पत्रपत्रिकामा आजः मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, भरतपुर विमानस्थलको धावनमार्ग मर्मत हुँदै

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति भन्ने शिर्षकमा तीर्थराज बस्नेत्रको समाचार छापिएको छ । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् ।

-धान रोप्ने वेला मल खरिद गर्दै सरकार भन्ने शिर्षकमा अजित अधिकारीको समाचार छापिएको छ । धान रोपाइ सुरु गर्न लागेका किसानले रासायनिक मल समयमै नपाउने भएका छन् । मल आपूर्ति गर्ने सरकारका दुई निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल युरिया र डिएपी खरिद प्रक्रिया अघि बढाएका छन्, तर गोदामसम्म मल आइपुगेको छैन ।

-निर्माण सकिएको साढे तीन वर्षमा पनि भैरहवा सेजमा विद्युत् सबस्टेसन बनेन भन्ने शिर्षकमा कृष्ण रिजालको समाचार छापिएको छ । भैरहवास्थित विशेष आर्थिक क्षेत्र ९सेज० निर्माण सम्पन्न भएको साढे तीन वर्ष बितिसकेको छ । तर, सेजभित्र स्थापना हुने उद्योगका लागि आवश्यक विद्युत् आपूर्ति गराउने सबस्टेसन भने अझै बनेको छैन । सेज प्राधिकरणले भैरहवा सेजमा विद्युत् सबस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत आह्वान गरेको छैन । जसले गर्दा सेजमा स्थापना हुने उद्योगले आवश्यकताअनुसार डेडिकेटेड विद्युत् पाउन नसक्ने अवस्था छ ।

गोरखापत्र
-आजको गोरखापत्रमा भरतपुर विमानस्थलको धावनमार्ग मर्मत हुँदै भन्ने शिर्षकमा शालिग्राम नेपालको समाचार छापिएको छ । भरतपुर विमानस्थलको धावनमार्ग १७ वर्षपछि मर्मत हुन लागेको छ । सन् २००२ मा कालोपत्रे गरिएको यस विमानस्थलको धावनमार्ग अहिले ओभर–ले (कालोपत्रेमा थप्ने कार्य) गर्ने काम सुरु भएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले भने, कालोपत्रे गरेको लामो समय भयो, भत्किएर टाल्ने काम भएको थियो अब पूरै ओभर–ले हुँदैछ ।

-किसानलाई कम्पोजिट बीउ वितरण भन्ने शिर्षकमा समाचार छापिएको छ । १० प्रकारका तरकारीका बीउ किसानहरुलाई निशुल्क रुपमा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाको कृषि शाखाद्धारा किसानहरुलाई तरकारी लगाउन जागरुक गर्न र आयआर्जनमा समेत वृद्धि गर्न तरकारीको बीउ वितरण गरिएको हो ।

कान्तिपुर
-आजको कान्तिपुरमा बाहिरी चक्रपथको जग्गाभित्र हाउजिङ भन्ने शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । बाहिरी चक्रपथ आयोजनाका लागि नक्सांकन गरिएको जग्गामा हाउजिङ बनिसकेको छ । कीर्तिपुर नगरपालिकाको वडा नं। ६ मा पर्ने उक्त आयोजनाको केही भागमा घर बनिसकेका छन् भने केहीमा बन्दै छन् ।

-बन्ने भो स्वयम्भूको कमलपोखरी भन्ने शिर्षकमा नुमा थाम्सुहाङको समाचार छापिएको छ । पाँच वर्षदेखि अघि बढ्न नसकेको स्वयम्भूको दक्षिणवर्ती फेदमा अवस्थित ऐतिहासिक महत्त्वको कमल पोखरी पुनर्निर्माणको कामलाई महानगरले अघि बढाउने भएको छ । पुनर्निर्माणका लागि महानगरले करिब २ करोड रुपैयाँ खर्च गर्ने भएको छ । पुनर्निर्माण गर्दा पोखरी कस्तो हुने भन्ने नक्सा बनाउने काम भइरहेको महानगरले जनाएको छ ।

-मल अभाव सधैंको समस्या भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ । धानबाली सिजनमा हरेक वर्ष मल अभाव हुँदै आएको छ । मल अभावबारे कृषिमन्त्री, कृषि सचिवलगायतका कर्मचारी भने अनविज्ञ छैनन् । धान मकैलगायतका बालीलाई चाहिने परिमाणदेखि आपूर्तिको अवस्थाबारे जानकार कृषि मन्त्रालयले अभाव हटाउन भने सकेको छैन ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा मल खोइ ? भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । रासायनिक मल अभाव भएपछि किसान मर्कामा परेका छन्। चर्को घाममा दिनभर लाम बस्दा पनि मल खरिद गर्न नपाएपछि विभिन्न जिल्लामा किसान आन्दोलित भएका छन्। पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो सातादेखि धान रोपाइँ सुरु हुन्छ। धानबालीका लागि तत्काल करिब एक लाख १० हजार टन युरिया र ६० हजार टन डीएपीको माग छ। सरकारले सबै प्रक्रिया पूरा गरेर मल भित्र्याए पनि युरिया ३० हजार र डीएपी २० हजार टन अपुग छ।

नागरिक
आजको नागरिकमा गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो हिउँ चितुवा भन्ने शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ । दोलखास्थित गौरीशंकर संरक्षण क्षेत्रभित्र लामाबगर लप्ची वरपरको जंगलमा हिउँ चितुवा रहेको फेला परेको छ। जिल्लाको विगु गाउँपालिका–१ लामाबगरको हिमाली गाउँ लप्चीनजिक जंगलमा गरिएको ट्र्यापिङबाट त्यस क्षेत्रमा हिउँ चितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्रका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयले बाँड्यो साढे ४२ करोड भन्ने शिर्षकमा विनोद सुवेदीको समाचार छापिएको छ । प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा साढे ४२ करोड रुपैया“ अनुदान वितरण गरेको छ। कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले किसान, कृषि सहकारी संस्था तथा व्यवसायीलाई ४२ करोड ५४ लाख रुपैया“ अनुदान वितरण गरेको मन्त्रालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार