पत्रपत्रिकामा आजः लेकमा थलिँदै यार्सायात्रु, होटलको फोहोर सिधै फेवामा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा लेकमा थलिँदै यार्सायात्रु भन्ने शिर्षकमा जगत खड्काको समाचार छापिएको छ । यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा टिप्न साइपाल गाउँपालिकामा पर्ने राइढुंगी लेक पुगेकी छिन्। उनी राईढुंगी लेक पुगेको दस दिन भयो। दोस्रोपटक आमा बन्न लागेकी उनलाई लेकमा पेट दुख्ने बिमार लागेको छ। उनी छिनछिनमा बेहोस हुन्छिन्। उनको पहिलो शिशु सात दिन नहुँदै खेर गएको थियो। लेक पुगेकी उनलाई आफ्नो भन्दा पनि गर्भको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ताले सताएको छ।

राजधानी
-आजको राजधानीमा विकास निर्माण तीव्र भन्ने शिर्षकमा समाचार छापिएको छ । सार मसान्त सम्ममा विकास निर्माणको कार्यले तीव्रता पाउने भएका छ । जेठको अन्तिम सातादेखि जिल्लाको ६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा यतिखेर जनप्रतिनिधि र कर्मचारी विकास निमार्णमा खटिरहेका छन् । विकास निमार्णमा बाणगंगा नगरपालिका दु्रत रूपमा अगाडि बढेको छ । विकास निमार्णका काम गर्नलाई बस्तीबस्तीमा भ्याइनभ्याई छ । कतै माटो पटान त कतै ग्राबेलका कामहरू धमाधम भइरहेका छन् । नगरभित्र रहेका वडाहरूको अधिकांश योजना अन्तिम चरणमा पुगेको छ । नगरभित्रका सबै वडाको करिब ९० प्रतिशत काम भएको छ भने नगरको ७० प्रतिशतभन्दा माथि काम भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलशीराम मरासिनीले बताए ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा जाममा सवारी प्रदूषण दोब्बर भन्ने शिर्षकमा काजी श्रेष्ठको समाचार छापिएको छ । गुडिरहेका बेलाभन्दा जाममा परेका सवारी साधनले दुई गुणा बढी प्रदूषण गर्छन्। यातायात क्षेत्रबाट बर्सेनि २० हजार ७२ टन टीएसपी (कण) र ६ हजार ९ सय ५३ टन पार्टिकुलेट म्याटर ९पीएम० १० प्रदूषक काठमाडौं उपत्यकाको हावामा प्रवेश हुने गरेको अध्ययनले देखाएको छ।

पानीको हाहाकार भन्ने शिर्षकमा समाचार छापिएको छ । नदी दोहन र सडक निर्माणका कारण मुलुकका विभिन्न ठाउँमा पानीका मुहान सुकेका छन्। यस्तै खडेरी र वनविनाश बढेसँगै प्राकृतिक ताल र मुहानबाट पानी आउन छाडेको छ। यसले गर्दा तराई क्षेत्रका किसान बढी मर्कामा परेका छन् भने पहाडी क्षेत्रमा खानीपानी लिनकै लागि घन्टौं हिँड्नुपरिरहेको छ।

कान्तिपुर
-आजको कान्तिपुरमा शिवपुरीमा सफारी भन्ने शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । शिवपुरी–नागार्जुन निकुञ्जभित्र जंगल सफारी (ड्राइभ) को आनन्द लिन सकिने भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जभित्र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी जंगल सफारीको स्वीकृति दिने नियमावली ल्याएको छ ।

-होटलको फोहोर सिधै फेवामा भन्ने शिर्षकमा दीपक परियारको समाचार छापिएको छ । दर्केर पानी पर्‍यो कि पोखराका सडकमा ठूलै भल बग्छ । त्यसको मौका छोप्न स्थानीय छतमा निस्कन्छन् र बोराका बोरा फोहोर मिल्काउँछन् । फोहोर बग्दैबग्दै तलतल पुग्छ । पोखराको जमिन केही भिरालो भएकाले कुनै सडकका भल सेतीमा मिसिन्छन्, कुनै फिर्के र बुलौंदी खोलामा ।

-‘कृषिसँग मर्जरको सम्भावना छैन’ भन्ने शिर्षकमा समाचार छापिएको छ । कृषि विकास बैंकसँग मर्जरको सम्भावना नरहेको नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताएका छन् । सरकारी स्वामित्वका दुई बैंक मर्जरको हल्ला चलाएर सेयर मूल्यमा उतारचढाव भइरहेको बेला अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् ।

-हावाहुरीले सय हेक्टरको केरा खेती नष्ट भन्ने शिर्षकमा भवानी भट्टको समाचार छापिएको छ । तीव्र गतिको हावाहुरीले कञ्चनपुरमा केरा खेती नष्ट गरेको छ । बिहीबार साँझको हुरीले करिब सय हेक्टरमा लगाएको केरा खेतीमा क्षति पुगेको हो । सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा नोक्सान भएको छ । उक्त क्षेत्रमा ९० प्रतिशत केराका बोट ढलेका छन् ।

नयाँ पत्रिका

-आजको नयाँ पत्रिकामा जडीबुटीमा आत्मनिर्भर बनाउन हर्बल फार्म भन्ने शिर्षकमा केशव गुरुङ्रको समाचार छापिएको छ। जडीबुटीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अर्गानिक हर्बल फार्म सञ्चालन गरिएको छ । गोरखा नगरपालिका– १४ गोर्बुङमा सञ्चालित उक्त फार्ममा ८० देखि ९० प्रजातिका जडीबुटी खेती गरिएको सञ्चालक वनस्पतिविज्ञ डा। खेमराज भट्टराईले जानकारी दिए ।

-पोखरा महानगरपालिकाले औद्योगिक क्षेत्र स्थापना गर्ने भन्ने शिर्षकमा रोहितराज पराजुलीको समाचार छापिएको छ । नगरवासीलाई उद्यमी बनाउने उद्देश्य राखेर पोखरा महानगरपालिकाले औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । महानगरले पोखरा- ३३ तल्लो पुडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी सुरु गरेको हो । औद्योगिक क्षेत्र स्थापना गर्न नगरकार्यपालिकाको ३०औँ पूर्ण बैठकले सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सात सदस्यीय एक कार्यदलसमेत गठन गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । नेपालीका अनुसार औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापनसँगै डिपिआर बनाउनेलगायतका काम गर्न पोखरा– ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार