काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पेस्ट
-आजको अन्नपूर्ण पेस्टमा छोइनसक्नु हरियो तरकारी भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । बजारमा हरियो तरकारीको भाउ आकासिएको छ। गत वर्षको यसै अवधिको तुलनामा हरियो तरकारीको प्रतिकिलो थोक मूल्य ५० देखि ७० रुपैयाँ महँगिएको छ। खुद्राको भाउ झनै अनिन्त्रित बनेको छ। मागको तुलनामा तरकारीको आयात र उत्पादन कम भएका कारण भाउ आकासिएको हो।
-नेपालबाट समुद्रसम्म इन्टरनेट केबल जोडिँदै भन्ने शिर्षकमा समाचार छापिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुद्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ। नेपालको ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुद्रसम्म पुर्याउने भएको हो।
-१ सय ५० ले चढे सगरमाथा भन्ने शिर्षकमा समाचार छापिएको छ । आरोहण सुरु भएको तेस्रो दिनमै १ सय ५० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। बुधबारमात्रै एक सय जनाले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। यो वर्ष सन् २०१९ को वसन्त ऋतुमा हिमाल आरोहण केहीदिन अघि मात्र सुरु भएको हो।
नागरिक
-आजको नागरिकमा चट्याङबाट एउटै गोठका २८ भेडा सखाप भन्ने शिर्षकमा किसान संगीत नेपालीको समाचार छापिएको छ । निकै उचाइमा रहेको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडा लेकमा चट्याङ पर्दा घुम्तीगोठका २८ भेंडा मरेका छन्। शनिबार साँझ मलेयाडाँडास्थित गोठ नजिकै चट्याङ परेको र त्यसको असरले ति भेंडा मरेको पतिपुरे सामुदायिक भेंडापालन समूहका अध्यक्ष दुर्जङ गुरुङले बताए।
-इलाम र कन्याम बगान खुलाउन ‘आनाकानी’ भन्ने शिर्षकमा भीम चापागाईंको समाचार छापिएको छ । मिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द पूर्वका चिया उद्योग श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने प्रतिबद्धतापछि धमाधम चालू हुँदैछन्। तर, इलामका सरकारी २ बगानको विषयमा भने अझैसम्म व्यवस्थापन पक्ष श्रमिकको माग पूरा गर्न ‘आनकानी’ गरिरहेको छ।
-यसपालिको बर्खामा पनि खाँडोकै त्रास भन्ने शिर्षकमा जितेन्द्रकुमार झाको समाचार छापिएको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा झन्डै आठ वर्षयता थुनिएको खाँडो नदीको बहाव तत्काल यो वर्षअगाडि नखुल्ने पक्का भएको छ। सो नदीमा सर्भे गरिरहेको भारतीय पक्षले यसपालिको वर्षाअघि नदीको बहाव खुलाउन नसकिने बताएको हो। भारतको बिहार राज्य सरकारमातहत रहेको जल संसाधन विभागले एसडिओ विद्याशंकर बर्माको नेतृत्वमा बुधबारदेखि पुनः नदीमा सर्भे थालेको हो।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा सुनकोसी नदी दोहन तीव्र भन्ने शिर्षकमा दीपक भट्टको समाचार छापिएको छ । सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदी दोहन तीव्र रूपमा भइरहेको छ । नदी किनारामा आधा दर्जनभन्दा बढी अवैध क्रस उद्योग सञ्चालनमा छन् । क्रसर उद्योगमा दैनिक चाहिने बालुवा, गिट्टीका लागि जथाभावी रूपमा नदीको दोहन भइरहेको छ । अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योग बन्द गराउन सरकारी संयन्त्रले खासै चासो दिएका छैनन् । जसका कारण उनीहरूले मनपरी उत्खनन गरिरहेका छन् ।





