पत्रपत्रिकामा आजः गाउँ शून्य पारेर यार्सा टिप्न लेकतिर, कृषि अनुदानबारे किसान नै अनभिज्ञ

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा गाउँ शून्य पारेर यार्सा टिप्न लेकतिर भन्ने शिर्षकमा सम्राट सिंहको समाचार छापिएको छ । बझाङवासी गाउँघर नै शून्य पारेर यार्सागुम्बा टिप्न लेकतिर लागेका छन् । जिल्लाका अधिकांश गाउँका सबै यार्सा टिप्न लेक गएपछि गाउँघर सुनसान हुन थालेको छ । यार्साको कमाइले वर्षभरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता बझाङवासीलाई छ । साइपाल, सुर्मा, मष्टा, तल्कोट, छबिस पाथिभेरा र दुर्गाथली गाउँपालिकाका नागरिकको जीविकोपार्जनको मुख्य आयस्रोत नै यार्सा हो ।

गोरखापत्र

-आजको गोरखापत्रमा यार्सागुम्बा सङ्कलनको चटारो भन्ने शिर्षकमा बेलिना थापाको समाचार छापिएको छ। हिमाली जिल्ला मनाङका लेकमा धमाधम यार्सा सङ्कलन भइरहेको छ। बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न स्थानीय तथा बाहिरी जिल्लाका नागरिक मनाङका लेकमा पुगेका छन्।

-चियाको ‘ट्रेडमार्क’ कार्यान्वयन प्रक्रिया सुरु भन्ने शिर्षकमा कोकिला ढकालको समाचार छापिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आधिकारिक बिक्रीका लागि लोगो ‘टे«डमार्क’ को कार्यान्वयन प्रक्रिया सुरु भएको छ। नेपाल चिया तथा कफी विकास बोर्डले लोगो कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको बोर्डका प्रवक्ता दीपक खनालले बताए। बोर्डले ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ मा उल्लेख भएअनुसारका समिति निर्माण गरेर लोगो कार्यान्वयनका लागि काम अगाडि बढाएको प्रवक्ता खनालले जानकारी दिए।

कान्तिपुर
-आजको कान्तिपुरमा तरकारीमा ५ तह बिचौलिया भन्ने शिर्षकमा राजु चौधरीको समाचार छापिएको छ। सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा तरकारी महँगो हुने गरेको छ ।

-नारायणी किनारमा व्यक्तिको दाबी भन्ने शिर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ। नारायणगढस्थित नारायणी नदीको पुलबाट दक्षिण(पश्चिम किनारको जग्गा आफ्नो भएको दाबीसहित केही व्यक्तिले लालपुर्जा बनाउने प्रयास गरेका छन् । स्थानीय खडगबहादुर पन्तका परिवारले नदी किनारको ३ बिघा ९ कट्ठा साढे १६ धुर जग्गा दर्ता गर्न खोजेका हुन् ।

-सडकमै पार्किङ भन्ने शिर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ । कमलविनायकस्थित जिल्लाको उत्तरपूर्वी क्षेत्रमा चल्ने सार्वजनिक बस सडकमै पार्किङ गरेको छ । उत्तरपूर्वी बस व्यवसायी संघअन्तर्गत नगरकोट, काभ्रेको मण्डन देउपुर, तेलकोट, कलमसीलगायत स्थानमा चल्ने सार्वजनिक बस, भक्तपुर मिनीबस सेवा समितिअन्तर्गत बागेश्वरी, छालिङ चल्ने बसहरू सडकमै रोकिएका हुन्छन् ।

-कर्णाली करिडोरको निर्माण धमाधम भन्ने शिर्षकमा तुलाराम पाण्डे, छपाल लामाको समाचार छापिएको छ । कर्णाली करिडोर खुलालु–हुम्ला सल्लीसल्ला खण्डको एक सय किलोमिटर ट्र्याक खुलेको छ । सबैभन्दा अप्ठेरो कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किमि निर्माणको जिम्मा पाएको नेपाली सेनाले जितेबाट बाजुरा र हुम्लाको सिमाना कुवाडीखोलासम्मको ८३ किमिमा गाडी गुड्न सक्ने बनाएको छ ।

नागरिक
-आजको नागरिकमा कृषि अनुदानबारे किसान नै अनभिज्ञ भन्ने शिर्षकमा समाचार छापिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको बीउ छर्न व्यस्त छन्। आइएलसम्म पढेका रोकाया जिल्लाकै नमुना किसान हुन्। दुर्गममा बसेर व्यावसायिक खेती गर्दै आएका उनी प्रदेश सरकारद्वारा किसानका लागि वितरित करोडौं रकम अनुदान पाउनबाट वञ्चित भए। ‘सरकारले कृषि औजार, सिँचाइ, मल, बीउलगायतमा अनुदान दिन्छ भन्ने त सुनेको हुँ,’ उनी भन्छन्, ‘त्यसका लागि कहिले निवेदन माग्छ र कहाँ गएर निवेदन दिनुपर्छ भन्ने जानकारी नै भएन।’ आफ्नो पहुँच भएसम्मको सञ्चारमाध्यम सुन्ने, हेर्ने र पढ्ने भए पनि त्यसबारे थाहा नपाइनु आफ्नो दुर्भाग्य र राज्यको लापरबाही भएको उनी ठान्छन्।

-शक्तिको आडमा कालिञ्चोक ‘कब्जा’ भन्ने शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ । शक्तिको आडमा सुन्दर पर्यटकीय क्षेत्र कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जाले तीव्रता पाएको छ। जिल्लास्थित स्थानीय तह र सरकारी निकाय दुवै शक्तिशाली व्यक्तिहरूका अगाडि निरिह बन्दा कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जा गरेर अतिक्रमण गर्ने काम बढेको हो।

ताजा समाचार

सम्बन्धित समाचार