काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
-आजको कान्तिपुरमा सर्वोच्चमा लर्को भन्ने शिर्षकमा समाचार छापिएको छ । सगरमाथा आधारशिविर आइतबार सुनसान बनेको छ । अधिकांश आरोही राति नै सगरमाथातिर उक्लेपछि आधारशिविर सुनसान बनेको हो । काग कराएको र बेलाबेला हेलिकप्टर मात्र सुनिएको छ आज, आरोहण दल लिएर आधारशिविर पुगेकी पिक प्रमोसन प्रालिकी आधारशिविर प्रबन्धक दिकी शेर्पाले भनिन् ।
-६ आरोहीको मृत्यु, ३ बेपत्ता भन्ने शिर्षकमा सुरज कुँवरको समाचार छापिएको छ । चालु सिजनको हिमाल आरोहणका क्रममा हालसम्म सगरमाथा, ल्होत्से, मकालु र कञ्चनजंघामा ६ विदेशी आरोहीको मृत्यु भएको छ भने तीन विदेशी हराइरहेका छन् । पर्यटन विभागले यस सिजनमा आरोहण सुरु नहुँदै भएको मानवीय क्षति अघिल्ला वर्षका दाँजोमा बढेको जनाएको छ ।
-जसले हिमाल चढ्न छाडे भन्ने शिर्षकमा कुम्भराज राईको समाचार छापिएको छ । वर्षमा एकपटक मात्र सगरमाथा चढेको भए अहिले फुर्वाटासी शेर्पाले २७ पटक चढिसकेका हुन्थे । तर, उनले पाँच वर्षअघि आरोहणलाई त्यागे । त्यति बेलासम्म उनी २१ पटक चढिसकेका थिए । सगरमाथासँगै उनले मनास्लु, चोयु, ल्होत्से, सिसापाङमा, आमादब्लमजस्ता कैयौं हिमाल चढे । उनी अहिलेका कीर्तिमानी आरोही कामीरिताका समकालीन हुन् ।
-वाग्मती ब्युटिफिकेन आयोजनाःआरोपप्रत्यारोपमा मन्त्री–सांसद भन्ने शिर्षकमा समाचार छापिएको छ । वाग्मती ब्युटिफिकेसनका लागि स्थानीयलाई मुआब्जा दिने विषयमा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र काठमाडौं ३ का सांसद कृष्ण राईबीच विवाद देखिएको छ । मुआब्जा विवादकै कारण आयोजनाको काम दुई महिनादेखि अलपत्र छ ।
-कर्णालीका ताल साँघुरिए भन्ने शिर्षकमा समाचार छापिएको छ । रारा पुग्न जति सास्ती छ, त्यहाँ पुगेपछि देखिने दृश्यले पर्यटकको मन उत्तिकै कुँडिन्छ । ताल किनारमा जताततै फोहोरमैला छ । मुर्मा, पिना, झयारी, टोप्ला, ताल्चा, तलितुम, माथितुम, हेन्नीकाँधलगायत गाउँबाट दैनिकजसो आउने पशुचौपायाले ताल क्षेत्रमा फोहोर गर्नुका साथै किनारका विभिन्न थरी बिरुवा र फूलहरू नाश गरिरहेका छन् ।
-‘प्रदूषण कम गर्न सम्भव छ’ भन्ने शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । कुनै पनि खेल महोत्सव खाली प्रतिस्पर्धामै मात्र केन्द्रित हुने गर्दैन । यसको सामाजिक प्रभाव उत्तिकै हुन्छ । विशेषतः कुनै पनि म्याराथन दौडले केही न केही सन्देश दिन खोजिरहेकै हुन्छ । फेरि लामो दूरीको दौडको माध्यमबाट समाजलाई छुने खाले सन्देश दिन सजिलो हुन्छ ।यसपल्टको कान्तिपुर हाफ म्याराथनको नारा नै रहेको छ, ‘एन्टी पोलुसन रन’ । त्यसो भनेको काठमाडौं उपत्यकालाई प्रदूषणमुक्त सहर बनाउन जनचेतना बढाउने ।
अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा अन्यायमा पशुपतिनाथ भन्ने शिर्षकमा गोपीकृष्ण ढुंगाना र सुरेन्द्र काफ्लेको समाचार छापिएको छ । पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, पशुपतिले १७ हजार रोपनीबाट भाडा उठाउँछ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।
-आकासियो गोलभेंडाको भाउ भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । गोलभेंडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोलभेंडाको मूल्यका विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो देखाएको हो। जनवरीदेखि अप्रिलसम्म गोलभेंडा आयात पनि बढेको छ।
-उपत्यकाबाट साना सवारी हटाइने भन्ने शिर्षकमा समाचार छापिएको छ । काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ। महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ। टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो।
नागरिक
-आजको नागरिकमा मानवबस्ती उच्च जोखिममा भन्ने शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ। सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा भइरहेको अवैध उत्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ। मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन्।
-मेची राजमार्ग अझै व्यक्तिको नाममा भन्ने शिर्षकमा समाचार छापिएको छ । तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लगत कट्टा नहुँदा त्यसमा परेको जग्गाको धनीपुर्जा अझै व्यक्तिको नाममा छ। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म राजमार्गमा परेको जग्गा अझै पनि सरकारको नाममा आएको छैन।
राजधानी
आजको राजधानीमा फास्ट ट्र्याकको निर्माण अवधि लम्बिने संकेत भन्ने शिर्षकमा महेश्वर गौतमको समाचार छापिएको छ । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माण अवधि लम्बिने संकेत देखिएको छ । नेपाली सेनाले २०७८ साउनसम्ममा सम्पन्न गर्ने गरी सो सडक निर्माणको जिम्मेवारी २७ साउन २०७४ मा पाएकोमा पछिल्लो समय सरकारबाट डीपीआर स्वीकृतिमा भएको ढिलाइका कारण निर्माण अवधि लम्बिने भएको हो । नेपाली सेनाले ५ चैतमा सरकारलाई बुझाएको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । मन्त्रिपरिषद्बाट डीपीआर स्वीकृत नहुँदा सेनाले चालू आर्थिक वर्षमा द्रुतमार्गका लागि पाएको रकममध्ये ९ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गरेको छ ।





