पत्रपत्रिकामा आजः विकराल प्रदूषण, प्रदूषणरहित सहर संघीय राजधानी!

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला भन्ने शिषकमा प्रकाश धौलाकोटीको समाचार छापिएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीमा नेपाली सेनाको ब्यारेकपरिसरमा रहेको ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन् । नेपाली सेना रानीपोखरी सर्वसाधारणका लागि खुला गर्न सहमत भएको हो । पोखरीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्तवलाई दर्शाउँदै नगरपालिकाले नेपाली सेनालाई सर्वसाधारणका लागि प्रवेश खुला गर्न अनुरोध गर्दै आएको थियो ।

अरुण तेस्रोको काम २० प्रतिशत सकियो भन्ने शिर्षकमा नविन गुरुङको समाचार छापिएको छ । नौ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको काम २० प्रतिशत सकिएको निर्माण कम्पनी सतलजले जनाएको छ । ११ किलोमिटर लामो भित्री सुरुङको काम अहिलेसम्म ५ सय ४ मिटर सम्पन्न भइसकेको छ । अहिले बाँधस्थल र पावरहाउस निर्माणस्थल दुवैतर्फ गरी ८ स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ । फ्याक्सिदामा ७० मिटर अग्लो बाँध बाँधेर अरुण नदीको पानी सुरुङबाट पावरहाउस लगिनेछ । मुख्य सुरुङ निर्माण गर्न बाँधस्थलमा मात्रै ४ सुरुङ मार्ग खनिनेछ ।

गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो भन्ने शिर्षकमा अजित अधिकारीको समाचार छापिएको छ । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

कान्तिपुर
आजको कान्तिपुरमा बस्ती खनी माटो भन्ने शिर्षकमा लीला श्रेष्ठ को समाचार छापिएको छ । नगरपालिकाले स्पष्ट कार्यविधि नै नबनाई इँटाभट्टालाई माटो ओसारपोसार अनुमति दिँदा अवैध रूपमा माटो, बालुवा उत्खनन् तथा चोरी निकासी बढेको छ । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ५० इँटाभट्टालाई व्यवसाय दर्ता तथा राजस्व प्रतिइँटा उद्योग ५ लाख रुपैयाँ लिएको छ ।

रंगीचंगी आधारशिविर भन्ने शिर्षकमा कुम्भराज राईको समाचार छापिएको छ। सगरमाथा आधारशिविरमा बिहीबार निकै चहलपहल देखिन्थ्यो । कोही आरोहण गरेर भर्खरै फर्किएका थिए । उनीहरूलाई स्वागत गर्नेहरूमा उल्लास थियो । कोही आराम गरिरहेका थिए । आरोहण टोलीका केही शेर्पाहरू दोस्रो शिविरतिर जान भारी कस्दै थिए ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टमा विकराल प्रदूषण भन्ने शिर्षकमा काजी श्रेष्ठको समाचार छापिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हावामा २.५ पीएम (पार्टिकुलेट म्याटर) १० भन्दा कम माइक्रोग्राम पर क्युबमिटर हुनुपर्छ। नेपालले आफ्नै मापदण्ड बनाएको छ– बढीमा ४०। तर काठमाडौंमा यो ५४.२६७ छ। राजधानी सहर सास फेर्नै नसक्ने प्रदूषित भइरहेको छ। सरकारले प्रदूषण नियन्त्रण गर्न पेट्रोलरडिजेलबाट प्रतिलिटर ५० पैसा उठाउँदै आएको १० वर्ष भयो। यसमा ५ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ। तर, यस प्रयोजनमा एक रुपैयाँ पनि खर्च भएको छैन।

नागरिक
आजको नागरिकमा अझै उठ्न सकेन हिमाली गाउँ लप्ची भन्ने शिर्षकमा रमेश खतिवडाको समाचार छापिएको छ । २०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको हो। सदरमुकाम चरिकोटदेखि ६७ किलोमिटरको दूरीमा रहेको लामाबगर गाउँबाट उता दुई दिनको पैदलयात्रापछि मात्र बिगु गाउँपालिका–१ स्थित लप्ची गाउँ पुगिन्छ। लामाबगरभन्दा उता लुम्नाङ र लप्ची गरस् दुईवटा मात्र बस्ती छन्। जाडो याममा लुम्नाङ झर्ने र गर्मी चढेपछि लप्ची उक्लिने भएकाले दुवै बस्तीका मानिसहरू उही नै हुन्।

किसानलाई मलको हाहाकार भन्ने शिर्षकमा सरिता श्रेष्ठको समाचार छापिएको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटकी सेतीमाया गुरुङ रासायनिक मल लिन दुई दिनदेखि सदरमुकाम धादिङबेसीमा छिन्। गाउँघरमा मलको हाहाकार भएपछि चर्को घाममा हातमा नाम्लो र बोरा बोकेर मंगलबार नै सदरमुकाम झरेको उनले बताइन्। ‘खेतमा हरेक वर्ष रासायनिक मल हाल्ने गरेकी थिएँ, यसपालि मल नै पाइएन,’ उनले दुखेसो पोख्दै भनिन्, ‘चैतमा रोपेको धान र मकैमा मल हाल्न ढिलाइ भइसक्यो।’

सहरकारीमार्फत कृषिमा आत्मनिर्भर भन्ने शिर्षकमा युवराज विवशको समाचार छापिएको छ । झापाका महिलाले सहकारीमार्फत आर्थिकोपार्जनसँगै ख्याति पनि कमाएका छन्। सहकारीकै नेतृत्व गरेपछि परिवार र समाजलाई समेत आत्मनिर्भर बनाउन सघाएको छ। झापाको शिवसतासी नगरपालिका–११ का एक सय ८४ महिला मौरीपालन गर्छन्।

राजधानी
आजको राजधानीमा उपत्यका चल्ने आधा गाडीको प्रदूषण फेल भन्ने शिर्षकमा महेश्वर गौतमको समाचार छापिएको छ । राजधानीका सडकमा चल्ने अधिकांश सवारीसाधन प्रदूषण चेकजाँचका क्रममा फेल भएका छन् । सरकारका विभिन्न सरोकारवाला निकायले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा ती गाडी प्रदूषण मापनमा फेल भएको पाइएको हो । गत २१ चैतबाट सुरु भएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र चेकजाँच कार्ययोजनाअन्तर्गत यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु र ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण मापन गर्दै आइरहेका छन् । उपत्यकाका आधाभन्दा बढी यातायातका साधन प्रदूषण मापनमा फेल भएपछि त्यसले सर्वसाधरणको स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या पारिरहेको चिकित्सकहरू बताउँछन् ।

प्रदूषणरहित सहर संघीय राजधानी! भन्ने शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । संघीय राजधानी उपत्यकालाई प्रदूषणरहित सहरका रूपमा विकास गर्न सरकारले विशेष कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको योजनालाई मूर्त रूप दिन सरोकारवाला निकायले विशेष अभियान सञ्चालन गरेका छन् । काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार