पत्रपत्रिकामा आजः करोडौंको खानेपानी अवरुद्ध, बजेट सकाउन सडक निर्माण कार्य तीव्र

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा शिवपुरीमा तीनतिर केबलकार भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेका छन् । गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरू समेत लागिपरेका हुन् ।

-त्रिशूली ३ ए र कुलेखानी तेस्रोको काम सुस्त भन्ने शिर्षकमा बलराम बानियाँको समाचार छापिएको छ। नेपाल विद्युत् प्राधिकरणका ‘क्रोनिक’ बनिरहेका कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ए आयोजनाबाट पछिल्लो घोषित मिति असार मसान्तमा समेत बिजुली उत्पादन सुरु हुन नसक्ने देखिएको छ ।

-धान रोप्ने बेला मल पाएनौं भन्ने शिर्षकमा समाचार छापिएको छ। बाली लगाउने बेलामै मल अभाव भएको छ । सिजनमा खेती लगाउने किसान मल खोज्दै भौंतारिएका छन् । प्रदेशसभा बैठकसम्मै मल अभावको मुद्दा जोडतोडका साथ उठे पनि त्यसको सुनुवाइको संकेत देखिँदैन ।

राजधानी
-आजको राजधानीमा बीउदेखि खाद्यान्नसम्ममा परनिर्भरता, वार्षिक अर्बबढीको बीउ आयात भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। कृषिप्रधान देश नेपालमा बर्सेनि कृषिजन्य खाद्यान्नदेखि बीउसम्म अर्बौं मूल्यबराबरको आयात भइरहेको छ । बीउ बीजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार पाँच वर्षको अवधिमा ११ अर्ब ४५ करोड रुपैयाँको बीउ आयात भएको छ । प्रत्येक पसलमा नयाँ जातको बीउ पाइन्छ, खुला सीमाका कारण साइकलदेखि ट्याक्टरमा समेत आयात गरेको पाइन्छ,’ केन्द्रका एक अधिकारीले भने, केन्द्रको तथ्यांकमा वर्षमा १ अर्बको बीउ आयात भएको पाइए पनि वर्षमा करिब ४ अर्ब मूल्यभन्दा बढीको बीउ आयात हुन्छ ।

-बजेट सकाउन सडक निर्माण कार्य तीव्र भन्ने शिर्षकमा रमेश तिमलसिनाको समाचार छापिएको छ। चालू आवमा बजेट सकाउन बजेट निर्माण कार्य तीव्र पारिएको छ । विकासका नाममा रौतहटका सडक निर्माण गर्ने ठेकेदारले जनताको आँखामा छारो हाल्ने काम गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा कालोपत्रे सडक निर्माण गरेको दुई साता बित्न नपाउँदै उक्किएर भत्किन थालेपछि स्थानीय जनता आक्रोसित भएका छन् ।

नागरिक
-आजको नागरिकमा आयोजना लम्बिँदा लागत दोब्बर बढी भन्ने शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ। सुरुङभित्रको चारतले ठूलो घरबराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गियर, भल्बजस्ता उपकरण जडान भइसकेका छन्। माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ पनि तयार भइसकेका छन्। मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन। तामाकोसी नदी थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विद्युत्गृहभित्र जोडेर तयार पारिएको छ। त्यही पाइप हुँदै विद्युत्गृह प्रवेश गर्ने पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्वाइन घुम्न तयारी अवस्थामा छन्।

-करोडौंको खानेपानी अवरुद्ध भन्ने शिर्षकमा गोविन्द केसीको समाचार छापिएको छ। मापदण्डविपरीत सडक खन्दा निर्माण सम्पन्न भएको ठाटीकाँध खानेपानी योजनाको मेन–लाइन क्षतिग्रस्त भएको छ। ठाटीकाँध गाउँपालिकाबाट विसल्ला जाने सडक अन्धाधुन्ध खन्दा उद्घाटन तयारीमा रहेको सो खानेपानी योजनाका पाइपहरू क्षतिग्रस्त भएका हुन्। जथाभावी पाइप काटिएपछि ठाटीकाँध गाउँमा अहिले खानेपानी अवरुद्ध भएको छ।

-दुर्गमका आवश्यकता रहरमै सीमित, पक्की सडक र पुल सपनामात्र  भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ। भीरपाखा र उकालोओरालो बाटो हुँदै उत्तरी धादिङका स्थानीय पुस्तौंदेखि सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। खाद्यान्न कि खच्चडको भरमा कि आफैंले बोकेर पु¥याउनुपर्छ। खोलामाथिका झोलुंगे पुल पनि जीर्ण भइसकेका छन्। पक्की सडक र पुल उनीहरूका लागि वर्षौंदेखि सपना बनेको छ। उत्तरी क्षेत्रका यिनै सपना पूरा गर्न ग्रामीण भेगमा सडक निर्माण र पुल निर्माणका कार्य थालिएको छ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा तीन दशकपछि जलाशययुक्त बिजुली भन्ने शिर्षकमा विकास थापाको समाचार छापिएको छ। विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण (१०६० मेगावाट) र दूधकोसी (६३५ मेगावाटं) आयोजना एकसाथ अघि बढाएको हो।

ताजा समाचार

सम्बन्धित समाचार