Tuesday, April 29, 2025

पत्रपत्रिकामा आजःखुलामञ्चमा अवैध सटर बनाउनेलाई कारबाही गर्न महानगरपालिकाको आलटाल, ऐतिहासिक पोखरी मासेर वृद्धाश्रम बनाइँदै

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा खुलामञ्चमा अवैध सटर बनाउनेलाई कारबाही गर्न महानगरपालिकाको आलटाल भन्ने शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । राजधानीको खुलामञ्चमा अवैध सटर बनाई व्यापारिक प्रयोजनमा लगाउने ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईका सञ्चालकविरुद्ध कारबाही गर्न काठमाडौं महानगरपालिकाले विलम्ब गरेको छ । खुलामञ्चस्थित अस्थायी बसपार्क र दुईमाजू गुठीको जग्गामा अवैध सटर बनाई व्यापारिक प्रयोजनमा लगाएको पाइएपछि महानगरपालिकाले १४ वैशाखमा डोजर लगाएर भत्काएको थियो । यसबाट साना व्यापारीको आठ करोडभन्दा बढी रकम डुबेको थियो ।

-संघीयतापछि बाँकेमा धमाधम ठूला उद्योग स्थापना भन्ने शिर्षकमा विश्वराज पछडङ्ग्याको समाचार छापिएको छ । राजनीतिक स्थिरता र ऊर्जा समस्या समाधान भएपछि बाँकेमा ठूला उद्योगीले उद्योग स्थापनामा चासो देखाएका छन् । जिल्लामा एकपछि अर्को ठूला उद्योग स्थापना हुँदा बाँके लगानीका लागि उपयुक्त क्षेत्र भएको सन्देश देशभर प्रवाह हुन थालेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

नागरिक
-आजको नागरिकमा सिमसार पुर्ने काम रोकिनुपर्छ भन्ने शिर्षकमा समाचार छापिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिरानमा रहेको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन्। ‘फेवातालको माटोले सिमसार क्षेत्र पुरिँदै’ भन्ने शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि सोमबार सिमसार क्षेत्र अवलोकन गर्न पुगेका मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्र बचाउनुको सट्टा पुर्न थालेकोप्रति दुःख व्यक्त गर्दै यो तत्काल रोकिनुपर्ने बताएका हुन्।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा चिया मजदुर आन्दोल, वार्ता गर्न आलटाल भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । सरकारले आन्दोलनरत मजदुर र चिया उद्योगीलाई वार्ताका लागि औपचारिकरूपमा पहल नगर्दा चिया क्षेत्र ठप्प भएको छ। मजदुर आन्दोलनका कारण लामो समयदेखि ठप्प रहेको चिया उद्योग हालसम्म सञ्चालन भएको छैन।

-घारमै मरे मौरी भन्ने शिर्षकमा भगीरथ अवस्थीको सामाचार छापिएको छ । अज्ञात रोगले मौरी मरेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, पोटाका मौरीपालक किसान सुदर्शन लेखक चिन्तामा छन्। व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका लेखकका केही दिनअघि २० घार मोरी मरेका हुन्। केही वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका उनी वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्थे।

कान्तिपुर
-आजको कान्तिपुरमा ऐतिहासिक पोखरी मासेर वृद्धाश्रम बनाइँदै भन्ने शिर्षकमा दामोदर न्यौपाने, प्रशान्त मालीको समाचार छापिएको छ । थेचोको ऐतिहासिक र सांस्कृतिक पिंन पोखरीमा वृद्धाश्रम बनाउने भन्दै सुरु गरिएको भवन निर्माण रोकिएको छैन । थेचोबासीको विरोध र समाचार माध्यमले पटकपटक उठाएपछि पुरातत्त्व विभागले आइतबार निर्माण रोक्न पत्राचार गरेको थियो । गोदावरी नगरपालिकाको नाममा पत्र पठाइएको थियो ।

-क्रेनको तार चुँडिएपछि माथिल्लो तामाकोसीको काम प्रभावित भन्ने शिर्षकमा समाचार छापिएको छ । पेनस्टक पाइप जडानको क्रममा क्रेनको तार चुँडिएपछि दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाको काम प्रभावित बनेको छ । तीन दिनअघि तार चुँडिएपछि काम प्रभावित बनेको आयोजनाका प्रबन्धक विज्ञान श्रेष्ठले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार