काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा ८६ मेगावाटको सोलुखोला–दूधकोसीको २५५ निर्माण भन्ने शिर्षकमा समाचार छापिएको छ । निजी क्षेत्रकै ठूलो ८६ मेगावाटको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको निर्माण २५ प्रतिशत पूरा भएको छ । कम्पनीको पाँचौँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै आयोजना प्रवद्र्धक साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले निर्माण सुरु भएको करिब ८ महिनामा एकचौथाइ निर्माण पूरा भएको बताए । ‘जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण, रूख कटान, सुरुङ, आवासीय भवनहरू, प्रसारण लाइनको इआइए स्वीकृतिलगायतका कामको प्रगति राम्रो छ,’ उनले भने, ‘बिओक्यु बेस्ड मोडल’मा आयोजना निर्माण अघि बढाइएको छ ।’
-नेपाली रेललाई भारतीय बन्दरगाहसम्म पहुँच दिने सहमति भन्ने शिर्षकमा कृष्ण रिजालको समाचार छापिएको छ ।नेपाली रेललाई भारतीय बन्दरगाहसम्म पहुँच दिन भारतले सहमति जनाएको छ । नेपालले गरेको आग्रहअनुसार भारतले नेपालको रेललाई विरानटगर र वीरगन्जदेखि कोलकाता र हल्दिया बन्दरगाहसम्म पहुँच दिने भएको हो ।
-किसानलाई अनुदानमा पावर टिलर वितरण भन्ने शिर्षकमा समाचार छापिएको छ ।आँबुखैरेनी गाउँपालिका– ४ भोगेका कृषकलाई अनुदानमा पावर टिलर वितरण गरिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँचवटा समूहलाई अनुदानमा पावर टिलर वितरण गरेको हो । कृषि व्यवसाय गरी आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यले भोगेका कृषकलाई पावर टिलर प्रदान गरिएको मन्त्रालयका कृषि प्राविधिक दीपक बिकले बताए । उनका अनुसार ‘गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ८५ प्रतिशत र १५ प्रतिशत समूहको लगानीमा त्यहाँका स्थानीयलाई पावर टिलर वितरण गरिएको हो ।’
-दाना नलाग्ने उन्नत जातको मकैले डुबायो कृषकलाई भन्ने शिर्षकमा विवेक पोखरेलको समाचार छापिएको छ । भरतपुर चोकबजारका कृष्णप्रसाद तिमल्सिनाले गत वर्ष दुई बिघा जग्गा भाडामा लिएर मकै खेती गरेका थिए । दुई बिघामा लगाएको मकैबाट २ लाख १५ हजार रुपैयाँ आम्दानी भएपछि उनले यस वर्ष थप १६ कट्ठामा मकै लगाए । तर, अम्दानी बढाउने उद्देश्यले लगाएको उन्नत जात ९हाइब्रिड० मकैले उनलाई डुबाएको छ ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा त्रिपालसम्म पाएनन् पीडितले भन्ने शिर्षकमा समाचार छापिएको छ । धनगढी उपमहानगरपालिका–१ की राजकुमारी चौधरीको बास पाँच दिनयता खुला आकाशमुनि छ। टिनले छाएको दुईकोठे घरको छानो बिहीबारको हुरीले उडाएपछि दुई वर्षकी छोरीसहित उनको दैनिकी कष्टकर बनेको छ। ‘कसैले त्रिपालसमेत दिएको छैन। कोही चिउरा ल्याएर पनि आएको छैन’, उनले भनिन्, ‘घरभित्रका सबै अन्न पानीले भिजाएको छ। श्रीमान् पसलमा काम गर्ने भएकाले बजारबाट नयाँ अन्न किनेर खाइरहेका छौं।’ पाँच दिनदेखि बिजुली नआएको र सारीको छत बनाएर छोरी सुताउने गरेको उनले सुनाइन्। धनगढीमा दिनहुँ ४० डिग्रीभन्दा बढी तापक्रम पुग्छ।





