पत्रपत्रिकामा आजः धरहरा पुनर्निमाणको काम १५ प्रतिशत सकियो, प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा धरहरा पुनर्निमाणको काम १५ प्रतिशत सकियो भन्ने शिर्षकमा चिरञ्जीवी घिमिरेको समाचार छापिएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले धरहराको पुनर्निमाणको काम १५ प्रतिशत सकिएको दाबी गरेको छ। राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिमा भूकम्पपछिको पुनर्निमाण प्रगतिबारे जवाफ दिँदै प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली धरहरा निर्माणको भौतिक १५ र वित्तीय १४ प्रतिशत प्रगति भएको दाबी गरेका छन्।

-असारे विकास: विकास बजेटको आधा खर्च असारमै भन्ने शिर्षकमा पवन तिमिल्सिनाको समाचार छापिएको छ । दुई तिहाइ बहुमतको सरकारले पनि असारे विकासलाई निरन्तरता दिने भएको छ। चालु आर्थिक वर्ष पनि असारमै विकास लागि छुट्टयाइएको पुँजीगत बजेटकोे ठूलो हिस्सा खर्च हुने देखिएको छ।

-खलंगामा खानेपानी अभाव भन्ने शिर्षकमा राजेन्द्र कार्कीको समाचार छापिएको छ । निर्धारित समयमा खानेपानी आयोजना बन्न नसक्दा सदरमुकाम खलंगामा खानेपानी अभाव भएको छ। लुम्बिनी, केशव शाह जेभी नौंबस्ता बाँकेले लिएको सह–लगानी खानेपानी आयोजना निर्माण गर्न १२ करोड ३० लाख रुपैयाँमा सम्झौता गरेको लुम्बिनी, केशव शाह जेभी नौंबस्ता बाँकेले हालसम्म ६० प्रतिशत मात्र काम सम्पन्न गरेको संघीय खानेपानी आयोजना कार्यालय सुर्खेतका प्रमुख पूर्णबहादुर ज्वारचनले बताए।

-राजमार्गसँग जोडिँदै भन्सार भन्ने शिर्षकमा हरि शर्माको समाचार छापिएको छ । पश्चिम नवलपरासीको महेशपुरदेखि सुनवलसम्म सडक निर्माण हुने भएको छ। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, सडक विभागले सुनवल–परासी हुँदै महेशपुरसम्मको सडक ‘डेलिकेटेड फोरलेन’का रूपमा स्तरोन्नति प्रक्रिया अघि बढाएको छ।

-कृषि र शिक्षामा पहिलो प्राथमिकता भन्ने शिर्षकमा समाचार छापिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये क्षेत्रफलका हिसाबले सानो भए पनि हल्दिबारी गाउँपालिका अब्बल रूपमा निस्कियो। कर्मचारी र जनप्रतिनिधिको कामको लयले स्थानीय सरकार बनेको दुई वर्षमै नागरिकले महसुस गर्ने गरी काम भएको गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन बताउँछन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आयात गरेको हो । ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत जडान गर्न सकिने भए पनि गुणस्तर मापनका लागि प्रयोगशाला नहुँदा प्रविधि प्रयोगमा आउन सकेको छैन ।

-पानीजहाज चल्ने टुंगो छैन, कार्यालय उद्घाटनकै खर्च अझै भुक्तानी भएन भन्ने शिर्षकमा कृष्ण रिजालको समाचार छापिएको छ। गत २ फागुनमा प्रधानमन्त्री केपी ओलीले एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे । उद्घाटनको अवसर पारेर कार्यालय सिँगारियो, मञ्च पनि झकिझकाउ पारियो । कार्यक्रममा ३ जना मन्त्रीसमेत सहभागी थिए । दिवाभोजको आयोजना पनि गरियो । तर, यसरी तामझामका साथ उद्घाटन गरिएको पानीजहाज कार्यालयको उद्घाटन खर्च भने अझै भुक्तानी हुन सकेको छैन ।

-चैतेधानको उत्पादन ३० प्रतिशत बढ्यो भन्ने शिर्षकमा लक्ष्मी काफ्लेको समाचार छापिएको छ। गौरादह नगरपालिका–९ बैगुन्धुराका किसान गोपाल घिमिरे यतिवेला धान उठाउने चटारोमा छन् । चैतेधान उठाएर जतिसक्दो चाँडो हिउँदे धानका लागि खेत तयार पार्न यतिवेला उनीसँगै झापाका किसान व्यस्त छन् । विशेष गरी गौरीगन्ज, कमल, शिवशताक्षी र गौरादह नगरपालिकाका किसान चैतेधान काट्न व्यस्त छन् । मनग्य सिँचाइ सुविधा पुगेका यी गाउँपालिकाका ३५ सय बिघामा रोपेको धान असार नलाग्दै पाकिसक्यो ।

-४० मेगावाटको खानीखोला निर्माण असोजमा सकिने भन्ने शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ। मुलुककै सबैभन्दा उचाइमा निर्माणाधीन ४० मेगावाटको खानीखोला जलविद्युत् आयोजना आगामी असोजमा निर्माण सम्पन्न हुने भएको छ । समुद्री सतहबाट ३४ सय ५० मिटर उचाइमा रहेको आयोजनाको काम अहिले झन्डै ८० प्रतिशत सकिएको ग्रिनलाइफ हाइड्रोका निर्देशक केसाङ लामाले बताइन् । सन् ०१२ बाट सुरु भएको आयोजना दोलखाको गौरीशंकर–७ मार्बु कोप्लाङस्थित खानीखोला, हानपु र नाप्के खोलामा रहेको छ ।

कान्तिपुर
-आजको कान्तिपुरमा नागढुंगा–सिस्ने सुरुङमार्ग जापानी कम्पनीलाई भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ। नागढुंगा–सिस्ने खोला (नौबिसे नजिक) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनीले पाउने भएको छ । यो सुरुङमार्ग निर्माणका लागि छवटा कम्पनीले ठेक्का प्रक्रियामा सहभागिता जनाएका थिए । यसमध्ये जापानको हाज्मारएन्डो जेभीले निर्माणको जिम्मेवारी पाउने गरी छनोट भएको छ।

राजधानी
-आजको राजधानीमा दूधमा आत्मनिर्भर भन्ने शिर्षकमा राधेश्याम खतिवडाको समाचार छापिएको छ। चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा दूधमा आत्मनिर्भर बनेको घोषणा गरिएको हो । चितवनका वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकताभन्दा उत्पादन बढी देखिएकाले जिल्लालाई दूधमा आत्मनिर्भर भएको घोषणा गरिएको हो । दूधमा आत्मनिर्भर हुने चितवन दोस्रो जिल्ला बनेको छ । यसअघि काभ्रेले दूधमा आत्मनिर्भर भएको घोषणा गरेको थियो ।

गोरखापत्र
-आजको गोरखापत्रमा चार लाख निजी आवास पुनःनिर्माण भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएका झन्डै चार लाख निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जेठ २७ गते सम्ममा तीन लाख ९७ हजार १२७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार