काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा मधेसमा डुबानको सदाबहार पिरलो भन्ने शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । चुरे पहाडबाट बगेर आउने भललाई दुईदशक अघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन बालुवा र गेग्रान बोक्छ, जसले तराई–मधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन ‘मद्दत’ गरिरहेको छ। मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा डेढ वर्ष पछि धकेलियो मेलम्ची भन्ने शिर्षकमा तीर्थराज बस्नेत्रको समाचार छापिएको छ । आगामी एक वर्षभित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य पूरा नहुने भएको हो । समितिले हेडबक्स निर्माणका १५ महिना र सुरुङ निर्माणका लागि १२ महिनाको समयसीमा तोकेको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी काम तत्कालै अघि बढाउने निर्णय गरेपछि समितिले टेन्डर आह्वान गरेको हो । सरकारले आर्थिक वर्ष ०७६र०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुरूप सरकारले सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
-त्रिभुवन विमानस्थलमा थपियो पार्किङ स्पेस भन्ने शिर्षकमा दिवाकर पन्त्रको समाचार छापिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वर्षपछि जहाज पार्किङको क्षमता बढाइएको छ । ९ वटा विमान पार्किङ गर्न मिल्ने देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाएर १२ वटासम्म जहाज पाकिङ गर्न मिल्ने बनाइएको छ । विमानस्थलको पूर्व–उत्तर दिशामा विस्तार गरिएको जहाज पार्किङ मंगलबारबाट सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । उक्त पार्किङस्थलमा दुईवटा ठूला थ्री थर्टी जहाज र एउटा एटिआर ७२ जहाज पार्किङ गर्न सकिन्छ । विस्तारित क्षेत्रमा न्यारो बडी जहाज अर्थात् थ्री ट्वान्टी भने तीनवटा र एउटा एटिआर ७२ जहाज पार्किङ गर्न सकिन्छ ।
गोरखापत्र
-आजको गोरखापत्रमा भमरा लोप हुँदै जाँदा बालीनालीमा सङ्कट भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ । खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ । सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा भमराकै बारेमा विशेष सम्मेलन नै चल्यो । भमराको अवस्था कहाँ के कस्तो छ भन्ने ठूलै बहस भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक दयाराम भुसालले बताउनुभयो । तर नेपालमा खासै अध्ययन नभएकाले केही तथ्य प्रस्तुत हुन सकेन ।
राजधानी
-आजको राजधानीमा पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्य पाँच मिटर मात्रै बाँकी भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । राष्ट्रिय गौरवको परियोजना नेपाल भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम पाँच मिटर मात्र बाँकी छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको ९ किलोमिटर पाइपलाइनमध्ये अब पाँच मिटर मात्र काम बाँकी रहेको हो ।
-सगरमाथा र ल्होत्से आरोहणमा नयाँ कीर्तिमान भन्ने शिर्षकमा समाचार छापिएको छ । हिमाल आरोही मिङ्मादोर्जी शेर्पाले सबैभन्दा कम समयमा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका आरोही शेर्पाले गत १३ जेठमा दिउँसो १२ बजेर ४४ मिनेटमा सगरमाथाको शिखर चुमेका थिए भने ल्होत्से (चौथो)को पनि सोही दिन बिहान ६ बजेर ४५ मिनेटमा सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन् ।





