पत्रपत्रिकामा आजः यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी, नगरकोटमा १६४ रोपनी वन अतिक्रमण

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी भन्ने शिर्षकमा जगत खड्काको समाचार छापिएको छ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्। साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।

-ताप खोलाको पुल निर्माण सुरु भन्ने शिर्षकमा समाचार छापिएको छ । केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गको तापखोलामा मोटरेबल पुल निर्माण थालिएको छ। सो गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने हुर्लुङ–जालपा–बाक्सिला सडकखण्डअन्तर्गत ताप खोलामा गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँ लागतमा पुल निर्माण थालिएको हो।

-पार्क नबनेको विरोधमा उत्रिए जग्गाधनी भन्ने शिर्षकमा युवराज विवशको समाचार छापिएको छ । झापामा निर्माण हुने भनिएको चाइना–नेपाल फ्रेन्डसिप औद्योगिक पार्क नबनाउने षडयन्त्र सुरु भएको जग्गाधनीले दाबी गरेका छन्। मुआब्जा कम भएको भनेर विरोध गर्दै आएका जग्गाधनीले सरकारको औद्योगिक क्षेत्र बनाउने कुनै तयारी नदेखिएको बताएका हुन्। पहिलो चरणको मुआब्जा वितरण भइसकेको र अर्को चरणको अधिग्रहणका लागि सार्वजानिक सूचना जारी भएपछि औद्योगिक पार्क संघर्ष समितिले पत्रकार सम्मेलन गरेर पार्क बनाउने कुनै ठोस आधार नदेखिएको दाबी गरेको हो।

-धावनमार्ग निर्माण सम्पन्न भन्ने शिर्षकमा मोहम्मद हबिबको समाचार छापिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ। समय समयमा विविध कारणले अवरोध हुँदै आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा महत्वपूर्ण र मुख्य काम धावनमार्ग अन्ततः मंगलबार तीन किलोमिटर पिचिङ गर्दै सकिएको हो।

कान्तिपुर
-आजको कान्तिपुरमा मृगस्थलीमा निर्मित सडकविरुद्ध वृक्षरोपण भन्ने शिर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ । पशुपति मृगस्थली र ध्रुवस्थलीको बीचसडकमा बुधबार वृक्षरोपण गरिएको छ । युनेस्को र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गराएको छ । त्यही बन्द सडकमा अभियन्ताले बिरुवा रोपेका हुन् । कपुर, धुपी र सुन्तलाका सयवटा बिरुवा रोपिएका छन् ।

-सर्वोच्च शिखरमा एकै दिन २ सय भन्ने शिर्षकमा सुरज कुँवरको समाचार छापिएको छ ।सगरमाथामा बुधबार २ सयजना हाराहारी पर्वतारोहीले सफल आरोहण गरेका छन् । यो वसन्तकालीन सिजनका लागि बाटो खुला भएको एक सातामा एकै दिनमा अत्यधिक आरोहण भएको यो पहिलो पटक हो ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो भन्ने शिर्षकमा पूर्णप्रसाद न्यौपानेको समाचार छापिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ ।

-नगरकोटमा १६४ रोपनी वन अतिक्रमण भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ। पर्यटकीय स्थल नगरकोट क्षेत्रका सामुदायिक वन अतिक्रमणको सिकार भएका छन् । भक्तपुर, काभ्रे र काठमाडौंको सीमास्थित नगरकोटमा सामुदायिक वन फँडानी र अतिक्रमण गरी दुई सयभन्दा धेरै घर टहरा बनाइएका छन् । कुसुम, कालिका, ढुंगेपाखा र हिलेजलजले सामुदायिक तथा केही सरकारी वन क्षेत्र मिचिएको हो । वन मिचेर बनाइएको घरटहरामा रेस्टुरेन्ट, होटेल, खाजाघर, किराना पसल र चिया पसल खुलेका छन् । भूकम्पपछि वनको खाली जग्गा र पाखामा ५० वटाभन्दा बढी परिवार टहरो बनाई बसेका छन् ।

गोरखापत्र
-आजको गोरखापत्रमा उचाई मापनमा महत्वपूर्ण सफलता भन्ने शिर्षकमा सविता शर्माको समाचार छापिएको छ । नेपालीको गौरव मानिएको सगरमाथाको उचाई मापन महत्वपूर्ण काममा नेपाली प्रविधिकलाई सफलता मिलेको छ । इतिहासमा पहिलो पटक नेपाली टोलीले बुधबार बिहान ३ बजे सगरमाथाको टुप्पोमा पुगेर उचाइ मापनका लागि महत्वपूर्ण सूचना सङ्कलन गर्न सफल भएको हो । नापी विभागको प्राविधिक टोली सफलतापूर्वक काम सम्पन्न गरी चुचुरोबाट फर्किएका छ । अनुकूल मौसम नभएका कारण उक्त टोली सगरमाथाको साउथ कोलमा नै विश्राम गरिरहेको छ ।

-वातावरण संरक्षण गर्न विशेष अभियान शुरु गरिने भन्ने शिर्षकमा समाचार छापिएको छ । नेपालमा यसवर्षको विश्व वातावरण दिवस ‘स्वच्छ वायु स्वस्थ जीवन’ नाराका साथ मनाइने भएको छ । विश्व वातावरण दिवस जुन ५ देखि एकसातासम्म मनाइने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले बताए । बुधबार वातावरण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले नारालाई सार्थक तुल्याउन वातावरण संरक्षण गर्दै प्रदूषण न्यूनीकरण गर्न विशेष अभियान थालनी गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार