काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
आजको नागरिकमा कृषि, उद्योग तथा पूर्वाधार प्राथमिकतामा भन्ने शिर्षकमा समाचार छापिएको छ। प्रदेश सरकारहरुले आर्थिक वर्ष २०७६र७७ को लागि २ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। आइतबार सातवटै प्रदेशले आआफ्ना प्रदेशसभाहरुको बैठकमा बजेट प्रस्तुत गरेका हुन्। कुल बजेट चालू आर्थिक वर्षको तुलनामा ५५ अर्ब ३४ करोडले बढी हो।
कृषि बिमा प्रभावकारी कार्यान्वयन माग भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। जिल्लाको दक्षिणी क्षेत्रम उत्पादन हुने तरकारीमध्ये २९ प्रतिशतभन्दा बढी तरकारी काठमाडौंको कालीमाटी निर्यात गरिन्छ। काठमाडौं, पोखरा, नारायणघाटलगायत बजारलाई लक्षित तरकारी उत्पादन गर्दै आइरहेका धादिङका अधिकांश किसान कृषि बिमाबारे अनविज्ञ छन्। तरकारीको पकेट क्षेत्रका रुपमा मानिने धादिङका किसान तरकारी त उत्पादन गर्छन् तर विभिन्न कारणले क्षति भए कहाँ गएर कसरी बिमा गर्ने भन्नेबारे जानकार छैनन्।
अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टमा विकास निर्माणमा जुटे महिला भन्ने शिर्षकमा सीताराम गुरागाईंको समाचार छापिएको छ। ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गगोलामा विकास निर्माण गर्न महिला सक्रिय भएका छन्। यस स्थानका २३ महिला चीनसँगको सिमावर्ती थाङ्जेमा ढुंगा फुटाउने, ओसार्ने, सोलिङ गर्नेजस्ता काममा व्यस्त छन्। उनीहरू स्थानीय तहले समयमै सक्नुपर्ने विकास निर्माणलाई पूर्णता दिन यसरी जुटेका हुन्।
राजधानी
आजको राजधानीमा तराईमा प्रचण्ड गर्मीः अस्पताल खचाखच, सडक र विद्यालय सुनसान भन्ने शिर्षकमा एम के माझीको समाचार छपिएको छ। केही दिनयता टन्टलापुर घामसगैँ बढेको अत्याधिक गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम राजविराजमा केही दिनयता तापक्रम ४० देखि ४३ डिग्री सम्मपुगेपछि जनजीवन अस्तव्यत बनेको हो । अत्यधिकगर्मी र प्रचण्ड घामका कारण घरबाट कमै निस्किने गरेका कारण बजार, कार्यालय र विद्यालय सबैमा चहलपहल घटेको छ । बजार सुनसान हुने गरेपनि गर्मीका कारण अस्पताल र प्राइभेट किलनिकहरुमा भने बिरामीको चाप ह्वातै बढेको छ । केही दिनयता प्रचण्ड गर्मी र पानी नपर्दा घाउ खटीरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापाखालालगायत रोगका विरामीको चाप ह्वातै बढेको स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल आकास्मीक कक्षका सिनियर अहेब जयकृष्ण गुरमैताले बताए ।
गोरखापत्र
आजको गोरखापत्रमा छुपुछुपु रोपाइँः प्रविधि बन्यो सहयोगी भन्ने शिर्षकमा गोकर्ण दयालको समाचार छापिएको छ। बैतडीका पाटनमा रोपाइँ चटारो सुरु भएको छ । सिँचाइको सुविधा भएका पाटनमा असार सुरु नहुँदै महिला छुपुछुपु धान रोप्न थालेका छन् । त्यसमाथि यहाँका किसानलाई कृषियन्त्रले सहज बनाइदिन थालेको छ ।





