पत्रपत्रिकामा आजः कृषिमा परामर्श सेवाका नाममा ब्रह्मलुट, वन अतिक्रमणकारी गरे कडा कारबाही

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नागरिक
-आजको नागरिकमा कृषिमा परामर्श सेवाका नाममा ब्रह्मलुट भन्ने शिर्षकमा समाचार छापिएको छ । सरकारले कृषिजन्य वस्तुको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कृषि आयोजनालाई दिएको अर्बौं रुपैयाँ बजेट परामर्श सेवाका नाममा दुरुपयोग भएको देखिएको छ।कृषि क्षेत्रको अनुसन्धान गर्न, कृषकको आयस्तर बढाउन, उन्नत बीउविजन कार्यक्रम लागू गर्न, खाद्य सुरक्षा कार्यक्रम बनाउन, जलवायुलगायत धेरै आयोजनाका लागि सरकारले दिएको बजेट परामर्श सेवाका नाममा दुरुपयोग भएको हो।

-रसुवामा चिस्यान केन्द्र सञ्चालन भन्ने शिर्षकमा हिमनाथ देवकोटाको समाचार छापिएको छ । रसुवाको कालिका गाउँपालिका–५ जीवजीवेमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ। खाल्चेत तरकारी पकेट सञ्चालक समितिको स्वामित्वमा रहने गरी चिस्यान केन्द्र हस्तान्तरण गरिएको छ। नौकुण्ड गाउँपालिकाको १० लाख ९७ हजारको लागतमा नेपाल थोपा सिँचाई प्रालिले चिस्यान केन्द्र निर्माण गरेको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा तातोपानी नाका मालवाहक सवारीका लागि मात्र भन्ने शिर्षकमा चन्द्रशेखर अधिकारीको समाचार छापिएको छ । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ । नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२ को महाभूकम्पले ध्वस्त पारेको थियो । भूकम्पपछि उत्तरतर्फ सम्पर्क नै विच्छेद भएको छ ।

-वन अतिक्रमणकारी गरे कडा कारबाही भन्ने शिर्षकमा गोविन्द लुइँटेलको समाचार छापिएको छ । राष्ट्रिय वन क्षेत्रको जमिन व्यक्तिका नाममा दर्ता गरे कडा सजायको भागिदार हुनुपर्ने भएको छ। सरकारले शुक्रबार संसद्मा दर्ता गरेको वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिमाना र अवस्था हेरी दुवै सजायको व्यवस्था गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार