पत्रपत्रिकामा आजः घरैपिच्छे माछा पोखरी, आगोले दैनिक जल्छन् बस्ती

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कान्तिपुर
-आजको कान्तिपुरमा गिट्ठाका भरमा चिया मजदुर भन्ने शिर्षकमा अर्जुन राजवंशीको समाचार छापिएको छ । चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् ।

-हिलो र धूलोले आजित बौद्धवासीले रोके सडक भन्ने शिर्षकमा समाचार छापिएको छ । जोरपाटी नारायणटार सडक खण्ड कालोपत्रेको मागसहित प्रदर्शनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठिचार्ज गरेको छ । बिहीबार बिहानदेखि उक्त क्षेत्रका बासिन्दा, व्यवसायी र जनप्रतिनिधि विरोध गर्न उत्रिएपछि प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

-घरैपिच्छे माछा पोखरी भन्ने शिर्षकमा समाचार छापिएको छ । बढैयाताल गाउँपालिका ५ र त्यस आसपास क्षेत्रमा साढे २ सयभन्दा बढी माछा पोखरी छन् । झन्डै दुई सय स्थानीय बासिन्दाले व्यावसायिक माछापालन गरी आर्थिक अवस्था सुधारेका छन् । स्थानीय मीनराज पंगेनी, पुष्प भुसाल, सीताराम चौधरी, रामप्रकाश चौधरी र भक्तराम थारूलगायत किसानले माछाबाटै राम्रो आम्दानी लिइरहेका हुन् ।

अन्नपूर्ण पोष्ट
-आजको अन्नपूर्ण पोष्टमा आगोले दैनिक जल्छन् बस्ती भन्ने शिर्षकमा गोपाल शर्माको समाचार छापिएको छ । गर्मी सुरु भएसँगै दाङमा दैनिक आगलागीका घटना भएका छन्। दुर्गम पहाडी क्षेत्र, पानीको अभाव र वनक्षेत्र नजिकै रहेको बस्तीमा दैनिकजसो आगलागीका घटना भइरहेका छन्। वनमा लागेको डढेलो गाउँमा पस्दा पछिल्ला चार दिनमा दाङमा ३० घरमा आगलागी भएको छ। घोराही, शान्तिनगर र तुलसीपुरका बस्तीमा आगलागीका दैनिक घटना भइरहेका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा बुढीगण्डकीमा माफियाको चलखेल भन्ने शिर्षकमा पुष्प कोइरालाको समाचार छापिएको छ ।कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी ९सिजिजिसी०लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको योजना छ । यसका लागि कम्पनीका नेपाल एजेन्ट दीपक भट्ट र सुशील भट्ट राजनीतिक लबिङमा छन् । भट्ट दाजुभाइ ठूला ठेक्कामा विदेशी कम्पनीको एजेन्टका रूपमा काम गर्छन् ।

नागरिक
-आजको नागरिकमा तरकारी भाउ पोहोरभन्दा दोब्बर महँगो भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार