पत्रपत्रिकामा आजः मलमा पनि बिचौलिया, सगरमाथा सफाइबाट चार शव र ११ हजार किलो फोहोर संकलन

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा मलमा पनि बिचौलिया भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ। कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् ।

-दिल्लीमा रेल सम्झौता पुनरावलोकन बैठक भन्ने शिर्षकमा सुरेशराज न्यौपानेको समाचार छापिएको छ। डेढ दशक पुरानो रेल सेवा सम्झौता (आरएस) पुनरावलोकनका लागि नेपाल–भारतका अधिकारीहरूबीचको बैठक बिहीबार भारतको राजधानीमा नयाँदिल्लीमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने बैठकमा करिब डेढ दर्जन विषयमा छलफल हुनेछ ।

-बूढीगण्डकी सुरु नभएकामा आपत्ति भन्ने शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजनाको प्रगति सोचे अनुरूपको हुन सकेको छैन । अहिलेसम्म मुआब्जा वितरण नै टुंगिन सकेको छैन । कतै मुआब्जासमेत निर्धारण हुन सकेको छैन ।

-विद्युतीय फोहोर व्यवस्थापनका लागि साझेदारी भन्ने शिर्षकमा सीमा तामाङको समाचार छापिएको छ । विद्युतीय सामानले गरेको प्रदूषण र त्यसले बढाएको फोहोरलाई रोक्न दुई व्यावसायिक कम्पनीबीच साझेदारी सुरु भएको छ ।विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा चौधरी ग्रुप तथा ब्लु वेस्ट टु भ्यालुबीच विद्युतीय फोहोर व्यवस्थापनका लागि सम्झौता भएको हो ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा नागढुंगा सुरुङको ठेक्का असारमा भन्ने शिर्षकमा निर्दोष घोरसाइनेको समाचार छापिएको छ । गढुंगामा सुरुङमार्गको ठेक्का असारमा लाग्ने भएको छ। सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनजंग थापाले नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का असारभित्रै लगाउने तयारी भइरहेको जानकारी दिए। सुरुङमार्ग निर्माण गर्ने निर्माण कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी सहभागी थिए। चीनका ५ र जापानको १ निर्माण कम्पनीले बोलपत्रमा प्रस्ताव बुझाएका थिए। महाशाखाले बोलपत्र आह्वान गरेको करिब १ वर्ष पनि ठेक्का लगाउन खोजेको हो।

-भेडीगोठबाट करोडौं आम्दानी भन्ने शिर्षकमा नवीनराज कुइँकेलको समाचार छापिएको छ । लमजुङको लेकमा रहेका भेडीगोठबाट किसान करोडौं आम्दानी लिन सफल भएका छन्। ठाउँठाउँ घुमाएर पालिने भेडीगोठबाट उत्पादन हुने ऊन र मासुबाट मात्रै वार्षिक १० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र लमजुङले जानकारी दिएको छ।

-बूढीगण्डकीबाट हट्यो गेजुवा भन्ने शिर्षकमा विकास थापाको समाचार छापिएको छ । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ। लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो।बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो। गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्वलाई प्रभावमा पारी बिनाप्रतिस्पर्धा आयोजना हात पार्न सफल भएको थियो।

नागरिक
-आजको नागरिकमा ७७ करोडको पशुजन्य उत्पादन बढ्यो भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । स्वदेशी उत्पादनले नथेगेर विदेशबाट वार्षिक करिब आठ अर्ब रुपैयाँका मासुलगायत पशुजन्य वस्तु आयात भइरहेको बेला यो वर्ष करिब साढे ७७ करोड रुपैयाँको पशुजन्य वस्तुको उत्पादन बढेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार दूध, अण्डा, माछा, मासुको उत्पादन बढेपछि यो वर्ष ७७ करोड ७४ लाख ६५ हजार रुपैयाँ मूल्यका पशु वस्तुको आयात प्रतिस्थापन भएको हो।

-सुनकोसी–मरिन राष्ट्रिय गौरवको आयोजना भन्ने शिर्षकमा रुद्र खड्काको समाचार छापिएको छ । सरकारले आगामी वर्षदेखि सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको रूपमा घोषणा गरेको हो। योसँगै राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएका आयोजनाको संख्या २२ पुगेको छ। जस्तो पाए त्यस्तो आयोजनलाई राष्ट्रिय गौरवमा नामकरण गर्दा समयमा काम हुन नसकेको गुनासो ब्याप्त रहेको बेला अर्थमन्त्री युवराज खतिवडाले सुनकोसी–मरिनलाई दुई अर्ब पाँच करोड रुपैयाँ विनियोजन गर्दै राष्ट्रिय गौरवको रूपमा घोषणा गरेका हुन्।

-धादिङका किसानले पाए मल भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ । बजारमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानले मल पाएका छन्। धानको बीउ छर्ने र फल दिने मुख्य सिजनमा मल नपाएपछि आन्दोलन गर्दै जिल्ला प्रशासन कार्यालय गुहार्न पुगेका किसानलाई नीलकण्ठ सहकारीले मल उपलब्ध गराएको हो। किसानले आन्दोलन गरेपछि प्रशासनले साल्ट टे«डिङ कर्पोरेसनलाई मल उपलब्ध गराउन माग गरेका थिए। किसानले प्रशासन गुहारेको तेस्रो दिनमै मल पाएका हुन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा मिचिएको जग्गा फिर्ता गर्दै महानगर:१ सय ४६ रोपनी अतिक्रमित जग्गा सार्वजनिक भन्ने शिर्षकमा शान्ति तामाङ्रको समाचार छापिएको छ । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा सरकारमातहत ल्याएको छ । वडाले सुकुमबासी बस्ती रहेको १६ रोपनी जग्गा पहिचान गरी उनीहरूलाई हटाउने काम पनि सुरु गर्न लागेको छ । यी जग्गा सरकारमातहत ल्याउन तयारी थालिएको वडाध्यक्ष दीपक केसीले बताए ।

-बेनी–जोमसोम–कोरला सडक निर्माण सुस्त भन्ने शिर्षकमा समाचार छापिएको छ ।दुई छिमेकी मुलक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजनाकालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सुस्त भएको छ । आवश्यक जनशक्ति र उपकरण नहुँदा म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने काममा ढिलाइ भएको हो ।ढिलाइका कारण पारवहन र अन्तरदेश व्यापारिक हिसाबले महत्वपूर्ण मानिने कोरला नाकाको प्रमुख आधार मानिएको सडक आयोजना निर्धारित समयभन्दा पछि धकेलिने निश्चित भएको छ ।

-सगरमाथा सफाइबाट चार शव र ११ हजार किलो फोहोर संकलन भन्ने शिर्षकमा दिवाकर पन्तको समाचार छापिएको छ । सगरमाथा सफाइको क्रममा चारवटा शव भेटिएको पर्यटन विभागले जानकारी दिएको छ । हिउँले नढाकिएको अवस्थामा फेला परेका बेवारिसे शवहरू टिचिङ अस्पतालमा प्रहरीको जिम्मामा राखिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । सगरमाथा क्षेत्रमा अझै कति शव रहेको भन्न नसकिने उनको भनाइ छ । उनले भने, ‘सगरमाथामा के कतिवटा शव छन् भन्न सक्ने अवस्था छैन, यसको तथ्यांक विभागसँग पनि छैन र कति शव हिउँले पुरिएका छन् भन्न सकिँदैन ।’

ताजा समाचार

सम्बन्धित समाचार