काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा अब सजिलै ढोरपाटन–फोक्सुन्डो भन्ने शिर्षकमा हरि गौतमको समाचार छापिएको छ । ढोरपाटन सिकार आरक्षबाट मैकोट हुँदै डोल्पाको फोक्सुन्डो पुग्ने पदयात्रीलाई खुसीको खबर छ । ढोरपाटन सिकार आरक्षबाट पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट हुँदै डोल्पा उक्लनेलाई लक्षित गरी ढोरपाटन–मैकोट–फोक्सुन्डो पदमार्ग निर्माण थालिएको छ ।
राजधानी
-आजको राजधानीमा कृषिमा २५ अर्ब बजेट प्रस्ताव, पुरानै कार्यक्रमलाई निरन्तरता भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २५ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रममा थप गरेर पुरानै कार्यक्रमलाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई करिब २२ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । कृषि क्षेत्रको विकासका लागि यस वर्ष ३ अर्ब रुपैयाँ बढाएर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको मन्त्रालयले जनाएको छ ।
-मेलम्ची टुक्र्याएर ठेक्का लगाइने भन्ने शिर्षकमा समाचार छापिएको छ । रकारले मेलम्ची खानेपानी आयोजनाका बाँकी काम टुक्र्याएर ठेक्का लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मेलम्चीको काम विशेष परिस्थितिअनुरूपको कानुनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको हो । आयोजना जिम्मा सञ्चालक समितिलाई दिइने निर्णय भएको छ । इटालियन कम्पनी भागेपछि मेलम्ची आयोजनाको काम रोकिएको थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को पछिल्लो बैठकले आयोजनाको काम अघि बढाउने निर्णय गरेकोे जानकारी दिए । यसरी काम गर्दा आर्थिक अनुशासन कायमै रहने उनले बताए ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा चार आरोहीको बाटैमा निधन भन्ने शिर्षकमा दिवाकर पन्तको समाचार छापिएको छ । चालू सिजनको बिहीबारसम्म ५ सय ५० जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यका अनुसार आरोही र तिनका सहयोगी शेर्पा, गाइड र सरदार गरी अहिलेसम्म ५ सय ५० जनाले सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागबाट अनुमति लिएका आरोही कतिले आरोहण परित्याग गरे भन्ने तथ्यांक भने संकलन भइरहेको उनले जानकारी दिइन् ।
-खण्डीकरणले घट्दैछ भक्तपुरको खेतीयोग्य जमिन भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ । भक्तपुरमा जमिनको खण्डीकरण बढेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ । जग्गा प्लटिङ गरी खरिद बिक्री र आवास निर्माण गर्ने क्रमले खेतीयोग्य जमिन मासिएको हो । खेतीयोग्य जमिनमा कंक्रिट ठड्याउने र आवास क्षेत्र बनाउने क्रम बढेकाप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये कसैले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएका छैनन् । भएको कृषिभूमिको उपयोग र व्यावसायिक कृषि प्रवर्द्धनका लागिसमेत स्थानीय सरकार केन्द्रित नभएको किसानको गुनासो छ ।
-भूकम्पबाट उठ्ने कालिञ्चोक शैली भन्ने शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । १२ वैशाख ०७२ को महाभूकम्पले दोलखाका ६९ हजार ६ सय ८ घर घरपरिवार विस्थापित बने । एक सय ६३ ले ज्यान गुमाए । विद्यालय भत्किए । सडक धस्सियो । पानीका मुहान सुके । सुक्खा पहिरोबाट बस्ती विस्थापित बने । पीडाबाट स्थानीय जसोतसो उठ्दै थिए । १७ दिनपछि ९२९ वैशाख० अर्को परकम्प गयो । यसपछि त दोलखा उठ्नै नसक्ने गरी बस्यो । परकम्पको केन्द्रबिन्दु कालिन्चोक–७ स्थित सुनखानी थियो । यसको सबैभन्दा धेरै प्रभाव यहाँका बस्तीमा पर्नु स्वाभाविक थियो । स्थानीय जति सक्दो चाँडो पीडाबाट मुक्ति चाहन्थे । तर, काम अघि बढिरहेको थिएन । ढिलासुस्तीकै बीच भूकम्प गएको दुई वर्ष बित्यो । स्थानीयको पीडा भने ज्युँकात्युँ ।
-३१ वर्षदेखि कागजमै सीमित १० हजार ८ सय मेगावाटको कर्णाली–चिसापानी भन्ने शिर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ ।१० हजार ८ सय मेगावाटको कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजना ३ दशकदेखि कागजमै सीमित छ । सोही आयोजना बनाउन भनेर सरकारले २ सय ५० युवालाई छात्रवृत्तिमा अध्ययन गर्न भारत पठाएको थियो । तर, ती युवा इन्जिनियर र प्राविधिक बनेर फर्किएर अन्य निकायमा जागिर खाएर अवकाश पाइसके । आयोजनाको काम भने हालसम्म पनि सुरु नै हुन सकेको छैन ।





