काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा खोला जथाभाबी उत्खनन भन्ने शिर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ । गिट्टी, ढुंगा, बालुवा उत्खननको जिम्मा लगाएर अनुगमन नगर्दा खोलाको रूपै बिगारेर मनपरी गर्ने प्रवृत्ति बढेको छ । कालिका नगरपालिकाले उत्खननको अनुमति दिएको थाङखोला र बुङखोलामा सर्तविपरीतका काम रोक्ने प्रयास नभएको स्थानीय बताउँछन् ।
-बालीमा विषादी नहाल्ने शपथ भन्ने शिर्षकमा दीपक परियारको समाचार छापिएको छ । कास्कीको एक गाउँले विषादी प्रयोग गर्दैन । माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा रहेको भलाबोट सात वर्षयता विषादीमुक्त छ । गाउँका महिलाले खेती बालीमा विषादी नहाल्ने शपथै खाएका छन् ।
-१० वर्षपछि काली मार्सी भन्ने शिर्षकमा एलपी देवकोटाको समाचार छापिएको छ । धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय खेत बाँझै रहन्थ्यो ।
-राष्ट्रपति चुरे संरक्षण कार्यक्रमः खेर गयो लगानी भन्ने शिर्षकमा समाचार छापिएको छ । सन् १९५० दशकसम्म चुरे, दुन र भावर क्षेत्रमा औलोका कारण बस्ती सीमित थियो । औलो उन्मूलन र पूर्वपश्चिम राजमार्ग खुलेसँगै मानवीय क्रियाकलाप बढ्न थाल्यो । पत्रे चट्टानबाट बनेको सबैभन्दा कान्छो र कमलो चुरे क्षेत्रमा आवास र बजारका लागि दोहन सुरु भयो ।
-समेटिएन चिया क्षेत्र भन्ने शिर्षकमा अर्जुन राजवंशीको समाचार छापिएको छ । सरकारले बजेटमा चिया क्षेत्रलाई नसमेटेको भन्दै चिया उद्योगीहरू आक्रोशित बनेका छन् । उनीहरूले सरकारले आफैंले दिएको आश्वासन बिर्सिएर चिया क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए ।
नागरिक
-आजको नागरिकमा पुराना आयोजनालाई मात्रै बजेट भन्ने शिर्षकमा सन्तोष पोखरेलको समाचार छापिएको छ । सरकारले बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक त ग¥यो। तर, गण्डकी प्रदेशभित्र नयाँ र ठूला आकारका आयोजनाका लागि संघीय सरकारले बजेट नदिएको भन्दै यहाँ असन्तुष्टि बढेको छ। पूरानै र वहुवर्षे आयोजनालाई निरन्तरता दिनमात्र बजेट दिएको, नयाँ कार्यक्रम केही नभएको उनीहरुको गुनासो छ।





