काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
-आजको नागरिकमा शिलान्यासको नौ वर्षमा पनि बनेन मैनावतिको पुल भन्ने शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । २०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।
अन्नपूर्ण पोस्ट्
-आजको अन्नपूर्ण पोस्ट्मा मितेरी पुल मुआब्जा विवाद टुंगियो भन्ने शिर्षकमा रविन भट्टराईको समाचार छापिएको छ । झापाको काँकडभिट्टास्थित मेचीनदीमा निर्मार्णाधीन नेपाल–भारत जोड्ने पुलको मुआब्जा विवाद टुंगिएको छ। नेपाल तर्फको भागमा मुआब्जा विवाद हुँदा एक वर्षदेखि काम रोकिएको थियो। नेपालतर्फको कामनै रोकिएको भन्दै राजनीतिक दल र मेचीनगर नगरपालिकाको पहलमा पुर्जा नभएकालाई पनि घर/टहराको मूल्यांकन गर्दै मुआब्जाको व्यवस्था गर्ने निर्णय भएसँगै मुआब्जा समस्या सुल्झिएको हो।
कान्तिपुर
-आजको कान्तिपुरमा ‘दुर्गन्ध रोक्न’ ढलान भन्ने शिर्षकमा शिल्पा कर्णको समाचार छापिएको छ । काठमाडौं महानगरपालिका वडा नं। २६ मा पर्छ सामाखुसी । ठमेल र नयाँ बसपार्कबीचको यो क्षेत्रमा सामाखुसी खोलो बग्छ तर पानीभन्दा बढी घरको फोहोर र ढल मिसिएको हुन्छ । यसमा ढल मिसाउनेमा वरपरकै बासिन्दा छन् । त्यही ढल मिसाएकाले गन्हाउने भएर खोलो छोप्न बाध्य भएको उनीहरूको भनाइ छ । वडाले सडक र ढल व्यवस्थापन नगरिदिँदा ढल मिसाउनुपरेको उनीहरू बताउँछन्
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा लामोसाँघु-जिरी सडक दैनिक चार घन्टा अवरुद्ध भन्ने शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ । लामोसाँघु–जिरी सडक विस्तारको पहिलो खण्डमा कालोपत्रे सुरु भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडे बजारसम्मको सडकमा आइतबारदेखि कालोपत्रे सुरु भएको हो । कालोपत्रे सुरु भएसँगै खाडीचौर–चरिकोट सडकखण्ड आइतबारदेखि दैनिक चार घन्टा बन्द हुने भएको छ । काम प्रभावित नहोस् भनेर सडक विस्तार आयोजनाले दैनिक पाँच घन्टा सडक आवागमन बन्द गराएको सडक विस्तार आयोजनाप्रमुख धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
राजधानी
-आजको राजधानीमा पानीको मुहानमै क्रसर भन्ने शिर्षकमा राधेश्याम खतिवडाको समाचार छापिएको छ । खानेपानीको मुहानमै क्रसर उद्योग बनाउने क्रममा पानी सुकेकाले गाँउमा पानीको हाहाकार भएको छ । प्राकृतिक रूपमा सिर्जित पानीको मुहान मासेर बोरिङबाट पानी निकाल्नु दीर्घकालीन र वैज्ञानिक नहुने भन्दै धेरैले विरोध गरेका छन् । १५ वर्ष अघिदेखि निरन्तर पिउँदै आएको पानीको मुहान नजिकै क्रसर उद्योग संचालन गर्न आवश्यक संरचना बनाउँदा पानीको मुहान नै सुकेपछि कालिका नगरपालिका जुटपानी क्षेत्रका स्थानीय आक्रोशित भएका छन् । यस क्षेत्रका सात सय घरधुरी र दुई विद्यालयका विद्यार्थीले पानी खाने धाराको मुहानको आडमा क्रसर उद्योग खोल्न जग खनेपछि पानी सुक्दा धारामा पानी आउन छाडेको छ ।