पत्रपत्रिकामा आजः खानेपानी मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा, चौपायाले हैरान

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा खानेपानी मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा भन्ने शिर्षकमा भुवन शर्माको समाचार छापिएको छ। खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन्। भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ।

-असजिलो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भन्ने शिर्षकमा भुवन शर्माको समाचार छापिएको छ। स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान भएको छ। योसँगै आयोजना चाँडै पूरा हुनेतर्फ लागेको छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार पाइप जडान गरिएको हो। तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घन्टा लागेको थियो।

कान्तिपुर
-आजको कान्तिपुरमा भारतमा अत्यधिक गर्मी: ‘लू’ र इन्सेफ्लाईटिसले २०० भन्दा बढीको मृत्यु भन्ने शिर्षकमा सुरेशराज न्यौपानेको समाचार छापिएको छ। अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ। उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन्।

-चौपायाले हैरान  भन्ने शिर्षकमा लिला श्रेष्ठको समाचार छापिएको छ। टन्टलापुर घाम । धुलाम्य सडक । सवारी साधनको चर्को आवाज । थोत्रा गाडीले फ्याँकेको धुवाँ पनि सहनै परेको छ । बेलाबेलामा मुखको माक्स हटाउँदै सिठ्ठी फुक्नै पर्‍यो। घामपानी भन्नु छैन । ट्राफिक नियमको उल्लंघन गरी सवारी हाँक्ने चालक, यात्रुले सडकमा उभिएको ट्राफिक प्रहरीलाई नै गाली गरिरहेका हुन्छन् ।सडक सुरक्षाका लागि बीचसडकमा खटिएका ट्राफिक प्रहरीको काम यत्तिमा टुंगिँदैन । सडकमा यत्रतत्र हिँडिरहेको पशुचौपायाकोगोठालो पनि लाग्नै परेको छ।

गोरखापत्र
-आजको गोरखापत्रमा पेट्रोलियम पाइप लाइन परीक्षण सुरु भन्ने शिर्षकमा लक्ष्मण दर्नालको समाचार छापिएको छ। मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बिछ्याउने कार्य सम्पन्न गरी पाइप लाइन परीक्षण ९टेस्टिङ० सुरु भएको छ । नेपाल आयल निगमले पाइप लाइनको परीक्षण सुरु गरिएको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, अहिले पाइप लाइनको हाइड्रो टेस्टिङ भइरहेको छ, विशेष गरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण हो । पाइप लाइनको परीक्षण गर्न एक महिना लाग्ने उहाँको भनाइ छ । परीक्षणपश्चात् पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ ।

-भीर मह काढ्न पहरामा भन्ने शिर्षकमा प्रदीप पन्तको समाचा। छापिएको छ। महको माग धेरै हुन थालेपछि बागलुङका एक दर्जन स्थानमा स्थानीयले जोखिम मोलेर भीर मह निकाल्ने गरेका छन् । जिल्लाको निसीखोला, बोहोरा गाउ“, देवी स्थान, रनसिङ् किटेनी, जलजला, ताराखोला, पाण्डव खानीलगायतका स्थानबाट भीर मह निकाल्ने गरिएको छ । परम्परादेखि भीर मौरीको मह निकाल्ने गरिएकोमा अहिले पनि स्थानीय बाबियोको डोरीमा बा“सको चोयाले बाँधेर अग्ला पहरामा जाने गरेका छन् ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा नेपाली भू–उपग्रह पृथ्वी परिक्रमा गर्न थाल्यो भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ पृथ्वीको कक्षमा छाडिएको छ । गत ५ जेठमा अन्तरिक्ष कक्षमा डकिङ भएको नेपाली झन्डासहितको स्याटेलाइट सोमबार अपराह्न ४ बजेर १९ मिनेटमा छाडिएको हो । नेपाली स्याटेलाइटले पृथ्वीलाई परिक्रमा गर्न थालेको छ । स्याटेलाइट प्रक्षेपणका लागि नास्टको टोलीसहित जापान पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जाक्साबाट ‘गो’ भनेपछि अन्तरिक्षमा रहेको नेपाली झन्डासहितको स्याटेलाइटले पृथ्वीको परिक्रमा लगाउन सुरु गरेको हो ।

-पर्सामा माछापालन व्यवसाय फस्टाउँदै भन्ने शिर्षकमा तिवारी यादवको समाचार छापिएको छ। पर्सामा माछा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसाय बिस्तारै फस्टाउँदै गएको छ । थोरै संख्यामा सीमित रहेको जिल्लामा अहिले व्यावसायिक रूपमै माछापालन गर्ने किसानको संख्या बढ्दै गएको छ । माछापालन गरेपछि आम्दानी राम्रो भएका कारण खेतीयोग्य जमिनमा माछापालन व्यवसाय गर्नेहरूको संख्या बढिरहेको छ । खासगरी खेती र मजदुरी गर्नेहरूको संख्या पातलिन थालेको र माछाको माग बढेपछि पोखरी खनेर माछापालन गर्नेहरूको संख्या बढेको नेपाल मत्स्य व्यवसायी संघ पर्साले जनाएको छ ।

-वैदेशिक रोजगारीबाट फर्केर गाउँमै अर्गानिक खेती भन्ने शिर्षकमा तिवारी यादवको समाचार छापिएको छ। वैदेशिक रोगजारीबाट सिकेको अनुभव र कमाएको पैसाले स्थानीय युवाले गाउँमै अर्गानिक खेती थालेका छन् । मलेसिया, कुवेत र दुबईबाट कृषि अनुभव लिई फर्केका युवाले गाउँमै रोजगारी सिर्जना गर्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङमा ०७५ बाट मझुवा कालिका कृषि फार्म सञ्चालन गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार