Sunday, September 21, 2025

पत्रपत्रिकामा आजः भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध, एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो

काठमाडौं – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

कन्तिपुर
-आजको कन्तिपुरमा खप्तडमा दागैदग भन्ने शिर्षकमा वसन्तप्रताप सिंह समाचार छापिएको छ । वरपर हरियाली जंगल । बीचमा ठूला, फराकिला पाटन । पाटनभरि गहिरा खाल्डाखुल्डी । भत्किन लागेका ढिस्का र जताततै ठूलासाना पहिरो । खप्तडको रूप दिनप्रतिदिन बिग्रँदै छ । भूक्षयका कारण जता हेरे पनि ‘दागैदाग’ देखिन्छ ।

-असारदेखि पाइपलाइनबाटै तेल भन्ने शिर्षका पवन यादवको समाचार छापिएको छ । असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

-खोलाकै सफाइ भन्ने शिर्षकमा माया श्रेष्ठको समाचार छापिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबी खोला किनारका बस्तीलाई वर्षायाममा डुबानबाट जोगाउने प्रयास थालेको छ । त्यसका लागि खोलो फराकिलो बनाउन धमाधम माटो निकाल्ने काम सुरु भएको छ ।

नागरिक
-आजको नागरिकमा डुंगा र ट्युबको भरमा जीवन भन्ने शिर्षकमा दमन राईको समाचार छापिएको छ । अधिकतर नदीमा पितापुर्खाको पालादेखि सञ्चालनमा रहेका डुंगा झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीय अहिले पनि डुंगाकै भरमा सुनकोसी वारपार गरिरहेका छन्।

-भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध भन्ने शिर्षकमा लोकेन्द्र खनालको समाचार छापिएको छ । उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीद्वारा चर्को विरोध हुन थालेको छ। लामो समयदेखि विवाद हुँदै आएको सो आयोजनाको पानी भाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने मन्त्रालयस्तरीय निर्णय तत्काल सच्याउन रुकुमका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म लागिपरेका छन्। सो निर्णयलाई आफूहरूले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने स्थानीयको भनाइ छ। पानीको विवाद टुंगिएको दाबी गर्दै डाइभर्सन गर्न लागिएको खबर सार्वजनिक भएलगत्तै यहाँका जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत आपति जनाएका हुन्।

राजधानी
-आजको राजधानीमा प्रदेश ५ को कृषि मन्त्रालयद्वारा कार्यविधिबिनै टेन्डर, आफू निकटलाई ठेक्का पार्न चलखेल भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई अनुदानमा उपकरण दिने भन्दै कार्यविधिबिना नै टेन्डर (बोलपत्र) आह्वान गरी कानुनी प्रक्रिया उल्लंघन गरेको छ । कृषि यन्त्र उपकरण अनुदान कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले कार्यविधिबिना नै टेन्डर आह्वान गरी कानुनी प्रक्रिया मिचेको हो ।

-बालकुमारी–बल्खु चक्रपथ पैदलयात्री जोखिम मोलेरै बाटो काट्न बाध्य भन्ने शिर्षकमा नवीन लुइँटेलको समाचार छापिएको छ । ललितपुरको बालकुमारीदेखी बल्खुसम्मको चक्रपथमा पर्याप्त जेब्राक्रसिङ नहुँदा पैदलयात्रीले जहाँ पायो त्यहीँबाट जोखिम मोलेर बाटो काट्न बाध्य छन् । चक्रपथ निर्माणका क्रममा त्रुटिका कारण २ सय मिटरसम्म पनि जेब्राक्रसिङ नहुँदा पैदलयात्री झन्झट मानेर जुनसुकै स्थानबाट पनि बाटो काट्न बाध्य भएका हुन् ।

-फस्ट फलस् खेर जाँदा पनि मजदुरका माग सुनिएनन् भन्ने शिर्षकमा भगीरथ भण्डारीको समाचार छापिएको छ । चियाका लागि सबैभन्दा राम्रो पत्ती उत्पादन हुने समय अर्थात् हिउँद सकिएपछि सिजनकै पहिलोपटक उत्पादन हुने चियापत्ती (फस्ट फलस्) टिपेर प्रशोधन गर्ने बेलामा सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरले आन्दोलन गरेर चारसातादेखि सरकारी चिया बगानमा काम ठप्प पारेका भए पनि चिया बगान लिजमा लिएर व्यवस्थापन गरिरहेको त्रिवेणी संघाई ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन । दैनिक ज्यालादारीका रूपमा काम गरिरहेका मजदुरले काम नगरेको एक महिना हुनै लाग्दासम्म संघाईले समस्या समाधानमा चासो नदेखाउँदा मजदुर आक्रोशित बन्न थालेका छन् ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा एक साता नबित्दै कालोपत्रेमा घाँस उम्रियो भन्ने शिर्षकमा तेजराज भट्टको समाचार छापिएको छ । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले बनाएको सडकको दुवै किनारातिर कालोपत्रेमै घाँस उम्रिएको हो । कालोपत्रे सडकमा घाँस उम्रिएपछि त्यसको गुणस्तरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । आयोगको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयको टोलीले कालोपत्रे गरिएको सडकको निरीक्षण गर्नुका साथै धनगढी उपमहानगरपालिकाबाट सडकसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

नेपाल समाचारपत्र
-आजको नेपाल समाचारपत्रमा ०७२ सालमा बगाएको पुल पुनर्निर्माण भएन भन्ने शिर्षकमा लीला सुनुवारको समाचार छापिएको छ । ओखलढुंगाको रुमजाटार-रत्माटे सडक खण्डअन्र्तगत रहेको ठोट्ने खोलाको बगाएको पक्की पुल पुनर्निर्माण नहुँदा समस्या हुँदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार