रयास विवादमा परेको छ। उक्त भवन बने छिमेकीका घरलाई असरपर्ने भन्दै विरोध भएको छ। उसले छिमेकीको सहमतिबिनै घर निर्माण प्रक्रिया अघि बढाएपछि विवाद उत्पन्न भएको हो।
कान्तिपुर
-आजको कान्तिपुरमा अझै २० वटा तुइन भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रै विस्थापन गर्ने घोषणा गरेको चार वर्ष हुनै लाग्दा पनि विकट केही स्थानका बासिन्दा तुइनमै झुन्डिएर नदी वारपार गरिरहेका छन् । स्थानीय पूर्वाधार विभागका अनुसार २० वटा तुइन विस्थापन गर्न बाँकी छ ।
-चिया राजधानीमा कफी विस्तार भन्ने शिर्षकमा विप्लव भट्टराईको समाचार छापिएको छ। चियाको राजधानीका रूपमा चिनिने इलाममा उस्तै पेय पदार्थ कफीको विस्तार भइरहेको छ । कफी खेती प्रवर्द्धनका लागि सरकारीस्तरबाट खासै कार्यक्रम नभए पनि कृषकहरूले बर्सेनि खेती विस्तार गरिरहेका हुन् । निजी जग्गामा कफी रोप्ने बढ्दै छन् । सामूहिक रूपमा कम्पनी नै दर्ता गरेर एउटा फर्मले सदरमुकाममा खेती गरिरहेको छ ।
राजधानी
-आजको राजधानीमा सम्झौता नगर्ने भूकम्पपीडित अनुदान सूचीबाट हट्दै भन्ने शिर्षकमा टेनिस रोकाको समाचार छापिएको छ। सम्झौता गरेर पहिलो किस्ता नबुझी बसेका भूकम्पपीडित सरकारी सहुलियत अनुदानबाट बञ्चित हुने भएका छन् ।सरकारले असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडितको नामावली लाभग्राही सूचीबाट हटाउने जनाएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ६० हजारभन्दा बढी लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गर्न बाँकी नै छ । असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता नलिए उनीहरू सुविधाबाटै बञ्चित हुने भएका छन् ।
-सामग्री नहुँदा विकासका काम रोकियो : सांसद भन्ने शिर्षकमा सविन शर्माको समाचार छापिएको छ। सत्तारुढ दलकै प्रतिनिधिसभा सांसदले सरकारले विकास, निर्माण कार्य अघि बढाउनेगरी आवश्यक वातावरण मिलाउन नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा सांसदले विकास निर्माणका काम गर्न सामग्री सहज रूपमा नपाउँदा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।
-मेलम्ची खानेपानी आयोजनाको अधुरो कार्य सुरु भन्ने शिर्षकमा कमला अर्यालको समाचार छापिएको छ। मेलम्ची आयोजनाले इटालियन कम्पनी सिएमसीले अधुरो छोडेका विभिन्न स्थानका काम सुरु गरेकोे छ । आयोजनाअन्तर्गत सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकीे रहेको काम अघि बढाइएको आयोजना प्रमुख सूर्यप्रसाद कँडेलले बताए । जसमा सुरुङभित्रको हावा जान बनाइन लागेका तीन ‘भ्यान्टिलेसन’मध्ये अहिलेसम्म एउटा मात्रै बनेको थियो । दुईवटा बन्न बाँकी रहेको थियो । सोही काम अघि बढेको हो । त्यसैगरी, ८८५ मिटर सुरुङमा ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
-त्रियुगा नदी कटान नियन्त्रण गर्न बाँध निर्माण भन्ने शिर्षकमा ईश्वर तामाङको समाचार छापिएको छ। उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाभित्र त्रियुगा नदी नियन्त्रणको काम तीव्र गतिमा भई रहेको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर १२ स्थित गाईघाटको बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झन्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण कार्य सुरु भएको छ ।





