काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
अन्नपूर्ण पोस्ट्
-आजको अन्नपूर्ण पोस्ट्मा बर्खे बालीलाई छैन मल भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मल भित्र्याउन सरकारले पहल गरेको छैन।
-भक्तपुरको रानीपोखरी मौलिक शैलीमै भन्ने शिर्षकमा ईश्वरकाजी खाइजूको समाचार छापिएको छ । भक्तपुर नगरपालिकाले वडा नम्बर १ सल्लाघारीस्थित रानीपोखरीको मौलिक शैलीमै पुनर्निर्माण गर्ने भएको छ। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले प्राप्त पुराना प्रमाणको आधारमा पोखरी पुनर्निर्माण अघि बढाइएको जानकारी दिए। यो पोखरी सेनाअन्तर्गतको सैनिक आवासीय महाविद्यालय परिसरमा छ।
-मुहान बगेपछि खानेपानीको हाहाकार भन्ने शिर्षकमा समाचार छापिएको छ । सुनकोसी गाउँपालिका–६ भुल्केटारमा खहरेले मुहान बगाएपछि खानेपानीको हाहाकार भएको छ। वैशाख १२ गते परेको पानीसँगै आएको खहरेले विद्यालय र गाउँमा वितरण गरिएको पानीको मुहान बगाएपछि खानेपानीको हाहाकार भएको हो।
नागरिक
-आजको नागरिकमा ओखलढुंगा रुम्जाटार सडकको कालोपत्रेमा ६५ प्रतिशत भन्ने शिर्षकमा शेरबबहादुर जेरोको समाचार छापिएको छ । ओखलढुंगा रुम्जाटार सडकको कालोपत्रको काम गर्ने समय एक महिना पनि बाँकी छैन् । आयोजनाले म्याद यही जेठ १६ गते सकिने भएपनि मात्र ६५ प्रतिशतको काम सकिएको छ ।
-आगलागिबाट १४ लाखको क्षति भन्ने शिर्षकमा समाचार छापिएको छ । आगलागिमा घर जल्दा खोटाङमा १४ लाख रुपैयाँभन्दा बढीको क्षती भएको छ ।
-तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भन्ने शिर्षकमा समाचार छापिएको छ । २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
गोरखापत्र
-आजको गोरखापत्रमा तातोपानी नाकामा धमाधम काम भन्ने शिर्षकमा भउचप्रसाद यादवको समाचार छापिएको छ । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको छ । नेपाल र चीनको सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जनाएको छ ।
-सम्पदा पुनर्निर्माणले गति लिन सकेन भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ । गोरखा भूकम्प २०७२ ले भत्केका काठमाडौँ उपत्यका लगायत देशभरका २२४ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यस्तै, २२१ सम्पदा पुनर्निर्माण भइरहेको र पुनर्निर्माण हुन ३०८ बाँकी रहेका छन् । महाभूकम्पले काठमाडौँ उपत्यकामा भत्केका आधा दर्जनभन्दा बढी प्राचीन सम्पदाको पुनर्निर्माण कार्य भने बीचमै रोकिएका छन् ।
कान्तिपुर
-आजको कान्तिपुरमा खानेपानीकै जोहोमा जान्छ दिन भन्ने शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । एक गाग्री पानी थाप्न दिनभर लाइन बस्नुपर्ने पिरले इन्द्रावती गाउँपालिका( ८ ज्यामिरे मानेकी देवमाया तामाङ दिक्क छिन् । पानी भर्नको लागि बिहान चारै बजेदेखि बेलुकीसम्म समय मिलाएर आउनुपर्ने उनको आधा दैनिकी पानी भरेर बित्ने गर्छ ।
-धोबीखोला करिडोर : फोहोर थुपार्ने थलो भन्ने शिर्षकमा विद्या राईको समाचार छापिएको छ । नामनगरको देवीनगरमा सडक ढाक्ने गरी इँटा, गिटी, बालुवा, काठलगायत निर्माण सामग्री असरल्लै थुपारिएका छन् । छेवैपट्ट चटपटे, फलफूल र तरकारीका ठेला । नौ मिटर चौडाइको सडकमा आधा बढी भाग ठेला र निर्माण सामग्रीले ढाकेपछि धोबीखोला करिडोरको बिजुलीबजार बाटो भएर जाने तथा चाबहिल चक्रपथ भएर आउने सवारीसाधनको ट्राफिक जाम भैरहन्छ । मुख्य राजमार्गहरूमा जामको सास्तीले अवाक बनेर करिडोरको बाटो रोज्नेलाई यता पनि सहज छैन ।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा मध्यसहरमा टुकुचा खोला नै गायब भन्ने शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।
राजधानी
-आजको राजधानीमा बालुवाटार प्रकरण बिर्साउने गरी जानकी मन्दिर अतिक्रमण भन्ने शिर्षकमा केशवप्रसाद पण्डेको समाचार छापिएको छ । देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको छ । जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा अतिक्रमण गरेको पाइएको हो । तर, सरकारी निकायले लामो समयदेखि ती जग्गा मन्दिरको नाममा फिर्ता गराउन सकेको छैन । यो प्रकरणले बालुवाटारको सरकारी जग्गा अतिक्रमणलाई समेत माथ गरिदिएको छ ।
-गहुँको मूल्य निर्धारण भन्ने शिर्षकमा समाचार छापिएको छ । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले गहुँको मूल्य निर्धारण गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा भएको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले टीकापुर र धनगढी क्षेत्रका लागि फरकफरक मूल्य निर्धारण गरेको हो ।
-मापदण्डविपरीत भौतिक संरचना निर्माण भन्ने शिर्षकमा पार्वती पाण्डेको समाचार छापिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मापदण्डविपरीत भौतिक संरचना निर्माण भइरहेको छ । मापदण्डविपरीत संरचना बनिरहे पनि त्यसको नियमन गर्ने वाणगंगा नगरपालिकाले कडाइ गर्न सकिरहेको छैन । संरचना निर्माणको क्रममा मापदण्डको स्थानीयले अटेर गर्दै बेवास्ता गर्ने गरेको पाइएको छ । वाणगंगा नगरपालिकाभित्रका बजार क्षेत्रमा स्थानीयले सडक अतिक्रमण गरेर मापदण्डविपरीत घर तथा टहरा निर्माण गरिरहेका छन् ।





