काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा यार्चा खोज्न ज्यानकै बाजी भन्ने शिर्षकमा विष्णुलाल बुढा, राजबहादुर शाही, हरि गौतम, वसन्तप्रताप सिंहको समाचार छापिएको छ । यतिबेला हिमाली जिल्ला डोल्पा, रुकुम पूर्व, बाजुरा, मुगु, दार्चुलाका बुकीपाटनमा महामेला छ । हजारौँ मान्छे महँगो जडीबुटी यार्चा खोज्न ज्यानकै बाजी लगाएर हिमालतिर उक्लेका छन् । प्रतिकिलोग्राम करिब २० लाखका दरले बिक्री हुने भएकाले जोखिम मोलेर यार्चा टिप्न बुकीपाटनतिर उक्लनेको तँछाडमछाड चलेको छ ।
-अर्गानिक कृषिलाई आधा दर्जन सुझाव भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ । कृषि प्रणाली व्यवस्थित गर्न बनेको कार्यदलले ‘प्रांगारिक कृषि परिषद्’ सहित आधा दर्जन सुझावसहितको प्रतिवेदन तयार पारेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको अध्यक्षता गठित कार्यदलले प्रविधि विकास, कृषि अनुसन्धान परिषद् (नार्क) मा छुट्टै रिसर्च डिभिजन, विश्वविद्यालयमा प्रांगारिक अध्ययनसहितको प्रतिवेदन तयार गरेको हो ।
-कृषि थोक बजार अस्तव्यस्त भन्ने शिर्षकमा अर्जुन राजवंशीको समाचार छापिएको छ । बिर्तामोड नगरपालिकाको कृषि थोक बजार अस्तव्यस्त छ । कृषि मन्त्रालय मातहत सञ्चालित बजारमा नियमन गर्ने निकाय पुग्नै सकेको छैन । ५ वर्षदेखि नेतृत्वविहीन यो बजार कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । ०५३ मा स्थापना भएको बजार करिब चार बिघा क्षेत्रफलमा फैलिएको छ ।
-उत्पादनलाई विषादीमुक्त बनाउन अभियान भन्ने शिर्षकमा समाचार छापिएको छ ।कृषि उत्पादनलाई विषादीमुक्त बनाउन गौशाला नगरपालिकाले नगर क्षेत्रका कृषकलाई व्यावसायिक प्रांगारिक तालिम दिन सुरु गरेको छ । १२ वडाका ३६ जना कृषकलाई तालिम दिन थालिएको हो । यो कार्यक्रम कृषि उत्पादनलाई विषादीमुक्त बनाउने अभियानअन्तर्गत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
राजधानी
-आजको राजधानीमा जताततै मलको हाहाकार, किसान सधैं मर्कामा भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । सरकारले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसक्दा बजारमा मलको हाहाकार मच्चिएको छ । बजारमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । मागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ । पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ । कृषिप्रधान देश नेपालमा धान लगाउने मुख्य समयमा नै रासायनिक मल नपाएपछि किसान नराम्ररी पिरोलिएका छन् । तर, सरकारले किसानको यो अवस्थाप्रति मूकदर्शक बन्नु र मल आपूर्तिलाई सहज बनाउनेतर्फ कुनै ठोस र प्रभावकारी प्रयाससमेत गर्न नसकेको पाइएको छ ।
-भूकम्प प्रभावित जिल्लामा नौ देशको डेढ अर्ब खर्च भन्ने शिर्षकमा निराजन पौडेलको समाचार छापिएको छ । भूकम्पबाट प्रभावित जिल्लामा विभिन्न नौ देशले यो वर्ष अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत डेढ अर्ब खर्च गर्ने भएको छ । अमेरिकासहित युरोपियन मुलुकले सो रकम भूकम्पपछिका आवास पुनर्निर्माण, विद्यालय, महिला तथा बालबालिकाका लागि खर्च गर्ने भएका हुन् ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा बाढीले बगाउँछ कि ! भन्ने शिर्षकमा समाचार छापिएको छ । बर्खायाम सुरु हुँदै गर्दा पूर्वी तराईमा बाढीको त्रास बढ्न थालेको छ। प्रदेश १ का सुनसरी, झापा, मोरङ र उदयपुरवासीमा बाढीले बगाउने हो कि भन्ने चिन्ता छाएको छ। कोसीमा पानी बढेको खबर आउनासाथ सुनसरी हरिपुरका कासीबद्री आलमको मुटुमा त्रासको ढ्यांग्रो बज्छ। ‘फेरि कोसी फुटेर आइहाल्छ कि भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन’, उनले भने।
-सुख खोज्दै किसान भन्ने शिर्षकमा दिल शिरीषको समाचार छापिएको छ । सुख खोज्दै भौतारिने जमात बाक्लो छ। कोही सुख र खुसी खोज्दै सहर पुग्छन्। कोही परदेश जन्छन्। यो समाजमा यस्तै सुख भेट्ने हतारो धेरैलाई छ। बागलुङको काठेखोला गाउँपालिका ६ बिहूँ पुगेर किसानलाई भेट्दा भने सुखको खोज्ने तरिका अलि फरक भेटियो।
-एकातिर बन्दै, अर्कोतिर भत्किँदै भन्ने शिर्षकमा राजकरण महतो/गोविन्द महतोको समाचार छापिएको छ । निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।
नागरिक
-आजको नागरिकमा छानोबिनाको घरमा हुरीपीडित भन्ने शिर्षकमा दिलबहादुर छत्याल/पुष्पराज जोशीको समाचार छापिएको छ । धनगढी उपमहानगरपालिका–१२ मुक्तकमैया बस्तीकी सविता चौधरी ३ वर्षीय छोरोसहित छानोबिनाको घरमा रात काटिरहेकी छिन्। गत बिहीबार बेलुकीको हावाहुरीले एक महिनाअघि मात्रै बनाएको उनको घरको छानो उडायो। छाना उडाएपछि उनी ३ दिनदेखि छानबिनाको घरमा रात काटिरहेकी छिन्।
-चौधवटा पुल निर्माण कहिले ? भन्ने शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।
गोरखापत्र
-आजको गोरखापत्रमा अर्को साता आउँछ नेपालमा मनसुन भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।





