काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा पग्लिएन पाटनको हिउँ भन्ने शिर्षकमा वसन्तप्रताप सिंह, हरि गौतमको समाचार छापिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सामल र बन्दोबस्तीका सामानसहित यार्चा संकलन गर्न लेक जानेहरूको लर्को लाग्न थालेको छ । यति बेला उकालो लागेका उनीहरू तीन महिनासम्म पाटनमै रहन्छन् । विगतमा वैशाख पहिलो साताबाट यार्चा टिप्ने गरिएकामा यस वर्ष संकलन क्षेत्रमा लामो समयसम्म हिउँ जमेकाले ढिलो भएको हो ।
-खेतमै सुक्यो उखु भन्ने शिर्षकमा नवीन पौडेलको समाचार छापिएको छ । वर्षदिन खेती गरेर बारीमा नै उखु सुकेपछि प्रतापपुर २ का भोलानाथ चौधरी अहिले चिन्तामा छन् । खेती गर्दा लाएको ऋण तिर्ने र घरखर्च कसरी चलाउने भन्ने पिरलोमा छन् ।
-धानको बीउमा कालोबजारी भन्ने शिर्षकमा भवानी भट्टको समाचार छापिएको छ । महेन्द्रनगर बजार क्षेत्रका एग्रोभेटहरूले धानको बीउमा कालोबजारी गरेको पाइएको छ । सरकारी अनुदानको बीउलाई प्याकेजिङ गरी बिक्री गरेको भेटिएको हो । भारतबाट अवैध रूपमा भित्र्याएको र खाने प्रयोजनको धानलाई समेत बीउको बोरामा राखेर बिक्री गरिएको छ ।
-कृषि औजार कारखानालाई ४ विकल्प भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ । ढ दशकदेखि पूर्ण रूपमा बन्द कृषि औजार कारखानालाई निकास दिन सरकारलाई चार विकल्प सुझाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा वीरगन्जमा रहेको उक्त कारखाना सञ्चालन गर्न सरकारले चलाउने, कम्पनी मोडलमा जाने, सार्वजनिक निजी साझेदारी अवधारणा र निजीकरण गरी चार विकल्प सुझाइएको हो ।
-कुलेखानी–३ असार मसान्तसम्म भन्ने शिर्षकमा समाचार छापिएको छ । कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण थालिएको छ । सिभिलसँगै मुख्य सुरुङ र पेनेस्टक पाइपको परीक्षण भइसकेको छ । दुई सातायता भने उपकरणहरूको परीक्षण भइरहेको हो ।
राजधानी
-आजको राजधानीमा जमिनमुनिको पानीबाट सिँचाइ भन्ने शिर्षकमा समाचार छापिएको छ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित बट्टारबजारमा जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्ने अवधारणा अघि बढेको छ । बट्टारको संगमचोकमा रहेको बाँझो जमिनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिँचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको हो । संगमचोक, हावाघर, बसपार्कलगायत खाली जग्गालाई खेतीयोग्य बनाउने उद्देश्यका साथ ८० लाख रुपैयाँको लागतमा बोरिङ सञ्चालनमा आएको हो ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा लहान बजार डेढ हप्तादेखि दुर्गन्धित, नगरपालिकाले उठाएन फोहोर भन्ने शिर्षकमा शम्भु यादवको समाचार छापिएको छ । सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले डेढ हप्तादेखि फोहोर नउठाउँदा बजारैभरि ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएका छन्। फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावतमा समस्या भइरहेको छ। दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको छैन। वडा नम्बर ४ र नगरपालिकाबीच फोहोर व्यवस्थापनको विषयमा भएको विवादका कारण सरसफाई कर्मचारीले फोहोर उठाउन छाडेका हुन्।
नागरिक
-आजको नागरीकमा आयोजनाका डिजाइन र स्वीकृतिमा खेलाँची भन्ने शिर्षकमा समाचार छापिएको छ । कुनै पनि आयोजनाको डिजाइनमा खेलाँची गरियो भने नतिजा कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो सिक्टा सिँचाइ आयोजना। आयोजनाको नहरको डिजाइन त्रुटिपूर्ण छ भन्ने थाहा पाएर पनि उच्च पदस्थ कर्मचारीले यसको निर्माण गर्ने स्वीकृति दिए। पानी परीक्षणकै क्रममा नहर भत्किँदा एकातिर राष्ट्रको अर्बौं रुपैयाँ गुम्ने अवस्थामा पुगेकोे छ भने अर्कोतिर दुई दर्जन कर्मचारी निलम्बनमा परेका छन्।
-करोडौं क्षति, न्यून राहत भन्ने शिर्षकमा सन्तोष पोखरेलरसुशीलबाबु थकालीको समाचार छापिएको छ । यो पटकको सिजनमा हिमाली जिल्ला मुस्ताङमा परेको बाक्लो र नियमित हिमपातले ४६ सय बढी पशु मरे। तीमध्ये अधिकांश भेडाच्यांग्रा, याक, चौरी, घोडा र गाइगोरु थिए। लामो समयसम्मको हिमपातले चरन क्षेत्र पुरिएर खान नपाउँदा ती पशु भोकभोकै मरेका थिए।
-बुधबारबाट तातोपानी नाका आंशिक सञ्चालनमा भन्ने शिर्षकमा ध्रुव दङ्गालको समाचार छापिएको छ । चीन जोड्ने उत्तरको मुख्य व्यापारिक तातोपानी नाका आगामी बुधबार (जेठ १५) बाट पुनः सञ्चालनमा आउने भएको छ। चार वर्षदेखि बन्द नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका छन्। व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याउन लागिएको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए।





