काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा हनुमन्ते पुलमा मेयरले चलाए डोजर भन्ने शिर्षकमा प्रकाश धौलाकोटीको सामाचार छापिएको छ । मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले हनुमन्ते नदीमा निर्माणाधीन पुलको आधार सडक मापदण्डविपरीत भएको भन्दै भत्काइदिएका छन् । मेयर श्रेष्ठले सडकभन्दा अग्लो पुलसम्म पुग्न बन्दै गरेको आधार सडक डोजर लगाएर भत्काएका हुन् । निर्माण कम्पनीले सडकभन्दा अग्लो पुलसम्म पुग्न साढे तीन मिटर लम्बाइ र फुटपाथसहित साढे दश मिटर चौडाइ रहेको आधार सडक ढलान गर्ने तयारी गरेको थियो । तर, मेयर श्रेष्ठले मापदण्डविपरीत भन्दै नगरपालिकाको डोजर प्रयोग गरी ढलान गर्न तयार पुलसँगै जोडिएको आधार सडक भत्काइदिएका हुन् । आधार सडक ढलानका लागि तयार भएका रड, ढुंगा र माटो नदीमा खसालिएको छ ।
राजधानी
-आजको राजधानीमा यो साता वर्षकै सबैभन्दा बढी डढेलो भन्ने शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । सरकारले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिरहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ हजारभन्दा बढीको संख्यामा डढेलो लागिरहेको छ । यो साता मुलुकभर डढेलोको प्रभाव बढी भएको पाइएको छ ।
-ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चार ब्रुमर भित्र्याउँदै काठमाडौं महानगर भन्ने शिर्षकमा समाचार छापिएको छ । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भित्र्याउने भएको छ । मनपाले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ ।
आर्थिक अभियान
-आजको आर्थिक अभियानमा चितवनमा गहुँ उत्पादन बढ्न सकेन भन्ने शिर्षकमा सूर्यप्रसाद अधिकारीको समाचार छापिएको छ । चितवनमा ३ वर्षदेखि गहुँको उत्पादन स्थिर रहेको छ । उन्नत जातको बीउ , प्रविधि भित्रिए पनि गहुँखेतीतर्फ कृषक आकर्षित नहुँदा उत्पन्न बढ्न नसकेको हो ।





